प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगरमा भएको आम सभामा बोल्दा नेकपाको अर्काे पक्षका नेताहरुको मात्रै विरोध गरेनन्, उपराष्ट्रपति नन्दवहादुर पुन र सभामुख अग्नी प्रसाद सापकोटाको विरुद्ध पनि कडारुपमा विरोध गरे । साथै उनले पुन र सापकोटालाई ‘पदको गरिमा कायम राख्न’ चेतावनी पनि दिए । उनको भनाईको आसय पुन र सापकोटाले सरकार विरोधि पक्षलाई साथ दिएर सरकारलाई असफल पार्न खोजिरहेको भन्ने थियो ।
प्रधानमन्त्री ओलीको आरोप कति सत्य छ वा असत्य त्यो राजनीतिक विष्लेषकहरुले भन्ने कुरा हो । सर्सती हेर्दा अहिले उपराष्ट्रपति र सभामुख एकातर्फ र राष्ट्रपति अर्काेतर्फ देखिन्छ । विगतका राजनीतिक पृष्ठभूमीहरुले पनि त्यस्तो संकेत गर्छ ।
त्यसो त नेपालमा मात्र होइन, ठूला र विकसित लोकतन्त्र भनिएका देशहरुमा पनि उच्च पदमा आशिन व्यक्तिहरु बीच आरोप प्रत्यारोप चलिरहन्छ । कतिपय अवस्थामा त त्यो अति नै कटु अवस्थामा पनि पुगेको हुन्छ । केही समय अगाडि अमेरिकाका तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्प र सभामुख नान्सी पावेल विचको आरोप प्रत्यारोपले विश्वकै राजनीति तरंगित भयो । र, त्यसले अमेरिकाको लोकतन्त्र अहिलेसम्मकै सबैभन्दा ठूलो संकटमा परेको विश्लेषण गरिएको छ ।
उच्च पदमा आशिन व्यक्तिहरु बीच सधैभरि सबै कुरामा एकमत हुनु पर्छ, कुनै कुरामा विवाद हुनु हुंदैन भन्ने होइन । वहस, विवाद हुन सक्छ । तर, त्यो मुढेबलले जित्ने खालको होइन, तार्किक हुनु पर्छ । सौम्य खालको हुनु पर्छ । एक अर्काको मान सम्मान र पदिय मर्यादामा आंच नपुग्ने खालको हुनुपर्छ । किनकी राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष जस्ता पदहरुमा को व्यक्ति वस्छ, त्यो मुख्य कुरा होइन, मुख्य कुरा ती व्यक्तिसंग जोडिएको राष्ट्रिय पहिचान, आदर्श हो ।
संवैधानिक अंगका प्रमुखहरु त्यसमा पनि राष्ट्रपति, उपराष्ट्रपतिको साथै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाका प्रमुखहरुको विवाद केवल व्यक्तिगत र पार्टीगत मात्रै हुंदैन, त्यो देशको विवाद बन्न पुग्छ । व्यवस्था र पद्धतीको विवाद हुन पुग्छ । शायद त्यही कुराको कल्पना गरेर हुनुपर्छ नेपालको संविधानले नै ती प्रधानमन्त्री वाहेक अन्य प्रमुख पदका व्यक्तिहरुलाई पार्टीगत राजनीति गर्ने छुट दिएको छैन । ती पदमा नियुक्ति भएपछि आफूले सम्हालेका पार्टीका पदहरुबाट मात्र होइन, सदस्यतासमेत त्याग्नु पर्ने वाध्यकारी व्यवस्था गरेको छ । त्यसको मर्म भनेको ती पदमा आशिन व्यक्तिहरु राजनीतिक आरोप, प्रत्यारोपबाट मुक्त भएर, राजनीतिक संकिर्णताबाट मुक्त भएर सिंगै देशको भलो गर्न सकुन भन्ने हो ।
तर, पछिल्ला घटनाक्रमहरु हेर्दा राष्ट्रपति, उपराष्ट्रपति र सभामुख तथा प्रधानमन्त्री जस्ता उच्च पदमा पुगेका व्यक्तिहरुले पार्टी मात्र होइन, गुटको सदस्यकै रुपमा काम गरिरहेको देखिन्छ । त्यस्ले ती व्यक्तिहरुको हैसियत मात्र घटाइदिएको छैन, नेपालको राष्ट्रिय गरिमा नै घटाइदिएको छ । नेपाललाई विश्वले हेर्ने दृष्टिकोण नै परिवर्तन गर्न थालेको छ ।
भनिन्छ, कसैले आफूलाई नमस्कार गरोस् भन्ने चाहाने हो भने आफूले पनि अर्कालाई नमस्कार गर्न सक्नुपर्छ । त्यसो भन्नुको अर्थ अर्काेलाई सम्मान गरे पछि नै आफूले पनि पाइन्छ । आफूले अर्काेको सम्मान गरिदैन भने अर्काेले पनि आफूलाई सम्मान गर्दैन । मौका पाउना साथ तिरस्कार गर्छ र जब अभिभावकहरुले त्यसो गर्छन्, त्यसको असर सन्तानहरुमा पनि पर्छ । संवैधानिक अंगका प्रमुखहरु भनेका देशका अभिभावक हुन् ।
जब उनीहरुले नै सम्पूर्ण सीमाहरु नाघेर एक अर्कामा आरोप प्रत्यारोप गर्छन्, तब त्यसको असर नागरिकहरुमा पर्छ । नागरिकहरु पनि उनीहरुको बोलीमा स्वर मिलाउंदै एक अर्काेमा आरोप, प्रत्यारोप र वहसमा उत्रिन्छन् । त्यसले सिंगै देश मानसिक रुपमा विभाजित हुन पुग्छ । अहिले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखबीचको आरोप, प्रत्यारोपले त्यही भैरहेको छ । खासगरि देशका कर्णाधार मानिने युवाहरु समेत एक अर्कामा विभाजित हुन पुगेका छन् । रामकुमारी झांक्री वा महेश वस्नेतहरुका बोली बचनहरु केवल संकेत मात्र हुन, अहिले संवैधानिक रुपमा उच्च पदमा बसेका महामहिमहरुको बोली, बचन र व्यवहारहरुको सिको गर्दै देशभरका मानिसहरु एक अर्काेमा अशिष्ट पाराले आरोप प्रत्यारोप गरिरहेका छन् । त्यसले केवल, २,४ महिना वा २,४ वर्ष मात्र होइन, पुस्तौ पुस्तालाई मानसिकरुपमा विभाजित गरिरहेको छ । उनीहरुको आरोप प्रत्यारोपले लोकतान्त्रिक गणतन्त्रको भविश्यमाथि मात्र होइन, देशकै अखण्डता र भविश्यमाथि प्रश्न उठिरहेको छ ।
आम नेपालीलाई राष्ट्रपति ठीक कि उपराष्ट्रपति, प्रधानमन्त्री ठीक कि सभामुख त्यो चासोको विषय होइन, चासोको विषय ती पदमा आशिन व्यक्तिहरुका कारण सृजना हुने परिस्थिति हो । त्यसैले लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वभाविमानमा आंच पुग्ने काम, कारवाही गर्ने अधिकार र छुट कसैलाई छैन । त्यसैले पदको गरिमा र हैसियत कायम गर र मुख सम्हालेर बोल महामहिम ।