काठमाडौं । नेपाल विद्युत प्राधिकरणले संखुवासभामा निर्माण हुने ३७.७ मेगावाटको इसुवा खोला क्यासकेड अर्धजलाशय (पिआरओआर) जलविद्युत् आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । प्राधिकरण र आयोजनाको प्रवर्द्धक इसुवा इनर्जी प्रालिबीच सोमबार पिपिएमा हस्ताक्षर भएको हो ।
सम्झौतामा प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कम्पनीका अध्यक्ष विक्रम विष्टले हस्ताक्षर गरेका छन् । पिपिएअनुसार प्राधिकरणले आयोजनाबाट उत्पादन हुने विद्युत हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र वर्षायाममा प्रतियुनिट ४.८० रुपैयाँमा खरिद गर्नेछ ।
इसुवा अर्धजलाशय आयोजना भए पनि नदी प्रवाही आयोजना सरह नै पिपिए भएको प्राधिकरण विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताए । आयोजनाले ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले पिपिएमा स्कालेसन पाउनेछ ।
यो आयोजना ९७.२ मेगावाटको इसुवा खोलाको क्यासकेड आयोजनाको रूपमा हो । आयोजनामा लगानी जुटाउने विषयमा केही बैंकहरूसँग छलफल भइरहेको र उत्पादन अनुमतिपत्र लिने प्रक्रिया पनि अगाडि बढाइएको कम्पनीका अध्यक्ष विष्टले बताए ।
प्रतिमेगावाट लागत करिब १३ करोड रुपैयाँ अनुमान गरिएको आयोजनाबाट २०८० साल चैत ३० गतेदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाले उत्पादन गर्ने विद्युत विद्युतगृहदेखि १५ किलोमिटर टाढा शीतलपाटी सबस्टेसनमा जोडिनेछ । आयोजनाले वार्षिक ६.१ गिगावाट विद्युत उत्पादन गर्नेछ ।