काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । ७५३ मध्ये ७५१ तहको परिणाम सार्वजनिक भइसकेको छ । प्रदेश १ को उदयपुरको त्रियुगा नगरपालिकाको गणना जारी छ भने सुदूरपश्चिमको बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिकाको पुनः मतदान निश्चित भइसकेको छैन ।
स्थानीय निर्वाचनलाई लक्षित गरी तथ्याङ्क अद्यावधिक गर्न तथा सुरक्षालगायत अन्य व्यवस्थापकीय कार्यका लागि निर्वाचन आयोगबाट कार्यसम्पादन हुने गरी गठन गरिएको संयुक्त निर्वाचन सञ्चालन केन्द्रले आफ्नो गतिविधिसमेत स्थगित गरेको छ । तथ्याङ्क सङ्कलनको कार्य भने अब आयोगको सूचना केन्द्रले गर्नेछ ।
कांग्रेस ठूलो दल
निर्वाचन आयोगको मतपरिणाम बमोजिम स्थानीय तहमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भएको छ । नेपाली कांग्रेसले ३२८ स्थानीय तहमा प्रमुख-अध्यक्ष पद जितेको छ । यो २०७४ को निर्वाचनमा जितेभन्दा ६२ पद बढी हो । सत्तागठबन्धनले भने ५०३ स्थानीय तहको प्रमुख-अध्यक्ष पद जितेको छ । गठबन्धनका पाँच दलले करिब ६२ प्रतिशत स्थानीय तहका प्रमुख पद जितेका छन् । जसअनुसार नेकपा (माओवादी केन्द्र) ले १२१, जनता समाजवादी पार्टी नेपालले ३० तथा नेकपा (एकीकृत समाजवादी) ले २० स्थानीय तहको प्रमुख वा अध्यक्ष पद जितेका छन् । राष्ट्रिय जनमोर्चाले चार स्थानीय तहको प्रमुख-अध्यक्ष पद जितेको छ ।
माओवादी केन्द्रले २०७४ भन्दा १५ प्रमुख-अध्यक्ष पद थपेको छ भने तत्कालीन सङ्घीय समाजवादी फोरमले चार र राष्ट्रिय जनता पार्टी नेपालले नौ स्थानीय तह गुमाएका छन् । २०७४ को निर्वाचनबाट स्थानीय तहमा पहिलो दल बनेको नेकपा (एमाले) ले भने यसपटक २०५ प्रमुख-अध्यक्ष पद पाएको छ । उसले २०७४ भन्दा ८९ प्रमुख-अध्यक्ष पद गुमाएको हो । नेकपा (एमाले) विभाजनको असर स्थानीय तहको निर्वाचनमा स्पष्ट देखिएको छ । यद्यपि एमाले दोस्रो ठूलो दलको हैसियतमा रहनेछ ।
६२ प्रतिशत पदमा गठबन्धन
स्थानीय निर्वाचन २०७९ मा सत्ता गठबन्धनले करिब ६२ प्रतिशत पद जितेको छ । ३५ हजार २२१ पदका लागि निर्वाचन भएकोमा हालसम्म ३५ हजार ११५ पदको मतपरिणाम सार्वजनिक भइसकेको छ । सत्तागठबन्धनका पाँच दलले २१ हजार ५९२ पद जितेका छन् । १३ हजार ८५० पद जित्दै नेपाली कांग्रेस पदीय बाँडफाँटमा समेत पहिलो दल बनेको छ । यो समाचार आजको गाेरखापत्र दैनिकमा छ ।