गलकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको अध्यक्षमा हीराबहादुर केसी सर्वसम्मत निर्वाचित भएका छन्।
शुक्रबारदेखि बागलुङ बजारमा शुरु भएको दशौँ जिल्ला अधिवेशनबाट केसी दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका छन्। निर्वाचन संयोजक डा. डिल्लीराज गौतमका अनुसार एमाले गण्डकी प्रदेश कमिटीका पूर्वसदस्य हरिनारायण गौतमले उम्मेदवारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्ष भएका हुन्।
साथै उपाध्यक्षमा विष्णु भुसाल सर्वसम्मत भएका छन्। सचिवमा भने तीनजनाको उम्मेदवारी परेको छ। एमाले जिल्ला सचिवमा गणेश थापा, कुमार खड्का र चन्द्रप्रकाश शर्माको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ।
सचिवमा सर्वसम्मतको प्रयास भइरहेको छ। उपसचिवमा पनि सर्वसम्मत रूपमा धनबहादुर परियार र करमती पुन चयन भएका छन्। ‘निर्वाचनको कार्यतालिकामै छौँ, एकल उम्मेदवारी कायम भएपछि अध्यक्ष, उपाध्यक्ष र उपसचिवमा सर्वसम्मत भइसकेको छ’, संयोजक गौतमले भने।