काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत पाटनले आदेश दिएको छ।
न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले सो आदेश दिएको हो । थुनामा रहनेमा इन्द्रजित राई, आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाललगायत छन् ।
लक्ष्मी महर्जन र आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ। यसअघि जिल्ला अदालत काठमाडौंले महर्जनलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन खोजेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्त खाणले थुनामुक्त गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए। जसमा यही मंसिर ५ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको थियो।
यस प्रकरणअन्तर्गत नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणका साथै पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हरिभक्त महर्जन र आशिष बुढाथोकी पुर्पक्षका लागि थुनामा थिए।