काठमाडौँ । नेकपा माओवादी केन्द्रले आर्थिक वर्ष २०७९/८० को बजेट र अर्थमन्त्रीमाथि उठेका प्रश्नमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल अघि बढाउने भएकाे छ ।
बुधबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटीका नेताहरुको विस्तारित बैठकले अर्थमन्त्रीमाथि उत्पन्न विवादका सन्दर्भमा एमालेसँग छलफल गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी भएका एक नेताका अनुसार पार्टी अध्यक्ष प्रचण्डले अर्थमन्त्रीमाथि उठेको प्रश्न गम्भीर बन्दै गएको र चाँडै निष्कर्षमा पुग्नुपर्ने बताएका थिए । सो विषयमा निरन्तर विरोध गरिरहेको एमालेसँग निकासका लागि सकेसम्म आजै छलफल गर्ने निर्णय भएको ती नेताको भनाइ छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा अर्थमन्त्री जनार्दन शर्माले एकजना पूर्वनायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको भन्ने आरोप छ। उक्त घटनाको सिसिटिभी फुटेज माग्दा मन्त्रालयले त्यो डिलिट भइसकेको गैरजिम्मेवारपूर्ण जवाफ दिएपछि मन्त्रालय प्रशासनले पनि शर्माको प्रभावमा काम गरेको भन्दै आलोचना भइरहेको छ।