काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलाई कुहिएको फर्सी भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
मंगलबार गण्डकी प्रदेशले आयोजना गरेको भेलामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली समूहमा लागेका पूर्व माओवादी नेताहरूलाई जनयुद्ध कुहिएकै फर्सी हो भनेर प्रश्न गरेका छन् ।
‘जनयुद्धमा लागेका साथीहरु जो उता जानुभएको छ । मलाई लाज लाग्यो । उहाँहरुले जनयुद्धलाई कुहिएको फर्सी भनेको कसरी सुन्न सकेको ?’ प्रचण्डले भने ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणको सहमति हुँदा समेत ओलीले जनयुद्धका उपलब्धी स्वीकार्ने विषयमा सहमति गरेको स्मरण गर्दै प्रचण्डले सोधे, ‘के त्यो केपी ओलीले हस्ताक्षर कीर्ते हो ? यदि त्यसो होइन भने यो बेइमानी हो । कोही पनि क्रान्तिकारीलाई यो स्वीकार्य हुँदैन ।’
तत्कालीन जनयुद्धमा सहभागी गृहमन्त्री रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट लगायत नेताहरू ओली समूहतिर लागेका छन् ।