काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरु आफ्ना सदस्यहरुप्रति उत्तरदायी बन्नु पर्नेमा जोड दिएकी छन् ।
काठमाडौंमा आज आयोजित राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा, एकाइ प्रतिनिधिहरुको सभामा मन्त्री श्रेष्ठले समुदाय तर्फ सदैव जिम्मेवार बनेर आममानिसको भरोसा बढाउनु सहकारीको दायित्व भएको बताएकी हुन् । मन्त्री श्रेष्ठले सहकार्यको भावनामा सञ्चालन हुने निकाय सहकारीमा सबैभन्दा बढी ब्याज रहेको भन्ने व्यापक रुपमा जनगुनासो आइरहेकाले यसलाई तत्काल निकास दिन आवश्यक रहेकोमा जोड समेत दिइन् ।
उनले भनिन्- ‘सहकारीको सिद्दान्त, उद्देश्य, र मर्म अनुसार नचल्दा वित्तीय सुशासन कायम हुन नसकी सहकारी प्रति बचतकर्ताको विश्वासमा कमी आएको देखिएको छ , सहकारी क्षेत्रमा देखिएका चुनौति र जोखिमलाई न्युनिकरण गर्दै यस क्षेत्रप्रति आमनागरिकको विश्वास र भरोसा बढाउदै लगानी गर्न आकर्षित गर्नु सबैको दायित्व हो ।’
मन्त्री श्रेष्ठले संविधानले सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको र आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै सहकारीहरुलाई सदस्य केन्द्रित भइ व्यवसायिक बनाउनु पर्नेमा दुईमत नरहेको पनि बताइन् । सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने र सहकारी त्यही अनुसार चल्ने भएकाले सोही अनुसार भिजन पेपर तयार पारीरहेको पनि मन्त्री श्रेष्ठले जानकारी दिइन् ।
सहकारीको सिद्धान्त मुल्य मान्यता र प्रचलित ऐन कानुनको पूर्ण परिपालना गर्दै संविधानमा समृद्धिको आधारस्तम्भ मानिएको सहकारी अभियानलाई थप प्रभावकारीताका साथ अघि बढाउन राष्ट्रिय सहकारी बैंकले अझै महत्वपूर्ण भूमिका निर्वांह गर्नु पर्नेमा मन्त्री श्रेष्ठले जोड दिइन्।