दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अकला मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिएका छन् ।
तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित अकला मन्दिरको आज दर्शन तथा निरीक्षणपछि मुख्यमन्त्री पोखरेलले यस ठाउँ धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण रहेकाले यसको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । गण्डकी प्रदेश धार्मिक पर्यटनले भरिपूर्ण रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले अकलालाई गुरुयोजना बनाएर विकास गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले यस ठाउँको विकासका लागि गाउँपालिका पनि लागिपरेको र प्रदेश सरकारले साथ दिनुपर्ने बताइन् । कार्यक्रममा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्ले, म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, नेपाली कांग्रेस म्याग्देका सभापति रामभक्त घिमिरेलगायतको सहभागिता थियो ।
विसं २०७६ पुस अन्तिम साता मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरको शैलीमा मन्दिरको पुनःनिर्माण गरिएको हो । समितिको आन्तरिक कोषबाट रु ७१ लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको छ । मन्दिर व्यवस्थापन समितिले मन्दिरको डिपिआर तयार गरी भजनकीर्तन भवन, पाटीहरु गोलाकार शैलीमा निर्माण गर्ने योजना बनाएको छ । मन्दिर क्षेत्रमा वनभोजस्थल पनि निर्माण गर्ने योजना छ ।
मन्दिर परिसरमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ४० लाख र म्याग्दे गाउँपालिकाको रु आठ लाख सहयोगमा भजनकीर्तन भवन निर्माण सम्पन्न भइसकेको छ । अकलादेवी खुशी भएको बेला मन्दिरभित्र रहेको घण्ट आफैँ हल्लिने र बज्ने गरेको स्थानीयवासीको भनाइ छ । विसं २०४२ देखि मन्दिरमा शङ्ख र घण्ट बजेको सुनिन थालेको स्थानीयवासी बताउँछन् ।