काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने भएका छन् । गत असार २८ गते साँझ मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले विश्वासको मत लिने भएका हुन् ।
विश्वासको मत लिनका लागि संसद सचिवालयमा सूचना दर्ता भैसकेको सचिवालय स्रोतले बतायो । विश्वासको मत लिनुभन्दा कम्तीमा २ दिनअघि संसदमा जानकारी गराउनुपर्ने संवैधानिक प्रावधान छ ।
संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
विश्वासको मत लिनु अघि नै सरकारले नीति तथा कार्यक्रम पारित गरिसकेको छ भने बजेट पनि आइसकेको छ । बजेटमाथि थप छलफल गर्नुअघि पोखरेलले विश्वासको मत लिन लागेका हुन् ।
यस्तै, विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने पोखरेलको तयारी छ । उनले मुख्यमन्त्रीमा नियुक्त भएकै दिन चार विभागिय मन्त्री नियुक्त गरेका थिए ।
कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहित स्वतन्त्रबाट १–१ जनालाई विना विभागीय मन्त्री नियुक्त गरिएको छ ।