काठमाडौँ । अगस्ट महिनामा हवाई मार्ग हुँदै ४१ हजार ३०४ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार यो महिनामा १७२ देशबाट सो सङ्ख्यामा पर्यटक नेपाल आएका हुन् ।
नेपाल भित्रिने २४ हजार ९२४ जना पुरुष पर्यटक छन् भने १६ हजार ३७२ महिला पर्यटक रहेका छन् । बाँकी आठ जना पर्यटकलाई भने विभागले अन्य समूहमा राखेको छ । विभागका अनुसार अगस्टमा मात्रै ८० हजार ३५३ जना पर्यटकको आगमन भएको छ ।
अगस्टमा सबैभन्दा धेरै भारतबाट १६ हजार १४७ पर्यटक नेपाल आएका छन् । त्यसपछि संयुक्त राज्य अमेरिकाबाट चार हजार ६६ पर्यटक नेपाल भित्रिएका छन् । बेलायतबाट दुई हजार ८२६, बङ्गलादेशबाट एक हजार ७५१, चीनबाट एक हजार २८९ र अस्टेलियाबाट एक हजार २१० पर्यटक भित्रिएको विभागको तथ्याङ्क छ ।
अगस्टसहित सन् २०२२ को आठ महिनामा नेपाल भित्रिने पर्यटकको कुल सङ्ख्या भने तीन लाख नाघेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।