अहिले संसद चलिरहेको छ, तर जसरी चल्नु पर्ने हो । त्यसरी चलिरहेको छैन । अर्थात् संसद केवल औपचारिकताको लागि मात्र चलिरहेको छ । जसरी विद्यालयमा ‘क्लास टिचर’ नआउंदा विद्यार्थीहरु ‘हेडसर’को डरले विद्यार्थीहरु पढ्दै नपढे पनि कक्षाभित्रै एक अर्कासंग गफ गरिरहेका हुन्छन्, अहिले संसदको अवस्था त्यस्तै छ । संसदका ‘हेड सर’ सभामुख हुन्, विडम्बना के छ भने सभामुख आफै यतिबेला निरिह बनेका छन् । उनले संसदलाई प्रभावकारी बनाउनै सकिरहेका छैनन् । त्यसैले सांसदहरु स्कुले विद्यार्थी झैं उनले घण्टी बजाएपछि संसद भित्र छिर्छन, २,४ वटा कुरा गर्छन् । सभामुखले केही केही विषयमा रुलिङ गरेझैं गर्छन् र फेरि घण्टि बजाएर अर्काे वैठकमा उपस्थित हुने आदेश दिन्छन् । सांसदहरु स्कुले विद्यार्थीहरु झैं हो हल्ला गर्दै आ–आफ्नो घर लाग्छन् ।
भनिन्छ– संसद भनेको लोकतन्त्रको मुटू हो । त्यो प्रभावकारीरुपमा चल्न नसक्नु भनेको लोकतान्त्रिक व्यवस्थाको लागि सुखद संकेत होइन । र, अहिले जसरी संसदलाई पंगु बनाइएको छ, सांसदहरुलाई हैसियतविहिन बनाइएको छ, त्यसले नेपालको लोकतन्त्र र गणतन्त्रको भविश्यमाथि प्रश्न उठाउने अवस्था सृजना गरिदिएको छ । जननिर्वाचित प्रतिनिधिहरुले नीति निर्माण गर्ने र देशको भविश्य तय गर्ने ठाउं सदन आफै बाटो विराएको यात्री जस्तो बन्नु कुनै पनि अर्थमा सही मान्न सकिदैन ।
विडम्बना कस्तो छ भने यति बेला संघिय संसद मात्र होइन, प्रदेशका संसदहरुको अवस्था पनि उस्तै छ । तिनीहरु जनताको समस्या समाधानको लागि सहयोगि होइन, राजनीतिक पार्टीको गुटको झगडा व्यवस्थापन गर्न नसकेर भद्रगोल बनेका छन् ।
संसद संचालनको लागि सरकार, खास गरि प्रधानमन्त्री र सभामुख बीचको सहकार्य हुनु अति जरुरी हुन्छ । उनीहरु बीचको सहमतीमै संसदको लागि एजेण्डा निर्धारण गरिन्छ । तर, यति बेला प्रधानमन्त्री र सभामुख बीच ‘तं तं र म म’को सम्वन्ध छ । उनीहरु एकले अर्काेलाई देख्नै नसक्ने अवस्थामा पुगेका छन् ।
सबैलाई थाहा छ–विगत देखि नै एक अर्का प्रति शंसकित रहेका प्रधानमन्त्री केपी ओली र सभामुख अग्नि सापकोटा बीचको सम्वन्ध संसद विघटनको घटनापछि एकदमै चिसिएको छ । संसद विघटनले गर्ने आफ्नो निर्णय विरुद्ध आक्रामक प्रतिकृया दिंदै सर्वाेच्च अदालतकोे ढोका ढकढकाएपछि सभामुख सापकोटा विरुद्ध प्रधानमन्त्री ओली क्रुद्ध भएका छन् भन्ने स्पष्ट छ । त्यति मात्र होइन, औचित्य सकिएको भन्दै आफैले विघटन गरेको संसदलाई प्रभावकारीरुपमा संचालन गराउने बारेमा प्रधानमन्त्री ओली अलिकति पनि गंभिर देखिएका छैनन्, यो उनको गंभिर भूल हो ।
सभामुखसंग उनको व्यक्तिगत वा पार्टीगत विवाद आफ्नो ठाउंमा होला । त्यो आम नागरिकको चासोको विषय होइन । हिजो एउटा परिस्थितिमा संसद विघटन भएर अदालतले पुर्नस्थापित गरिदिएपछि सरकारले विशेष गरि प्रधानमन्त्री ओलीले संसदप्रतिको सबै तुष विर्सिएर प्रभावकारीरुपमा वैठक संचालन गर्ने अवस्था सृजना गर्नु पर्दथ्यो । त्यसले गर्दा सरकार वाध्यतावस संसद विघटनको निर्णयमा पुगे पनि अदालतको निर्णयलाई स्विकार गरेर सहजरुपमा अगाडि बढेको संन्देश जाने थियो । संसद र सरकारको काम कारवाही सहजरुपमा अगाडि बढ्ने थियो । तर, अहिले सभामुखसंगको रिसइबी सांध्न संसदलाई पंगु बनाउंदा त्यसले संसद र सांसद मात्र होइन, स्वंय सरकार, प्रधानमन्त्री र लोकतान्त्रिक गणतन्त्र नै पंगु बनिरहेको छ भन्ने कुरा प्रधानमन्त्री ओलीले जति सक्दो छिटो आत्मसात् गर्नु जरुरी छ । अन्यथा अहिले संसदको मानमर्दन गर्न खोज्दा भोली आफ्नै लागि पछुताउने अवस्था सृजना हुन सक्छ ।
त्यस्तै पार्टी सदस्यता समेत त्यागेर ‘स्वतन्त्र’ भएका सभामुख सापकोटाले पनि आफूलाई पुष्प कमल दाहाल, प्रचण्डको सामान्य कार्यकर्ता होइन कि गरिमामय प्रतिनिधि सभाको सभामुख हुं भन्ने हेक्का राख्नु जरुरी छ । जसरी पार्टी निर्देशन नपाई सांसदहरुले संसदमा बोल्दैनन्, त्यस्तै अवस्थाबाट सभामुख गुज्रनु अर्काे वडम्बना हो । त्यसले संसदको गरिमा माथि नै गंभिर धक्का लगाएको छ । त्यसैले सभामुख अग्निप्रसाद सापकोटाले ‘सभामुखको हैसियत’मा संसद संचालन गर्न प्रभावकारी भूमिका खेल्नु जरुरी छ । प्रधानमन्त्री संग प्रतिस्पर्धीले जस्तो निहुं खोजेर होइन कि समन्वयकारी भूमिका खेलेर संसदलाई प्रभावकारी बनाउन जतिसक्दो छिटो भूमिका खेल्नु जरुरी छ ।