काठमाडौं । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारसँग सहमति भएपछि खुला राजनीतिमा आएका नेत्रविक्रम चन्द ‘विप्लव’ले पछिल्ला दिनहरुमा राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।
सरकारसँगको तीन बुँदे सहमतिपछि केही समय गृह जिल्ला कपिलवस्तुमै गएर बसेका विप्लव ओली सरकार बाहिरिएको भोलीपल्टैदेखि सक्रिय भएका हुन् । उनले पूर्वसहकर्मीदेखि विभिन्न पार्टीका शिर्षनेतासँग भेट गरेका छन् ।
उनले सरकारसँग सहमतिपछि तत्कालिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग भेट गरेका थिए। त्यसपछि नख्खु कारागार पुगेर नेता हेमन्तप्रकाश वलीलाई भेटेका थिए । वली बिहिबार मात्रै सर्वोच्च अदालतको आदेशअनुसार रिहा भैसकेका छन् । विप्लवले आफ्ना राजनीतिक गुरु मोहन वैद्य ‘किरण’, पूर्वसहकर्मी विश्वभक्त दुलाल ‘आहुति’ लाई पनि भेटे । तर, पूर्व सहकर्मी एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने भेटेनन् ।
लगत्तै उनी कपिलवस्तु गएर आफ्नो खेतिपातीमा लागे । बारी खन्न लागेको, पार्टीको भवन बनाउन लागेको केही तस्बिरसमेत बाहिरिएका थिए । झण्डै साढे तीन महिनापछि उनी पुन सक्रिय भए ।
बुधबार प्रचण्डलाई भेट्न विप्लव उनकै निवास खुमलटार पुगेका थिए । उनले बिहिबार र शुक्रबार पनि भेटलाई तीव्रता दिए । विप्लवले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जसपा संघिय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि भेटे ।
किन एक्कासी सक्रिय भए विप्लव ?
खुला राजनीतिमा आउँदा विप्लव र सरकारबीच सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने, सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वमाथिको प्रतिबन्ध हटाउने र राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने सहमति भएको थियो ।
पहिलो र दोस्रो सहमतिको बुँदा कार्यन्वयन भएपनि तेस्रो बुँदा ‘बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने’ सहमति पूर्ण रुपमा कार्यन्वयन हुन नसकेको विप्लव समूहका नेताहरु बताउँछन् । विप्लवस्वयं पटक-पटक सहमति पूर्ण रुपमा कार्यन्वयन गर्नका लागि बालुवाटार धाए । तर, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै चासो देखाएनन् । उल्टै कानूनी प्रक्रियामा छ भन्दै फर्काउन थाले । आजितै बनेका विप्लव त्यसपछि बालुवाटार धाउन छाडे ।
पछिल्लो समयको भेटघाट सरकारसँगको सहमति कार्यन्वयनमा केन्द्रित भएको विप्लव समूहका एक नेता बताउँछन् । ‘अघिल्लो सरकारले सहमति कार्यन्वयमा ‘अटेरी’ गर्यो । त्यसकारण पनि सोही सहमतिका लागि अहिले कमरेड विप्लवले सक्रियता बढाउन थाल्नुभएको हो, यो पार्टीको निर्णयसमेत हो ।’ ती नेताले भने ।
हालै बसेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयको बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै सहमति कार्यन्वयनमा केन्द्रित हुने निर्णय गरेको थियो ।
भेटमा प्रचण्डले विप्लवलाई सरकारसँगको सहमति कार्यन्वयनमा सघाउने आश्सन दिएका थिए । बिहिबार विप्लवसँगको छलफलमा नेता नेपालले पनि सहमति कार्यान्वयन हुनुपर्छ र कार्यान्वयन गर्ने कुरामा आफूहरू सहमत भएको बताएका थिए । यस्तै, आज डा. भट्टराईसँगको भेटमा सोही विषयमा छलफल भएको बुझिएको छ ।