काठमाडौँ । सवा सय वर्षदेखि समयको जानकारी दिँदै आएको रानीपोखरीको घण्टाघरका घडीका सुई अझै थाकेका छैनन् तर घडीका संरक्षणकर्ताले अब तिनलाई विश्राम दिने योजना बुन्दै छन्। त्रि–चन्द्र क्याम्पसको सबैभन्दा पुरानो भवनको पुनर्निर्माण र सँगै जोडिएको घण्टाघरको जीर्णोद्धार हुने भएको छ। परिसरभित्र रहेकाले घण्टाघरको जिम्मेवारी त्रि–चन्द्र क्याम्पसले नै वहन गर्दै आएको छ।
त्रि–चन्द्र क्याम्पसका प्रमुख प्रा. डा. सुनील अधिकारीले भने, “घडी अझै थाकेको छैन तर दम दिएर साध्यै नचल्ने भयो। अब अटोमेटिक घडी जडान गर्नुपर्छ। अहिलेको घडीलाई क्याम्पसभित्र सङ्ग्रहालय बनाएर राख्नेछौँ।”
तत्कालीन प्रधानमन्त्री वीरशमशेरले भिरालो जमिनको डिलमा घण्टाघर निर्माण गर्न लगाएका थिए । केही इतिहासकारले १९५१ साल र केहीले १९५७ सालमा घण्टाघर निर्माण भएको लेखेका छन्। त्यससँगै वीर पुस्तकालय पनि स्थापना गरियो र त्यसलाई पुस्तकखाना भनिन्थ्यो। दरबार हाइस्कुलको बुइगलमा राखिएका पुस्तकालयलाई वीर पुस्तकालयमा सारियो।
त्यसबेला रानीपोखरी घण्टाघर भन्ने चलन थियो। राष्ट्रिय अभिलेखालयमा सुरक्षित रहेको १९५६ सालको दस्तावेजमा पुस्तकखानाका हाकिमअन्तर्गत घण्टाघरको निगरानी गर्न सिपाही ठेकिएको उल्लेख छ। आलोपालो काममा आठ जना सिपाही खटाइएको हुन्थ्यो। उनीहरूले घण्टाघरको सफाइका साथै पालोपहरा दिने गर्थे।
घण्टाघर संरक्षणका लागि राखिएका ती सिपाहीलाई पुस्तकालय स्याहारको पनि जिम्मा दिइएको सो लिखतबाट प्रस्ट हुन्छ। कुनै सिपाहीले ती दुवै काम गर्न नचाहेमा ‘उनका स्थानमा नयाँ मानिसलाई भर्ना गराउन ल्याउनू र तिनलाई हामी भर्ना गरिदिन्छौँ भन्ने ठाडो आदेश जारी भएको देखिन्छ।
त्यो भव्य घण्टाघरलाई १९९० सालको भूकम्पले पाताल पु-याइदियो। नयाँ शैलीको घण्टाघर निर्माण गरियो तर घडी उही प्रयोग गरियो। घडी र त्यसमा जोडिएका उपकरण कहीँ कतै पनि निर्माण कम्पनी र देशको नाम उल्लेख छैन। त्रि–चन्द्र क्याम्पसका पदाधिकारी बेलायती घडी भएको सहजै उत्तर दिन्छन्। घण्टाघरका घडी र त्यसका उपकरणको तौल करिब दुई हजार केजी छ। घडीसँग जोडिएका २५ वटा यन्त्र छन्। नौवटा घण्टा छन्। घडीमात्र करिब दुई सय केजीको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।