काठमाडाैँ । सुदूरपश्चिम प्रदेशसभामा हालै सम्पन्न निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संसदीय दलको नेताको आकांक्षीमा पाँचजना देखिएका छन् । कांग्रेसबाट प्रदेशसभामा १२ जना प्रत्यक्ष निर्वाचित भएका थिए ।
कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित प्रदेशसभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह विष्ट, प्रकाशबहादुर देउवा, कमलबहादुर शाह र मेघराज खड्काले संसदीय दलको नेताका लागि दाबी गरेका छन् । यस्तै दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको नेतामा खगराज भट्ट र ओमविक्रम भाटको चर्चा छ । तेस्रो ठूलो दल नेकपा (एमाले)को संसदीय दलको नेतामा भने धर्मराज पाठक र राजेन्द्रसिंह रावलको चर्चा छ । उनीहरु दुवै जना समानुपातिक प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी, लक्षमणकिशोर चौधरी र टीका थापाको नाम चर्चामा छ ।
त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसबाट १९, माओवादीबाट ११, एमालेबाट १० र नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी)का चार र राप्रपाका एक जना निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका डा तारा जोशी पनि प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । नागरिक उन्मुक्ति र राप्रपाको पहिलो पटक प्रदेशसभामा प्रतिनिधित्व हुनलागेको हो ।
यसअघिको प्रदेशसभामा प्रतिनिधित्व रहेको जनता समाजवादी पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टी भने प्रदेशसभाको दोस्रो कार्यकालमा बाहिरिएको छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा दुवै दलबाट कोही पनि विजयी भएनन् । प्रदेश सरकारको नेतृत्वका लागि कांग्रेस र माओवादी केन्द्रको दाबी छ । “अधिकां विजयी प्रदेशसभा सदस्य काठमाडौं पुग्नुभएको छ”, प्रदेशसभा सदस्य प्रकाशबहादुर बमले भने ।