काठमाडौं । नेकपा नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको जंगली प्रवृत्ति खारेज गर्नुपर्ने बताएका छन् । दाहाल नेपाल पक्षले प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँमा गरेको विरोध सभालाई सम्बोधन गर्दै श्रेष्ठले ओलीलाई प्रधानमन्त्री पदमा एक मिनेट पनि बस्ने अधिकार नभएको बताए ।
आफूहरु संविधान अन्तर्गतको चुनावको पक्षमा भएको श्रेष्ठको भनाई छ । उनले ओली नेतृत्वको सरकारले बैशाखमा हुने भनेर भनिएको चुनाव गराउनलाई घोषणा नगरेको पनि दाबी गरे ।
‘चुनाव घोषणा गरेर लोकतन्त्रवादी हामी भन्दै सरकारी पार्टीले स्याल हुयाइँ गरेको छ । तर, कुन चुनाव ? संविधान लागू गर्ने चुनाव ?, संविधानलाई घात गर्ने चुनाव ? संविधानलाई अपहरण गरेर गर्ने चुनाव हामीलाई चाहिएको छैन, हामी पनि चुनावकै पक्षमा छौँ, लोकतन्त्रको रक्षा गर्न चुनाव चाहिन्छ ध्वस्त गर्न होइन । यो घोषणा चुनाव नगर्न घोषणा गरिएको हो ।’ श्रेष्ठले भने ।
उनले आफूहरु सरकारको असंवैधानिक कदमविरुद्ध संयुक्त संघर्षको गर्ने प्रयास गरे पनि हुन नसकेको बताए।