काठमाडौँ । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा आज नयाँ जनप्रतिनिधि चयन गर्न लागि जारी मतदानमा पनि विवाद भएको छ । बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति मावि मतदान केन्द्रमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच तनावको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको छ ।
मतदान केन्द्रमा तनाव सिर्जना भएपछि करिब १५ मिनेट मतदान स्थगित भएको र हाल स्थिति नियन्त्रणमा लिइसकेकाे प्रहरीले जनाएकाे छ ।
गत वैशाख ३० गतेकाे निर्वाचनमा मुख्यतः कांग्रेस र एमालेले बुथ कब्जा गरेर मत परिणाम प्रभावित पार्न खोजेको भन्दै आरोप लगाएपछि निर्वाचन आयोग बाजुराले अन्तिम समयमा मतदान स्थगित गरेको थियो । सर्वोच्च अदालतसम्म पुगेको सो स्थगित मतदानलाई पुनः राजनीतक दलको आपसी सहमतिमा आज सुरु भएको हाे ।
जारी निर्वाचनमा बूढीगंगा नगरपालिकाको भावी मेयर पदका लागि नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् ।