काठमाडाैं, २३ असाेज । कलेज पढ्न बेलायत गएकी केटी। नयाँ देश थियो, नयाँ संसार थियो। नेपालबाट बोकी लगेका जीवनका नयाँ नयाँ रहरहरू उत्तिकै थिए।
काठमाडौंको रैथाने नेवार समुदायमा जन्मे हुर्केकी रोजिनाका लागि त्यो संसार बेग्लै थियो। विद्यार्थी भिसा थियो।
पढ्नकै लाथि गए पनि पढ्दासम्म केही घण्टा काम गर्न पाइन्थ्यो। त्यसबाट विद्यार्थीहरू आफ्नो पढाई खर्च जुटाउँछन्। उसै पनि ‘केही नगरी’ बस्नै नसक्ने रोजिना केही न केही गर्नै चाहन्थिन्। कामहरू सिक्न चाहन्थिन्।
प्लस टु सकेर उच्च शिक्षाका लागि बेलायत गएकी रोजिनाले त्यहाँ कामहरू खोज्न थालिन्। केही ठाउँमा भेटिन् पनि।
‘काम ठूलो र सानो त हुँदैन’ त्यो पनि रोजिनालाई केही त सिक्नै थियो। के सम्म गरिनन् उनले ? कार पुछ्ने काम पनि गरिन्। बेलायतको त्यो चिसो धरतीमा फुर्रफुर गरिरहने हिँउसँगै उनका हातहरू कारका भित्तामा चलमलाइरहन्थे। तर असाध्यै कठ्याङ्ग्रिएर। उनले सकिनन्। केही दिनमै उनले त्यो काम छोडिन्।
त्यसपछि रेस्टुरेन्टहरूमा छिरिन्। त्यहाँ पनि काम सिकिन्। घरमा हुँदा भान्सामा कहिल्यै केही नपकाएकी उनले त्यहाँ रेस्टुरेन्टमा काम गर्दा धेरै ‘रेसिपी’हरू जानिन्। त्यसैले उनलाई एक पाटोमा ‘आत्मनिर्भरता’को विश्वास दिलाएको थियो। पढ्दापढ्दै काम गरेर संगालेको पैसा उनले त्यो बेलै केही व्यवसायमा लगानी गरेकी थिइन्। गाडी किनेकी थिइन्।
एङ्लिया रस्किन युनिभर्सिटीबाट विजनेश एडमिनिष्ट्रेसनमा मास्टर्स गर्दैगर्दा उनको बिहे पनि भइसकेको थियो, बेलायतमै भेटिएका ‘गोर्खा आर्मी’ हिरा राईसँग उनले जीवन बिताउने अठोट गरिसकेकी थिइन्।
एउटा भेटबाट झाङ्गिएको त्यो प्रेम अन्ततस् बिहेमा बदलियो। यो बिवाह ‘बन्धन’ थिएन, बरु श्रीमान हिरा त रोजिनाको बाटोमा खुल्ला आकाशजस्तै भइदिए।
उनले हिँड्न चाहेको बाटोमा श्रीमान कहिल्यै बाधा बनेनन्, बरु परेका कति ठाउँमा रोजिनाकै हात समाएर अघि बढाए। त्यो बेलासम्म सोचेकी थिइनन्, रोजिनाले जीवन बेलायतमै बित्नेछ। ‘यहाँबाट त म पढ्नका लागि बेलायत गएकी थिएँ’ उनी सम्झन्छिन् ‘तर त्यहीँ नै बसौंला भन्ने सोचेको थिइनँ।’ न रोजेको हुन्छ न सोचेकोजस्तै। जहाँ जस्तो पर्छ जीवन त त्यस्तै भइदिन्छ। पढ्न गएकी रोजिनाले रोजेकै मान्छे जीवन साथी पाएकी थिइन्। विस्तारै त्यो बाटो फेरि नेपालतिर मोडिएन। बरु बेलायत नै कर्मभूमि बन्यो। काठमाडौंको मैतीदेवीदेखि बेलायतसम्मको यात्रामा उनले खोटाङका ‘हिरा’ पाएकी थिइन्।
नेपाल र नेपालीलाई सकेको सहयोग र साथ दिँदै आएका रोजिना अनि हिराको त्यो कर्म पछि त ‘समाजसेवा’को स्थापित अभियान नै बन्यो। नेपाल र नेपालीको साथ र सहयोगका लागि उनीहरूले आफ्नै ‘राजीहिरा’ फाउन्डेशन बनाए।
यो बेलासम्म उनीहरू बेलायतमा गनिएका नेपाली व्यवसायी भइसकेका थिए। होटेल अनि रेस्टुरेन्ट चलाएर उनीहरू ब्यापारमा स्थापित भए।
अहिले रोजिना आफ्नै व्यावसायिक कम्पनी केहिरोज इन्टरनेशन कम्पनीको अध्यक्ष पनि हुन्। फाउन्डेसनको नेतृत्व पनि उनी आफैले गर्छिन्।
समाजसेवाका लागि एनआरएनए यात्रा
बेलायतमै छिन्, रोजिना जहाँ गैरआवासीय नेपाली संघ ९एनआरएनए० को जन्म भएको थियो।
२००३ तिर शेष घले, जीवा लामिछाने अनि उपेन्द्र महतोहरूले बेलायतमा बसेर एनआरएनएको खाका कोर्दै गर्दा रोजिनाका पाउहरू त्यो धरतीमा दरिलोगरी उभिनसक्ने भइसकेका थिए।
गोर्खा आर्मीहरूको बसोबास भएको बेलायतमा त्यो बेला अरु देशको तुलनामा धेरै नेपाली पनि थिए। विश्वभरि छरिएका नेपाली समुदायका अगुवाहरूले बेलायत भूमिलाई एनआरएनए ‘गर्भदेश’ बनाए।
आफै बसेको भूमिमा जन्मिएको एनआरएनएलाई उनले त्यो बेलैदेखि चिन्ने र जान्ने मौका पाइन। जसले उनलाई यो बाटोमा हिँड्न त्यतिधेरै अलमल भएन।
त्यसमाथि पनि रोजिना त नेपाली समुदायमा भिजिसकेकी थिइन्। आफू बस्ने देशका नेपालीलाई केही समस्या पर्यो कि सहयोगका लागि रोजिनाका पाइलाहरू सबैभन्दा अघि सर्थे।
उनले कसैको दुस्ख देख्न सक्छिन् न अन्यायलाई टुलुटुलु हेरेर बस्न सक्छिन्। त्यो त मेरो आफ्नै स्वभाव थियो। केटाकेटी हुँदा नै कतिले जेलै पुर्याएकी थिएँ’, अन्याय नसहने त्यही आदत नै आज नेतृत्व हाँक्नसक्ने रोजिनाको तागत बनेको छ।
आफ्नै नेपाली समुदायलाई साथ सहयोग गर्दागर्दै उनी आफ्नो जन्मदेशका लागि केही गर्न चाहन्थिन्। रोजीहिरा फाउन्डेसन त्यसकै उपज थियो। ‘खोटाङमा मेरा ससुराबुवाले त्यो बेलै कैयौ जमिन विद्यालयलाई दिनुभएको थियो। आफ्नो जन्मघरको परिवार पनि उस्तै थियो,’ रोजिना भन्छिन्, ‘मेरो आफ्नै घर अनि श्रीमानको घरपरिवार पनि हाम्रो यो सामाजिक अभियानको प्रेरणा बने।’
समाजसेवाका यिनै पाइलाहरू एनआरएनएको अभियानमा जोडिएको दशकभन्दा बढी भसकेको छ। आज २० वर्षे तन्नेरी हुँदै गएको एनआएरएन नेतृत्वको छेउमै छिन् अब रोजिना।
अब केही दिनमै संसारभरि छरिएका नेपालीले एनआरएनएको नेतृत्व छान्दैछन्। त्यसमा एउटा उम्मेदवारको नाम हुनेछ( रोजिना प्रधान राई (महिला उपाध्यक्ष)।
उनी अहिले ‘एनआरएनए आइसीसी भोकेशनल एजुकेशन कमिटी’ यूरोपको अध्यक्ष पनि हुन्। यसअघि उनी एनआरएनए बेलायतको उपाध्यक्ष पनि भइसकेकी थिइन्।
एनआरएनएको संस्थागत सुधार अनि महिला सशक्तिकरणको मुद्दा लिएर आफूलाई सशक्त रुपमा उभ्याएकी उनलाई लाग्छ ‘त्यो पदका लागि सक्षम उम्मेदवार रोजिना नै हो।’
‘मैले बेलायतका विभिन्न सामाजिक तथा महिला केन्द्रित संस्थासहित बेलायत एनसीसी हुँदै केन्द्रसम्म निकट रहेर धेरै अनुभव संगाल्ने अवसर पाएँ’ रोजिनाको अबको यात्रा हुनेछ ‘आफ्नो यो ज्ञान र अनुभव एनआरएनएमार्फत मातृभूमिलाई अझ बढी दिने दृढता।’एनआरएनए अभियानमा लामो समयदेखि आवद्ध समाजसेवी रोजिना एनआरएनए यूकेमा उपाध्यक्ष रहँदा नेपाल र नेपालीका लागि धेरै काम गरिन्।‘म रोजिना प्रधान राईमात्रै भनेर चिनिएकी होइन, त्यसका लागि मैले लामो समय समाजसेवाको यो बाटोमा बिताएकी छु’ उनी भन्छिन् ‘म नामले मात्रै होइन कामले नै चिनिने आदत भएको मान्छे हुँ।’
यूकेको उपाध्यक्ष हुँदा उनी संघ संस्था समन्वय विभाग प्रमुख पनि थिइन्। कोरोना संक्रमणलगायत अरु धेरै संकटका बेला राईले आफ्नो कार्यकालमा एनआरएनए यूकेमा महत्वपूर्ण अभिभारा बोकेर हिँडिन्।
चाहे नागरिकता निरन्तरता सवाल होस्, चाहे पूर्व गोर्खाजहरूको समानताको लडाईं, उनको अगुवाई अरु धेरैका लागि पनि प्रेरणादायी भयो।
कोभिड १९ महामारीमा बेलायती विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थी नराम्ररी प्रभावित हुँदा उनले एनआरएनए यूकेका तर्फबाट संयोजनकारी भूमिका निर्वाह गरिन्। अप्ठ्यारोमा परेका विद्यार्थीलाई राहत वितरण र आफैंले गास बास प्रवन्ध समेत गरिदिएकी थिइन्।
बेलायतस्थित तीनसय भन्दा बढी संघ(संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा भएको एनआरएनए यूकेको छैटौं काउन्सिल बैठकको संयोजक पनि थिइन् रोजिना। बेलायतसहित ५ वटा एनसीसी मिलेर गरिएको युवा परिचालनसम्बन्धि कार्यक्रममा पनि उनको विशेष भूमिका थियो।
राईले एनआरएनका राष्ट्रिय–अन्तरराष्ट्रिय हरेक सभा सम्मेलनमा सक्रिय सहभागिता र योगदान गरेकी थिइन्। बेलायतका विभिन्न सामाजिक गतिविधि र च्यारिटीमा संलग्न राईले नेपाल र बेलायतमा कयौं व्यवसाय समेत सञ्चालन गरिरहेकी छन्। रोजिनालाई व्यवसायमा आफ्नो श्रीमान हिराधन राईको पनि सहयोग छ।
रोजीहिरा फाउण्डेशनकी अध्यक्ष राईले आफ्नो फाउण्डेशनमार्फत धेरै परोपकारी कार्य गरेकी छन्। उनले विशेष गरि सन् २०१५ को महाभूकम्प, कोभिड १९ महामारी, बाढी तथा पहिरो पीडित र आपतविपतका बेला कयौंपटक आर्थिक र मानवीय सहयोग गरेकी थिइन्।
खोटाङ बांसपानीस्थित श्री राष्ट्रिय माविमा इ लाइब्रेरी, खोटाङ बांसपानीकै स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री प्रदान, झापामा अपांगता भएकालाई कृत्रिम हात खुट्टा वितरणमा सहयोग, प्रदेश नम्बर १ विराटनगर महानगरपालिका १२ मलहनुवास्थित निर्माणाधीन मुसहर बस्ती निर्माणकालागि श्रमदान लगायतका काम पनि उनकै अगुवाइमा भएका हुन्।
यो क्षेत्रमा विपन्न मुसहर समुदायका लागि १४५ घर निर्माण कार्य अन्तिम चरणमा छ।एङ्लिया रस्किन युनिभर्सिटीबाट विजनेश एडमिनिष्ट्रेसनमा मास्टर्स गरेकी उनी वल्ड नेवा अर्गनाइजेसन, खोटाङ सेवा समाज यूके, एनआरएनए यूके आदि संस्थामा सल्लाहकार छिन्।
बेलायतमा भएका विभिन्न सौन्दर्य तथा प्रतिभा उजागर गर्ने कार्यक्रमहरुमा निर्णायकको भूमिका समेत निर्वाह गरेकी उनले नव नारी, टुडेज् वुमनसहित खोटाङ सेवा समाज बेलायत, रावाखोला सेरोफेरो यूके, किरात राई यायोख्या बेलायत, गुन्यूचोली तथा सांस्कृतिक पोशाक,राष्ट्रिय सचेतना अभियान नेपाललगायत विभिन्न(संस्थाबाट सम्मान पाएकी छन्।
राईले बेलायतमा विभिन्न महिला संघसंस्थामा आवद्ध रहेर महिला हक हित र सशक्तिकरणका लागि अनवरत काम गरेकी छन्।यो लामो अभियान र यात्रामा उनले थुप्रै ठाउँमा ठक्कर पनि खाइन्। लडिन्, फेरि उठिन् र फेरि हिँड्न सकिन्।
‘यो एउटा लामो रेस पनि हो। काम गर्ने प्रतिष्पर्धा हो’ रोजिना भन्छिन् ‘मेरो आत्मविश्वास छ। म सक्षम छु। त्यसैले म यो रेस पनि जित्छु।’ जित्नका लागि त दौडिनैपर्छ, रोजिनाका पाइला थाकेका छैनन्। ‘र, बिसौनी त्यही जित बन्नेछ’ यो उनको आत्माको विश्वास हो, जसलाई ढलाउन सजिलो त पक्कै छैन।