पर्वत। मुटुमा समस्या देखिएपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेका जिल्लाको जलजला गाउँपालिका–८ नाग्लिवाङका १४ वर्षीय मनोज रेग्मीलाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन्।
नाग्लिवाङको लुप्राङस्थित आरुकटेरा घर भई जनकल्याण माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत रेग्मीको घरको आर्थिक अवस्था दयनीय रहेको उपचारमा समस्या देखिएपछि आर्थिक सहयोगका लागि अपिल गरिएको थियो।
शहीद गंगालाल हृदयरोग अस्पताल काठमाडौंको सल्लाहअनुसार यही माघ २३ गते मनोजको मुटुको शल्यक्रिया गर्न लागिएको छ। नाग्लिवाङका वडाध्यक्ष हरिविकास जीसीका अनुसार मनोजको घरको आर्थिक अवस्था कमजोर रहेका कारण शल्यक्रिया गर्न असम्भव देखिएपछि सहयोगको अपिल गरिएको थियो।
उनको शल्यक्रियाका लागि अहिलेसम्म ११ लाख ३१ हजार ९३६ रुपैयाँ संकलन भएको छ। रोजगारीको सिलसिलामा हाल अमेरिकामा रहेका खिमबहादुर रेग्मीको पहलमा संकलन भएको तीन लाख १२ हजार ५२० रुपैयाँ मनोजकी आमा मायालाई हस्तान्तरण गरिएको छ। रोजगारीको सिलसिलामा जापान रहँदै आएका गाउँले तथा बाहिरका व्यक्तिले तीन लाख एक हजार ५०० रुपैयाँ सहयोग गरेका छन्।
हाल बेल्जियममा रहँदै आएका गाउँलेहरूको पहलमा संकलन भएको दुई लाख ६१ हजार १५३ रुपैयाँ पनि मनोजको परिवारलाई हस्तान्तरण गरिएको छ। रोजगारीकै सिलसिलामा हाल लण्डनमा रहेका सन्दीप रेग्मीलगायत सहयोगीको पहलमा ६६ हजार ४५३ रुपैयाँ संकलन भएको छ।
यस्तै रोजगारीकै सिलसिलामा हाल पोर्चुगलमा रहेका नाग्लिवाङवासीको पहलमा एक लाख ४४ हजार ८५९, स्वीट्जरल्याण्डबाट १० हजार र जीवन्धर रेग्मीबाट ३३ हजार ४८१ रुपैयाँ संकलन भएको छ।