काठमाडौं । सुदूरपश्चिम सरकारको मन्त्रीपरिषद् विस्तार भएको छ ।
प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार मन्त्रीपरिषद् विस्तार गरेका हुन् । भट्टले पाँच मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका छन् । उनले एमालेका तर्फबाट चार र आफ्नै पार्टी माओवादी केन्द्रबाट एक जना मन्त्री नियुक्त गरेका हुन् ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, उद्योग पर्यटन वन तथा वातावरणमा मानबहादुर धामी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी नियुक्त भएका छन् । पर्यटनमन्त्री बनेका धामी माओवादी केन्द्रका हुन् भने बाँकी मन्त्री एमालेका हुन् ।
यस्तै, नकुमारी चौधरी, अर्चना गहतराज, मानबहादुर सुनार, मना साउदले राज्यमन्त्री नियुक्त भएका छन् । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेशसभा संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले पद तथा गोपनीयताको सपथ खुवाइसकेका छन् भने राज्यमन्त्रीले मुख्यमन्त्री भट्टसमक्ष सपथ लिएका छन् ।