काठमाडौँ । एएफसी कपको दक्षिण एसियाली प्रारम्भिक छनोट अन्तर्गत प्लेअफको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले आज श्रीलंका पुलिस स्पोर्ट्स क्लबको सामना गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ः३० बजे सुरु हुनेछ । खेलमा आर्मी जितको लक्ष्यसहित मैदान उत्रने छ। पछिल्लो समय कीर्गिस्तानसँगको खेल र हेटौंडामा अफ्रिकी टिमसँगको खेलले पनि आर्मीले राम्रो प्रदर्शन हुने अपेक्षा राखेको छ । एएफसी कपमा आर्मीले यसपटक समूह चरण पुग्न प्लेअफका तीन खेल जित्नुपर्ने हुन्छ ।
श्रीलंका पुलिसमाथि जित हात पारेमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु क्लबसँग खेल्नेछ । उक्त खेल अप्रिल १४ मा हुनेछ । त्यसमा पनि जित निकालेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ । यस प्ले अफको विजेताले समूह चरणको समूह डी स्थान बनाउने छन् । समूह डीमा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् ।