काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ‘फेस टु फेस’ बैठकपूर्व अध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले छलफल गरेका छन्। नेपाली कांग्रेसको महासमिति बैठकमा भाग लिन आएका जनसम्पर्क समिति सभापति तथा काठमाडौँमा रहेका अभियन्तासँग शर्माले छलफल गरेका हुन्।
गोदावरीमा आयोजित छलफलमा महासमिति बैठकमा भाग लिन आएका प्रतिनिधि सहित अन्य एनआरएन अभियन्ता सहभागी थिए। अध्यक्ष शर्माले एनआरएन अभियानमा देखिएको अन्योलबारे सुझाव लिन कार्यक्रम आयोजना गरिएको बताए।
बद्री केसी पक्षले एकलौटी ढंगले सहमति तोडेपछि हिमालयन होटेलमा गैरआवासीय नेपाली संघका तत्कालीन अध्यक्षद्वय कुल आचार्य र रविना थापाले बोलाएको भेलाले अभियान अगाडि बढाउन जनसम्पर्क समितिको ठूलो भूमिका हुने बताए।
शर्माले संघका राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरू स्वायत्त रहेको भन्दै कसैले चाहेर पनि हटाउन नसक्ने बताए। उनले अभियानलाई केही व्यक्तिले मुट्ठीमा लिएर हिँडेको हुँदा त्यसको विरोधमा लडाइँ रहेको बताए।
‘हाम्रो निरन्तर दबावका कारण पोर्चुगलमा दूतावास स्थापना भएको छ भने इराकमा पासपोर्ट नवीकरणका लागि सरकारी टोली गएको छ’, शर्माले भने।
एनआरएनएका निवर्तमान अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता प्राप्त भएको र त्यसअनुसार नियमावली र कानुन बनाएर अधिकार प्राप्तिका लागि लाग्नुपर्ने बताए। सरकारले छानबिन समिति गठन गरेको र समितिको छानबिनपछि एनआरएनएको अन्योल हट्ने उनले आशा व्यक्त गरे।
एनआरएनएकी निवर्तमान अध्यक्ष रविना थापाले गत २ वर्षे कार्यकालमा भएका उपलब्धिको जानकारी गराएकी थिइन्। सामाजिक काममा शर्माको नेतृत्व अगाडि बढ्न उनले सुझाव पनि दिइन्।
संघका उपाध्यक्ष गंगाधर गौतमले ४६ वटा देशमा जनसम्पर्क समिति रहेको बताए। एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेले आफूलाई एउटा पक्षले विजेता घोषणा गर्दा विधिसम्मत नभएकाले त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको बताए।
यसैगरी संघका अर्का उपाध्यक्ष राज रेग्मीले आफूलाई नतिजामा जिताइए पनि आफूले शपथ नलिएको बताए।
एनआरएनएका महासचिव बुद्धि सुवेदीले नेपालका भूकम्प पीडितलाई राहत वितरण गरेको र प्रवासी नेपाली र श्रमिकका मुद्दाबारे नेपाल सरकारलाई जानकारी गराएको बताए। एनआरएनएका उपमहासचिव कृष्ण गिरी‚ एनआरएनए एशिया संयोजक डिबी कँडेल‚ एनआरएनएका सल्लाहकार विमल सुवेदी‚ आनन्द विष्ट‚ बुद्धिप्रकाश ओली‚ जनसम्पर्क समिति जापानका राजेन्द्र जमरकट्टेल‚ सुवास लोहनी‚ शिखर खड्काले बोलेका थिए।