काठमाडौं। नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै होटल सोल्टीमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो ।
दुवै देशका सरकारी तहका विभिन्न मन्त्रालय अन्तर्गतका ६ वटा र निजी क्षेत्रका थप २ सहित ८ विषयमा सम्झौता भएको हो ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ ।
यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।
कतारी अमिरको सम्मानमा प्रधानमन्त्री दाहालले दिवाभोजको आयोजना गरेका छन्। कतारका अमिर थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा हिजो अपराह्न यहाँ आइपुगेका हुन्। कतारी विशिष्ट अतिथि आजै १२ः४०मा काठमाडौंबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ ।