काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ। विप्लवसँग असन्तुष्ट पक्षले तीन दिनसम्म गरेको भेलाले पार्टी नाम नै परिवर्तन गर्दै छुट्टै नवौं महाधिवेशन आयोजक समिति निर्माण गरेको छ।
चितवनमा भएको विशेष राष्ट्रिय भेलाले धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय नवौं महाधिवेशन आयोजक समितिको गठन गरेको केन्द्रीय सदस्य पूर्णबहादुर सिंहले जानकारी दिए। नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (बहुमत) राखिएको छ। भेलाले राजनीतिक दस्तावेज पारित गरेको छ। पार्टीले वैज्ञानिक समाजवादको रणनीतिक लक्ष्य राखेको छ भने समाजवादी क्रान्तिको कार्यदिशा तयार पारेको बास्तोलाले बताए। भेलाबाट स्वाधिन संयुक्त सरकार कार्यनीति पास गरेको उनको भनाइ छ।
दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य गर्दै वैज्ञानिक समाजवादको प्राप्तिका लागि स्वाधीन संयुक्त सरकारको आवश्यक रहेको पार्टी फुटाउने पक्षको तर्क छ। यो पार्टीले तत्कालीन रणनीति अख्तियार गरेको बास्तोलाले बताए। राजनीतिक स्थीरता, समाजिक रूपान्तरण तथा शान्ति र समृद्धिका लागि स्वाधिन संयुक्त सरकार तत्कालिन रणनीतिक प्रस्ताव पारिएको केन्द्रीय सदस्य सिंहले जानकारी दिए। यो समाचार आजको अन्नपूर्ण पाेष्ट दैनिकमा छ ।