काठमाडौँ । सरकारले स्वदेशी वस्तु निर्यातलाई जोड दिँदै वैदेशिक व्यापार बढाएर मुलुकलाई आर्थिक रूपमा सम्पन्न बनाउने लक्ष्य लिए पनि चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमै व्यापार घटेको छ ।
चालू आव सुरुवाती महिना गत साउनमा निर्यात मात्र नभएर आयातसमेत घटेको छ । विगतका तीन वर्ष कोरोना विश्व महामारी बहाना बनाएर पन्छिँदै आएको सरकार वैदेशिक व्यापारमा नकारात्मक सूचकसहित चुकेको छ ।
भन्सार विभागले चालू आवको सुरुवाती महिना साउनमा गत वर्षको सोही अवधिको तुलनामा वैदेशिक व्यापार घटेको देखाएको छ । विभागका अनुसार गत साउनमा कुल १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख ६६ हजारबराबरको वैदेशिक व्यापार भएको छ । यो गत आवको साउनको तुलनामा १४ दशमलव ८१ प्रतिशतले कम हो ।
गत आर्थिक वर्ष २०७८/७९ मा कुल १ खर्ब ७१ अर्ब ४९ करोड ६८ लाख ३६ हजारबराबरको वैदेशिक व्यापार भएको थियो । निर्यातसँगै आयात पनि घटेकाले यो महिनामा व्यापार घाटा भने १ खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजारबराबरको भएको छ । यो गत साउनको तुलनामा १० दशमलव ३८ प्रतिशत कम हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।