काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीको अवसरमा मंगलबार पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।
३००औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार राष्ट्रपति भण्डारीले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर नेपाल एकीकरणका नायकप्रति सम्मान प्रकट गरेकी हुन् ।
सोही अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले तथा आयोजक चारवटै संस्थाका तर्फबाट पनि राष्ट्रनिर्माताका सालिकमा माल्यार्पण गरिएको थियो ।
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री कमल थापाले पनि राष्ट्रनिर्माताका सालिकमा माल्यार्पण गरेका थिए । कार्यक्रममा उपस्थित राष्ट्रसेवकलगायत सर्वसाधारणले पनि राष्ट्रनिर्माताको सालिकमा पुष्पगुच्छा अर्पण गरेका थिए । यसअघि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट सांस्कृतिक झाँकीसहित शोभायात्रा राजधानीको विभिन्न भाग परिक्रमा गरी सिंहदरबारको पश्चिम मूलढोकामा आइपुगेको थियो । शोभायात्राले राष्ट्रनिर्माताको सालिकमा पनि परिक्रमा गरेको थियो ।
























