काठमाडौँ । २०७५ फागुनदेखि व्यवसायिकरूपमा काभ्रेपलान्चोकको धुलिखेलमा जिपलाइन सुरू भएको हो । धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन छ ।
कोरोना महामारीले गर्दा सबै व्यवसाय अस्तव्यस्त भैरहेको बेला पर्यटन उद्यमममा आधारित जीपलाइनको अवस्था कस्तो छ भन्ने बारेमा वल्र्ड वाइड एड्भेन्चर प्रालिका संचालक प्रमुख कार्यकारी अधिकृत भुपेश श्रेष्ठसंग गरिएको कुराकानीको सारसंक्षेप
कोरोनाको कारण केही महिना बन्द गरेर जीप लाइन फेरि खोल्नु भएको पनि निकै समय भयो, अहिले व्यवसाय कस्तो छ ?
-कोरोना कहरले विश्व नै ठप्प भयो । त्यसैले हामीलाई पनि असर गर्यो । विस्तारै अवस्था ठीक हुंदैछ ।
कोरोनाले गर्दा व्यवसायमा कति घाटा खानु भयो ?
-हामीले २०७५ फागुनमा जीप लाइन शुरु गरेका थियौं । त्यसको करिब एक वर्षपछि कोरोनाको महामारीले विश्व नै थला पर्यो । हामीले जीप लाइनमा करिब साढे ५ करोड लगानी गरेका छौं । कोरोना महामारी नआएको भए अहिलेसम्म ‘ब्रेक इभन’मा आउन सक्ने अनुमान हामीले गरेका थियौं । कोरोनाले गर्दा डामाडोल भयो ।
अहिले जीप लाइनमा यात्रा गर्न कुनै विशेष सुरक्षाको उपाय अपनाउनु भएको छ कि जो जसरी आए पनि हुन्छ ?
-हामीले कर्मचारीको स्वास्थ्यमा विशेष ध्यान दिएका छौं । उनीहरुले पूर्णरुपमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएका हुन्छन् । यात्रुको हकमा धेरै भीडभाड नहुने गरि व्यवस्था मिलाइएको छ ।
जीप लाइनमा यात्रा गर्नेले कति शुल्क तिर्नु पर्छ ?
-क्लासिक, सुपरम्यान र टेण्डम (जोडी) गरी ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ । धुलिखेलको खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्ससहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायतका हिमाल समेत अवलोकन गर्न सकिनेछ । क्लासिक जिपलाइनको २ हजार ५ सय,सुपरम्यान जिपलाइनको ३ हजार पाँच सय, र टेण्डम (जोडी) जिपलाइनको ४ हजार ५ सय रुपैंया निर्धारण गरिएको छ । क्लासिक र सुपरम्यान जिपलाइनमा फोटो र भिडिओको लागि ७ सय रुपैयाँ तथा टेन्डम (जोडी) जिपलाइनमा फोटो र भिडिओको लागि एक हजार रुपैयाँ लिने गरिएको छ । ४० केजी भन्दा थोरै तौल भएका र १६ वर्ष भन्दा कम उमेरकालाई जीपलाइनमा यात्रा गर्न दिइदैन ।

विदेशी पर्यटक पनि आइरहेका छन् कि स्वदेशी मात्रै हो ?
-कोरोना महामारी शुरुभएपछि त विदेशी पर्यटक कहांबाट आउनु र ? अहिले त पूर्णरुपमा स्वदेशी पर्यटकमै निर्भर छ । स्वदेशीमा जीपलाइन प्रतिको आकर्षण निकै छ । त्यहीकारण हामी टिकेका छौं ।
जीपलाइनसंगै अरु के कस्ता सुविधा उपलब्ध गराउनु भएको छ ?
-जिपलाइनसँगै ट्रि अप रूखमाथि नै बसेर खान मिल्ने गरी बनाइएका रेस्टुरेन्ट पनि छ । त्यस्तै सुविधाजनक खालको रिसोर्ट छ । खासगरि बालबालिका खेल्ने, रमाइलो मनाउने गरि हामीले सबै कुराको सेटअप गरेका छौं ।
‘नयां भेन्चर’हरु पनि शुरु गर्दै हुनुहुन्छ कि ?
-कोरोना नआइदिएको भए त अहिलेसम्म शुरु गरिसक्ने लक्ष्य थियो । त्यसको लागि केही तयारी पनि गरेका थियौं । कोरोनाले सबै विथोलिदियो, अब अर्काे वर्षसम्म केही न केही नयां ‘भेन्चर’ पनि शुरु गर्छाैं भन्ने लागेको छ ।