काठमाडौँ । दुई दिनदेखि जारी केन्द्रीय समितिको बैठक स्थगन गरेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक भने बसिरहेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार खुमलटारमा पूर्व स्थायी र प्रदेश इन्चार्जसहितको जारी विस्तारित बैठकमा पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजनलगायतबारे छलफल भैरहेको छ ।
माओवादीकाे आठौं महाधिवेशनले पारित गरेको विधानमा पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । तर, हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन्। जारी बैठकमा पार्टीका प्रदेश इन्चार्ज तथा अध्यक्षहरुले पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्यूरोको चयन हुनुपर्नेलगायतका माग गरिरहेका छन् ।
आजका लागि तय भएको केन्द्रीय समितिको बैठक स्थगित गरेर बुधबार दिउँसो १ बजे बैठक बोलाइएको छ । आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले १० पेजको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदनमा केन्द्रीय सदस्यहरुले उठाएका जिज्ञासाको उनले आज जवाफ दिने कार्यक्रम थियो ।