काठमाडौँ । उपत्यकाको फोहोर व्यवस्थापन विषयमा बन्चरेडाँडा ल्यान्डफिल्ड साइट मंगलबार दिनभरि तनावग्रस्त बनेको छ । विभिन्न मागसहित स्थानीयले फोहोर बोकेका गाडी अवरोध गरे भने सरकारले प्रहरी प्रशासनको सहयोगमा बलजफ्ती फोहोर विसर्जन गर्ने कदम चाल्यो ।
स्थानीय र प्रहरीबीच दिनभर नै स्थिति तनावपूर्ण रह्यो । बाटोबाटोमा प्रहरी खटाएर फोहोर विसर्जन प्रयास गरिए पनि डाँडा, खेत, पाखामा बसेका स्थानीयले ढुंगा बोकेर अवरोध गरिरहे । प्रहरीले डाँडामा भेला भएर ढुंगा हान्ने स्थानीयलाई तितरबितर पार्दै फोहोर व्यवस्थापन गरेको छ ।
प्रहरीले बलजफ्ती फोहोर फाल्न खोज्दा झडपको स्थिति आएको हो । झडपक्रममा प्रहरीको अश्रुग्यास लागेर एक स्थानीयवासी घाइते भएका छन् । धुनिबेंसी–१ चिलाउनेका करिब २६ वर्षीय कमल तामाङ प्रहरीको अश्रुग्यासको सेल लागेर घाइते भएका हुन् ।
प्रहरीले प्रहार गरेको अश्रुग्यासको सेल आँखाको माथिल्लो भागमा लागेको छ । स्थानीयले भने अश्रुग्याँस नभएर प्रहरीले गोली चलाएको दाबी गरेका छन् । महानगरपालिकाका अनुसार मंगलबार १ सय ८६ गाडीले बन्चरेडाँडामा फोहोर विसर्जन गरेका छन् ।
नेपाली कांग्रेसका स्थानीय नेतासमेत रहेका सिसडोल–बन्चरे डाँडा संघर्ष समिति अध्यक्ष श्रीराम ढुंगाना आफूहरूले विरोध नगरेको बताउँछन् । सरकारलाई काम गर्न ‘तीन महिना समय दिने’ भनेर आन्दोलन फिर्ता लिइसकेकाले माग सम्बोधन नभए मात्र आन्दोलनमा उत्रने उनको भनाइ छ ।
यसअघि, धादिङ धुनिवेंशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केन्द्र अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादी अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै ‘बन्चरेडाँडामा फोहोर फाल्न नदिने’ घोषणा गरेका थिए । अहिले उनीहरूकै अगुवाइमा आन्दोलन भइरहेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।