काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला, २०२३ आयोजना गर्ने भएको छ।
मंगलवार महासंघले पत्रकार सम्मेलन गर्दै आगामी मंसिर १४ देखि १८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्न लागेको जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९का कारण केही वर्ष रोकिएको मेला यो वर्षबाट निरन्तरता दिन लागेको बताए।
उनले मेलाले आन्तरिक उत्पादनलाई विश्व बजारमा लैजान मदत पुग्ने तथा अन्तर्राष्ट्रिय उत्पादनका निर्यातकर्ता र आयातकर्ताहरुको एकै ठाउँमा भेट हुने माध्यम बन्ने बताए।
उनले मेलाबाट नेपाली उत्पादन र विदेशी उत्पादनको सहजरुपमा अवलोकन गर्न सकिने दावी गरे। उनले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाले पछिल्लो समय सुस्त हुँदै गएको आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा रहेको उल्लेख गरे। उनले अन्तर्राष्ट्रिय व्यापार मेलाले जिल्ला तहमा वृद्धि हुँदै गएका व्यापार मेलाहरुलाई पनि सहयोग पुग्ने बताए।
उनले मेलामा चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८/८ वटा स्टलहरु रहने बताए । उनले मेलामा २१० वटा स्टलमार्फत स्वदेशी र विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने जानकारी दिए।
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने एक माध्यम बन्दै आएको महासंघको भनाइ छ। मेलामा नेपालको औद्योगिक व्यवसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास महासंघले लिएको छ।
मेलामा चीनको गान्छु प्रदेशबाट १२ जना व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यापारिक प्रतिनिधिमण्डलबीच कृषि, जडिबुटी, औषधि, हस्तकलाका वस्तुहरुको विषयमा छलफलसमेत हुनेछ।