काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ४-० गोल अन्तरले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।
नेपालका लागि फरवार्ड सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतले समान दुई/दुई गोल गरिन् ।
राष्ट्रिय टिममा डेब्यु गरेकी अमिसा कार्कीको पासमा भण्डारीले १२ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । खेलको ६७ औं मिनेटमा भण्डारीले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाईन् ।
७३औं मिनेटमा बस्नेतले उत्कृष्ट गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाइन् । उनले दुई डिफेन्डरलाई बिट गर्दै बक्स बाहिरबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो ।
८५औं मिनेटमा बस्नेतले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै नेपाललाई सानदार जित दिलाइन् ।
प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी सात राष्ट्रले प्रतिधपर्धा गर्नेछन् । समूह ‘ए’ मा नेपाल, श्रीलंका र भुटान छन् । समूह ‘बी’ मा भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् । प्रत्येक समूहबाट अंकको आधारमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।