काठमाडौँ । उपत्यका चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्ड निर्माणमा चिनियाँ पक्षले बेवास्ता गरेको पाइएको छ ।चिनियाँ सरकारले अनुदान सहयोगमा विस्तार गर्ने कलंकीदेखि महाराजगन्ज खण्ड विस्तारमा कम प्राथमिकता दिइएको छ ।
पछिल्लो समय नेपाल पक्षले ‘साइट क्लिअर’का सबै काम सम्पन्न गरेर विस्तारका लागि तीन महिनाअघि नै चिनियाँ पक्षलाई पत्राचार गरेको थियो । तर, चिनियाँ पक्षले कोभिड बहाना बनाउने गरेको छ । चीनले कोरोना कम भएपछि मात्र चक्रपथ निर्माणका लागि प्राविधिक टोली नेपाल आउने जनाएको छ ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक चीन भ्रमण क्रममा पनि चक्रपथ विस्तार विषय उठान भएको थियो ।चीनको स्टेट काउन्सिलर र पराराष्ट्रबीचको भेटमा निर्माण कार्य यथाशीघ्र सुरु गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा उल्लेख छ ।
चक्रपथ आयोजना प्रमुख मेघराज मरासिनी ‘साइट क्लिअरका सबै काम सम्पन्न भइसकेकाले अब चिनियाँ टोली आएर काम थाल्न मात्र बाँकी रहेको’ बताउँछन् । ‘हामीले पछिल्लोपटक तीन महिनाअघि नै साइट क्लिअर सम्पन्न भएको पत्राचार गरिसकेका छौं,’ उनले भने, ‘उहाँहरूबाट कोभिड कम भएपछि मात्र आउने कुरो भएको छ ।’
आयोजना दोस्रो खण्ड विस्तार तयारी थालेको तीन वर्ष बित्दासमेत ‘साइट क्लिअर’बाहेकका काम अझै अघि बढ्न सकेको छैन । यो समाचार आजको राजधानी दैनिकमा छ ।