सरकारले कोरोना विरुद्धको खोप दिन शुरु गरेको छ । अहिले सबैभन्दा जोखिममा रहेका भनिएका जन स्वास्थ्यकर्मीहरुलाई दिन शुरु गरिए पनि क्रमिकरुपमा सबै मानिसहरुलाई दिइने घोषणा गरिएको छ, जुन आफैमा स्वागतयोग्य हो ।
आशा गरौं–कोरोनाको खोप समय नेपाली नागरिकले यथासक्य छिटो पाउन र यो माहामारीबाट मुक्ति मिल्न सकोस् । कोरोनाबाट विश्वले कहिलेसम्ममा मुक्ति पाउला ? यकिन छैन । कोरोनाका नयां नयां प्रकृति र शैलीहरु देखा परिरहेका छन् । खोपको विकास हुदैं गैरहेको एकातर्फ त्यो नियण्त्रण हुने संभावना देखिदैं गैरहेको छ भने अर्काेतर्फ नयां नयां प्रकृतिको भाइरसहरु देखा परिरहेकोले जोखिम पनि त्यत्तिकै देखिइरहेको छ ।
त्यहीकारण आफ्ना नागरिकहरुलाई कोरोनाको खोप धमाधम दिइरहेका खास गरि युरोपेली देशहरुले कडा लकडाउन गरिरहेका छन् । लकडाउन नगरिरहेका देशहरुमा पनि विभिन्न खालका प्रतिवन्ध र सावधानीहरु अपनाइएको छ ।
तर, नेपाल, भारत जस्ता विकासोन्मुख देशहरुले राजनीतिको क्षणिक स्वार्थको लागि कोरोना भाइरसको जोखिमलाई नियन्त्रण गर्नुको साटो बढाइरहेका छन् । नेपालको सन्दर्भमा कुरा गर्दा प्रतिनिधि सभा विघटन पछि राजनीतिक अवस्था एकाएक गर्माएको छ । र, राजनीतिक पार्टीहरुले आ–आफ्नो स्वार्थको लागि स्वास्थ्य सुरक्षाका लागि अपनाउनै पर्ने सामान्य मापदण्डहरुलाई पनि धज्जी उडाउंदै भेला, जुलुस गरिरहेका छन् ।
राजनीतिमा विरोध वा समर्थनमा भेला जुलुस गर्नु सामान्य कुरा हो । संविधान प्रदत्त नागरिक अधिकार हो । त्यसैले अरु बेला भएको भए प्रतिनिधि सभा विघटन पछि समर्थन वा विरोधमा जुलुस, भेला गर्नु सामान्य मानिथ्यो । तर, अहिले महामारी नियन्त्रण भैसकेको छैन । बरु नयां नयां रुपमा देखिदैंछ । यस्तो बेला विगतको सामान्य अवस्थामा जस्तो दैनिक रुपमा गरिने जुलुस, भेला, लगायतका सार्वजनिक कार्यक्रमहरुले स्थितिलाई अरु डरलाग्दो बनाएको छ । र, कुनै पनि बेला महामारी सम्हालिनै नसक्ने अवस्थामा पुग्न सक्छ । जनस्वास्थ्य विद्हरुले त्यो खतरा औंलार्इं रहेका छन् । तर, त्यसबारेमा न त सरकारी पक्षले न त सरकारको विरोधमा आन्दोलन गरिरहेको पक्षले नै ध्यान दिइरहेको छ ।
उनीहरुले कार्यक्रमको आयोजना गर्दा मानिसको भीड देखाउने भन्दा पनि स्वास्थ्य सुरक्षा अपनाएर सुरक्षित साथ कार्यक्रम प्रभावकारी बनाउन ध्यान दिने हो । त्यसको लागि मानिसको टाउको देखाउने अर्थात् भीड देखाउंदै कार्यक्रम प्रभावकारी भएको भन्ने बुझाईलाई त्याग्न सक्नु पर्छ । कुनै पनि विषयमा समर्थन वा विरोधको लागि केवल नागरिकको संख्या (मास) मात्रै आधार हुदैन भन्ने दृष्टान्तहरु विगतदेखि नै स्थापित भैसकेका छन् । त्यसैले अहिलेको जोखिमपूर्ण समयमा दिनहुं हजारौंको सभा जुलुस गरेर समर्थन वा विरोध गर्दा स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकता दिनु स्वंय आयोजक पार्टी तथा समुहहरु र देशको लागि नै राम्रो हुनेछ ।