चैतन्य एकेडेमी नयाँ बानेश्वर शंखमुलले विगत १० वर्षदेखि सुशासन र समृद्धिका क्षेत्रमा बहस चलाउँदै आएको छ। देशको समग्र विकास, रूपान्तरण एवं समृद्धि चैतन्यको प्राथमिकतामा रहन्छ। यस वर्ष पनि विभिन्न क्षेत्रका विज्ञको सहभागितामा आगामी असोज १२ र १३ मा ‘सुशासन, दिगो विकास तथा समृद्धि’ विषयक १०औं राष्ट्रिय सेमिनार आयोजना हुने भएको छ। काभ्रेपलाञ्चोकको धुलिखेलमा हुने सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीदेखि निजी क्षेत्रसम्मका सरोकारवालाहरूको सहभागिता रहने छ। कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकले आआफ्नो विषय विज्ञताको क्षेत्रका दृष्टिकोण व्यक्त गर्ने छन्। काभ्रेको धुलिखेलस्थित आगन्तुक रिसोर्टमा सञ्चालन हुने उक्त सम्मेलनमा अर्थव्यवस्था, राजनीतिज्ञ, शिक्षा र स्वास्थ्य, सांस्कृतिक र शासकीयलगायत विभिन्न क्षेत्रका विज्ञको सहभागिता रहने छ। प्रस्तुत छ, आज सोही सम्मेलनमा केन्द्रित रहेर चैतन्य ग्रुपका सिइओ गणेश जोशीसँग गरिएको संवाद:
चैतन्य एकेडेमीले आयोजना गर्ने सुशासन, दिगो विकास र समृद्धि विषयक सेमिनारका बारेमा प्रकाश पारिदिनुहोस् न?
एक दशक लामो समयदेखि देशको समृद्धि र रूपान्तरणलाई केन्द्र भागमा राखेर सम्बन्धित विषयका विषय विज्ञहरूबाट हामी बौद्धिक बहसको चिन्तन गर्छौ। आगामी दिनमा देशको विकास र समृद्धिको यात्रा कसरी अगाडि बढाउने भनेर मार्ग निर्देशनसहितको चिन्तन पनि गर्छौ। यो कार्यक्रमको तयारीमा हामी एकदम उत्साहित हुन्छौं। यसले निकै ठूलो ऊर्जा र प्रेरणा दिन्छ। किनकि यसका राष्ट्रिय आवश्यकताका एजेण्डा जोडिएका छन्। आम नेपालीको जनजीविकासँग जोडिएका विषयहरू हामीले उठान गर्छौ।
कार्यक्रम तयारी कस्तो भइरहेको छ र वर्षौदेखि कार्यक्रम आयोजना गर्नुको उद्देश्यबारे प्रस्ट पारिदिनुहोस् न?
यसको तयारी एकदम उत्साह र सक्रियताका साथ अगाडि बढिरहेको छ। नेपाललाई समृद्ध नेपालको रूपमा विश्व मानचित्रमा अगाडि बढाउने तीन करोड नेपालीको चाहनासँग यो कार्यक्रम जोडिएको छ। हामी प्राकृतिक रूपमा, पर्यावरणका रूपमा, सांस्कृतिक रूपमा, मानव सभ्यता र आदिकालीन सभ्यतामा समृद्ध छौं। त्यो समृद्धिमा विज्ञानलाई जोड्न आवश्यक छ। समृद्धिमा अहिलेको भौतिक विकासलाई जोड्नुपर्छ। प्रविधिलाई पनि सँगसँगै लैजानुपर्छ। त्यसैले प्राकृतिक समृद्धि सँगसँगै विकासको समृद्धि पनि भयो भने हामीसँग भएको विवेक र चेतनाको आदिकालीन सभ्यतासँग अहिलेको प्रविधि पनि जोडियो भने विश्व मानचित्रमा समृद्ध नेपालको रूपमा परिचय दिन सक्छौं। यो काठमाडौंमात्र नभएर नेपालका समग्र वस्तिसँग जोडिएको विषय हो। राजनीतिक रूपमा पनि केन्द्र भागमा राखेर यसको अत्यन्त चर्चा गरिन्छ। जनजीविकाका हिसाबले सडकदेखि सदनसम्म प्रत्येक मानिससँग यो अन्तर्निहित विषय हो। सेमिनारको प्रमुख उद्देश्य भनेको देशलाई समृद्धिको यात्रामा कसरी अगाडि बढाउन सकिन्छ स्वतन्त्रतापूर्वक बहस र चिन्तन गर्नु हो।
राज्य संयन्त्रले मुलुकको समृद्धिको यात्रामा नियमित काम गरिरहेको छ। तथापि निजी क्षेत्रबाट बौद्धिक व्यक्तिको हिसाबले, एउटा चिन्तकको हिसाबले, एउटा अभ्यास कर्ताका हिसाबले, अध्येयताका हिसाबले र त्यो विषयमा विज्ञता भएका व्यक्तिको दृष्टिकोणमा हामी समृद्धिको यात्रामा कहाँ पुगेका छौं? र आगामी दिनमा हामी आफ्नो बाटो कसरी तय गर्न सक्छौं भन्ने विषयमा चिन्तन गरिने विषय भएको हुनाले यसको मूल उद्देश्य भनेको देशको समृद्धिको यात्रामा सकारात्मक र सृजनशील योगदान दिने नै रहेको छ।
यस कार्यक्रमबाट तपाईंहरूको अपेक्षा के छ?
अहिले नेपाली सामाजिक वृत्तमा अत्यन्त निराशाजनक र नकारात्मक मनोविज्ञानले प्रशय पाएको छ। नेपाल बन्दैन, नेपाल समृद्ध हुन सक्दैन, नेपाल न हो यस्तै चल्छ, यहाँ अनियमितता हुन्छ, अन्याय हुन्छ, अत्याचार हुन्छ, भ्रष्टाचार हुन्छ, सुशासन साहित्यिक पाटोमात्र हो, यथार्थपरक रूपमा यो लागू हुन सक्दैन, समृद्धिको यात्रामा हामी कता हराइरहेका छौं भन्ने खालका थुप्रै चिन्ता व्याप्त छन्। विश्व मानचित्रको विकासको गतिशीलता यसरी तीव्रताका साथ अगाडि बढिरहेको छ। दश वर्षमा आर्थिक र भौतिक रूपमा फड्को मारेका थुप्रै मुलुक छन्। यस परिप्रेक्षमा सुशासनमा, समृद्धिमा र नेपाल सरकारले २०३० मा जुन दिगो विकास लक्ष्य हासिल गरिसक्ने भन्ने लक्ष्य लिएको छ त्यो यात्रामा कहाँ छौं भनेर चिन्तन गरिनु आशाको, सम्भावनाको, सकारात्मकताको र देशमा केही हुँदै छ भनेर सन्देश दिन यो चिन्तन गरिरहेका हौं। हामीले सम्मेलन गर्दैमा देशमा कायापलट हुन्छ भन्ने होइन। तर, समाजमा हुने नकारात्मक चिन्तनलाई चिरेर सकारात्मकता, सम्भावना र सिर्जनाको दिशा निर्देश गर्छ भन्ने हाम्रो विश्वास छ।
विकास र समृद्धि सरकारको एजेण्डामात्र होइन। मुलुकमा रहने प्रत्येक व्यक्ति समृद्धिको संवाहक बन्न सक्छ। हरेक निजी संस्था समृद्धिका संवाहक बन्न सक्छन्। हामी सबैका क्रियाकलापहरू यो देशको समृद्धिका लागि सार्थक हुनसक्छन्। त्यसैले एउटा व्यक्ति र त्यो व्यक्तिले पेसाको माध्यमबाट खेल्ने भूमिका तथा त्यो संस्थाले राष्ट्र निर्माणका लागि लिएको उद्देश्य र योजना हासिल गर्नका लागि खेल्ने भूमिका सबैको सिर्जनात्मक संयोजन भयो भने देश समृद्धिको यात्रामा अगाडि बढ्न सक्छ। त्यसैले हामी यो कार्यक्रमका माध्यमबाट समृद्धिका लागि एउटा व्यक्ति कति जिम्मेवार हुनसक्छ, एउटा संस्था कति जिम्मेवार हुनसक्छ र समग्र देशको एजेण्डालाई हामी कसरी अगाडि बढाउन सक्छौं भन्ने अपेक्षासहित काम गरिरहेका छौं। हामी सकारात्मक, सृजनशील, गतिशील र आशावादी बहस गर्न चाहन्छौं।
यस पटक कार्यक्रमको ढाँचा कस्तो रहने छ?
यो कार्यक्रममा सहभागी हुने मानिस व्यक्तिगत रूपमा आफ्नो जीवनमा कसरी समृद्धि ल्याउन लायक बन्छ, व्यक्तिगत रूपमा म कसरी क्षमतावान्, उत्पादनशील, सृजनशील हुनसक्छु र म भित्रको सम्भावना के हो भनेर आफूलाई चेतनशील बनाउने एउटा पाटो रहेको छ। व्यक्तिगतदेखि व्यावसायिकसम्म आफ्नो भूमिका खोजेर मानिस अगाडि बढिरहेको हुन्छ। कार्यक्रमको मुख्य थिन् सुशासन, दिगो विकास र समृद्धि रहेको छ। यो विषयमा क्रियाशील रहेका सार्थक विचार दिन सक्ने र सो क्षेत्रमा काम गरिरहनु भएका व्यक्तिहरू कार्यक्रमको विज्ञ रहनु हुने छ। आर्थिक रूपमा कसरी समृद्धिलाई सार्थक बनाउन सक्छौं, राजनीतिक रूपमा कसरी समृद्धिलाई सार्थक बनाउन सक्छौं। कस्तो राजनीति भयो भने भने सुशासन, दिगो विकास र समृद्धिलाई हासिल गर्ने आधार निर्माण हुन्छ, सामाजिक क्षेत्रमा हाम्रो सामाजिक सद्भाव, सुवेच्छा, मनोविज्ञान, चरित्र, हाम्रो व्यवहार, चिन्तन, जीवनशैली कस्तो भयो भने त्यस्ले सुशासन र दिगो विकासलाई हासिल गर्ने सुनिश्चित आधार निर्माण गर्छ? शिक्षा, स्वास्थ्य जस्ता मानव विकासका अन्य सूचकाङ्कहरू कुन तहमा कसरी अगाडी गए भने हाम्रो देशले सुशासन, दिगो विकास र समृद्धि हासिल गर्न सक्छ भन्ने विषयमा ज्ञान राख्ने विज्ञ व्यक्तिहरूलाई कार्यक्रममा आमन्त्रण गर्छौ। विभिन्न सरकारका जिम्मेवार व्यक्तिहरू, नेपाल सरकारका, स्थानीय सरकारका, निजी क्षेत्रका, शिक्षा क्षेत्रका, बैंङ्किङ तथा फाइनान्सियल क्षेत्रका सहभागी र त्यही क्षेत्रका विज्ञ व्यक्तिहरू कार्यक्रममा सहभागी हुनुहुन्छ। राज्य निर्माणमा सरकार र निजी क्षेत्र जोडिएर मुलुकको समृद्धिको यात्रामा हातेमालो गर्नुपर्छ। समृद्धिको यात्राको संवाहक हामी बन्नुपर्छ। देश कसैले बनाइदिँदैन, हामी आफैँले बनाउने हो। राजनीतिक नेतृत्वलाईमात्र गाली गर्ने र राज्यमा निराशा थप्ने काम गर्नु हुँदैन।
कार्यक्रममा सहभागिताको प्रक्रिया के छ?
सहभागीताका लागि रजिस्ट्रेसन प्रोसेस हुन्छ। आवासीय कार्यक्रम भएकाले केही शुल्क तिर्नुपर्ने हुन्छ। यो कार्यक्रममा सार्वजनिक प्रशासन र निजामती सेवाको नेतृत्वमा रहेका व्यक्ति अलि बढी सहभागी हुनुहुन्छ। त्यसका साथै निजी क्षेत्र, शैक्षिक संस्था, सामाजिक अध्येयताहरू, बैंकिङ क्षेत्रका विज्ञहरू कार्यक्रममा सहभागी हुनुहुन्छ। त्यहाँ सिकेका कुराहरू आफ्नो संस्थामा लागू गर्न सक्ने नेतृत्वदायी भूमिकामा रहेका मानिसहरूको कार्यक्रममा सहभागिता रहँदै आएको छ।
कार्यक्रमले राष्ट्र निर्माणमा कस्तो भूमिका खेल्ला?
राष्ट्रलाई गतिशील बनाउन, राष्ट्रले प्राथमिकतालाई सार्थक बनाउन हाम्रा प्राथमिक एजेण्डा छन्। हरेक नेपालीमा पहिला सकारात्मक सोचको निर्माण हुनुपर्छ। राष्ट्रप्रतिको दायित्व र राष्ट्रप्रतिको जिम्मेवारी बोध हुनुपर्यो। म देशको लागि मानव पुँजीको रूपमा कसरी सदुपयोग हुनसक्छु भन्ने सोच्नुपर्यो। कसरी मेरो भूमिका देश निर्माणका लागि सार्थक हुनसक्छ भन्ने विषयमा चिन्तन हुनुपर्छ। त्यसका लागि सरकारी कार्यक्रम पनि प्रेरणाका स्रोत हुन आवश्यक छ। आम मानिसमा यो देशमा बस्ने माहौल भएन, देशले हाम्रो भविष्य सुनिश्चित गर्ने आधार निर्माण गरेन, यो देशमा मेरा छोराछोरीको भविष्य सुनिश्चित छैन भन्ने परेको छ। १२ पास गरेको युवाले यो देशमा बसेर के गर्ने, यो देशको उच्च शिक्षा किन लिने, यो शिक्षा लिँदा विश्वमा मेरो स्थान कहाँ हुन्छ भनेर उ दुबिधामा छ। लाखौं रुपैयाँ खर्च गरेर हजारौं मानिस विदेशको यात्रा गरिरहनु भएको छ। के हामी अँध्यारोतर्फ त उन्मुख भइरहेका छैनौं भन्ने चिन्ता व्यक्त हुन थालेको छ। यो र यस्ता खाले कार्यक्रमले हामी अँध्यारो सुरुङ होइन, सुनौलो बिहानीतर्फ यात्रा गर्दै छौं भन्ने हो। हामी समृद्ध नेपाल निर्माणको यात्रामा अगाडि बढिरहेका छौं भनेर हामीले यो कार्यक्रमका माध्यमबाट सन्देश दिन खोजेका हौं। यो देशमा जन्मिनु भनेको देशले हामीलाई के दियो भन्ने भन्दा पनि हामीले देशलाई के दियो भन्ने कुरा अहम् हो। हामीले यो कार्यक्रम गरिरहँदा निकै सकारात्मक प्रतिक्रिया पाइरहेका छौं।