कोरोनाको कारण केही दिन अघि जेराल्ड पोस्टको निधन भयो । मृत्युपछि अमेरिकी गुप्तचर संस्था (सिआईए)ले उनलाई ‘अहिलेसम्मकै अतुलनिय क्षमताका व्यक्ति’ भन्दै श्रद्धान्जली दियो । विश्वका ठूला र प्रभावशाली भनिएका संचार माध्यमहरुले पोस्टको मृत्युलाई ‘कभर स्टोरी’ बनाए ।
हुन पनि पोस्ट त्यस्ता अद्भूत मान्छे थिए, जस्ले जीवतै रहेका नेताहरुले के सोंचिरहेका छन् भन्ने पत्ता लगाउंथे । ती नेताहरुलाई भेट्दै नभेटी आफ्नै अफिसमा वसेर उनीहरुको दिमागको अध्ययन गर्दथे । उनले खासगरि उत्तर कोरियाका किम जङ् इल र किम जोङ उन, क्युबाका फिडेल र राहुल क्यास्ट्रो, इराकका सद्दाम हुसेन र लिबियाका मुहामर अलगद्दाफी लगायत अमेरिकासंग प्रत्यक्ष सरोकार राख्ने भारत, चीन, बेलायत, रुस जस्ता देशका नेताहरुले के सोंचिरहेका छन् र अब के गर्छन भनेर अध्ययन गरेर रिपोर्ट तयार गर्दथे । त्यही रिपोर्टको आधारमा सिआईए र अमेरिकी सरकारले नीति बनाउंथ्यो ।
पोस्टले ‘हाई प्रोफाइल’ नेताहरुको दिमागि अवस्थाको कति सटिक विश्लेषण गर्दथे भन्ने कुरा राष्ट्रपति डोनाल्ड ट्रम्प बारे गरेको एउटा टिप्पणीले स्पष्ट हुन्छ । सन २०१७ मा द न्यूयोर्कर पत्रिकालाई दिएको अन्तरवार्तामा ट्रम्पको बारेमा पोस्टले भनेका थिए–उनको झोक्किने शैली र योग्यताबारे गम्भीर प्रश्न उठेका छन् । २०२० मा चुनाव हारेमा ट्रम्पले सहजै स्वीकार गर्ने छैनन् र चुनावको वैद्यतामाथि नै प्रश्न उठाउंदै बखेडा गर्नेछन् ।
ट्रम्पसंग उनको कहिल्यै राम्रो सम्वन्ध भएन । पछिल्लो समय उनले ट्रम्पको मनोवृत्तिबारे किताब लेखिरहेका थिए, कोरोनाको कारण किताब नसक्दै ८६ वर्षिय उनको निधन भयो ।
विश्वका दुई ठूला बजार र सामरिक दृष्टिले महत्वपूर्ण चीन र अमेरिकाको बीचमा हुनु वाहेक अमेरिकाको लागि संम्भवतः नेपाल कहिल्यै विशेष प्राथमिकतामा परेन । त्यहीकारण अमेरिकाले आफ्नो विदेश नीति बनाउंदा वा विश्लेषण गर्दा नेपाललाई ‘चीनको पोल्टामा जान नदिने’ भन्ने बाहेक अरु कुरालाई त्यत्ति महत्व दिंदैन । धेरै सन्दर्भमा उसले नेपाललाई ‘भारतीय चश्मा’ले हेर्छ ।
अनुमान गरौं, अमेरिकाले अरु प्रभावशाली देशका शासकहरुको जस्तै नेपाली शासकहरु, नेपाली नेताहरुको पनि जासुसी गर्दथ्यो र त्यसको जिम्मेवारी जेराल्ड पोस्ट जस्ता अनुसन्धानकर्ताहरुले पाउंथे भने के हुन्थ्यो होला ? निश्चय पनि उनीहरु समेत आश्चर्यचकित हुने थिए । अध्ययन गरेको भए पनि उनीहरुको लागि नेपाली नेताहरुको दिमाग ‘अनसल्भ्ड मिस्ट्री’ बन्ने निश्चित थियो र शायद कुनै निष्कर्षमा पुग्न सक्ने थिएनन् । किन ?
किनकी,
तपाई यस्सो विचार गर्नुस त...
यसै पनि ७ दशक उमेर भनेको जीवनको उत्तरार्ध हो । त्यसमाथि दुईवटा मृगौला फेरिएको छ । त्यसमाथि सन्तान छैनन् । श्रीमतीको पेन्सन पनि टन्नै आउंछ । दुई दुई पटक प्रधानमन्त्री भएकोले वांकी जीवन यापनको लागि कुनै तनाव छैन, सबै खर्च राज्यले बेहोर्छ । तर, पनि २,३ सय वर्ष नै वांच्छु कि जस्तो गरि सत्ताको लागि हदैसम्मका कृत्यहरु गर्न उत्साहित गराउने, आफ्नो र गुटको बाहेक अरुको भलो चिताउनै नसक्ने प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्माको दिमागमा के त्यस्तो विशेष तत्व होला ? यस्सो सोंच्नुस् त यस्तो दिमाग हुने नेता विश्वमा अरु कुनै देशमा होलान् ?
७ दशक उमेर पार गरेको छ । श्रीमती लामो समयदेखि थला परेकी छन्, दुई सन्तान युवा वयैमा विते । वांकी रहेका दुई छोरी र तिनका शाखा सन्तानलाई पुग्ने अकुत सम्पत्ति थुपारिदिएकै छ । दुई दुई पटक प्रधानमन्त्री भएकोले वांकी जीवन यापनको लागि कुनै तनाव छैन, सबै खर्च राज्यले बेहोर्छ । तर, पनि २,३ सय वर्ष नै वांच्छु कि जस्तो गरि सत्ताको लागि हदैसम्मका कृत्यहरु गर्न, पार्टी फुटाउन, नेता कार्यकर्ता लडाउन, विवादास्पद व्यापारीहरुसंग सांठगांठ गरेर आफ्नो स्वार्थ पुरा गर्न गराउन उत्साहित गराउने, आफ्नो र परिवारको बाहेक अरुको भलो चिताउनै नसक्ने पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डको दिमागमा के त्यस्तो विशेष तत्व होला ? यस्सो सोच्नुंस त यस्तो दिमाग हुने नेता विश्वमा अरु कुनै देशमा होलान् ?
७ दशक उमेर पार गरेको छ । राणाकी सन्तान भएकोले यसै पनि श्रीमतीको ‘दाइजो’ नै अकुत छ । त्यसमाथि विसं २०४८ यताका हरेक ठूला घोटाला प्रकरणको नेतृत्व गरेकोले तिनीहरुबाट आउने हिस्सेदारीको कुनै हिसाब नै छैन । सन्तानको नाममा रहेको एउटा छोरोलाई हिसाब गर्नै नसकिने गरि सम्पत्ति थुपारिदिएको छ । पटक पटक प्रधानमन्त्री भएकोले वांकी जीवनयापनको लागि कुनै तनाव छैन, सबै खर्च राज्यले बेहोर्छ । तर, सत्ताको लागि हदैसम्मका कृत्यहरु गर्न, पार्टी फुटाउन, नेता कार्यकर्ता लडाउन, विवादास्पद व्यापारीहरुसंग सांठगांठ गरेर आफ्नो स्वार्थ पुरा गराउन उत्साहित गर्ने गराउने, आफ्नो र परिवारको बाहेक अरुको भलो चिताउनै नसक्ने पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको दिमागमा के त्यस्तो विशेष तत्व होला ? यस्सो सोंच्नुस त यस्तो दिमाग हुने नेता विश्वमा अरु कुनै देशमा होलान् ?
राजनीति गरेपछि सत्ता र शक्तिप्रति आशक्ति हुनु स्वभाविक हो । एउटा सिमासम्म त्यसको औचित्यता कायम रहन्छ । यहां कुनै अमूक पार्टी र नेताप्रति आग्रही वा पूर्वाग्रही हुन खोजिएको होइन, तर, नेपाली नेताहरुको सत्ताप्रतिको आशक्ति अचम्मैको छ । उदाहरणको रुपमा दिइएका यी तीन नेता मात्र होइन, नेपालका अधिकांश नेताहरुको अवस्था उस्तै छ । खासगरि माथिल्लो पदमा पुगेका नेताहरुमा त सत्ता र आशक्ति यति छ कि भनिसाध्य छैन । संभवतः रोबर्ट मुगाबेको मृत्युपछि सत्ता र शक्ति प्रति यति साह्रै आशक्त भएकाहरु राजनीतिमा टिक्न सकेका छैनन् । निरंकुश र जहानिया शासन भएका देशहरुमा वाहेक कुनै पनि लोकतान्त्रिक मुलुकमा यति साह्रै लिच्चड पाराले नेताहरु कुर्सीमा टांसिएका हुंदैनन् । कतिपय व्यक्तिहरु अमेरिकाका निर्वाचित राष्ट्रपति जो वाइडन लगायतका केही नेताहरुको उमेरलाई लिएर ‘त्यहां त त्यस्तो छ भने हाम्रो देशमा पनि ७ दशक उमेर पार गरेका नेताहरुको पदलोलुपता स्वभाविक भएको’ बताउने गर्छन् । तर, त्यो तर्कभन्दा पनि कुर्तक हो । किनकी अमेरिकामा राष्ट्रपति–उपराष्ट्रपति जस्ता कार्यकारी पदहरुमा दुई कार्यकालभन्दा बढी उठ्नै पाइदैन । नेपालमा जस्तो निर्वाचन हारे पनि चोरबाटोबाट संसदमा छिर्न र मन्त्री प्रधानमन्त्री बन्न त्यहां सकिदैन । आफ्नो मुड चलेको बेला अध्यादेश ल्याएर संविधान संशोधन गर्न र विधि प्रकृयालाई ‘धोती लगाइदिन’ त्यहां पाइदैन । त्यसैले साढे सात दशक उमेर पार गरेपछि राष्ट्रपति बने पनि वाइडनले कहिले सत्ता छोड्छन् भन्ने स्पष्ट छ । राजनीतिक रुपमा जति नै विवाद भए पनि त्यहां संविधान र कानुनमाथि कसैले ‘छेडखानी’ गर्दैन । हाम्रोमा ३,४ जना नेताहरुको स्वार्थ मिलेपछि संसार बदलिन्छ । छोरीलाई मेयर बनाउन, ‘सासु मुवा’लाई राजदूत बनाउन, आफ्नो ‘क्यासियर’लाई मन्त्री बनाउन नियम, कानुन, पद्धतीको हुर्मत लिइन्छ । कानुनी शासन व्यवस्थाको धज्जी उडाइन्छ ।
निश्चय पनि अहिले कुर्सीको लागि हदैसम्मको नीचता प्रर्दशन गरिरहेका प्रमुख पार्टीको उच्च तहमा रहेका अधिकांश नेताहरुले निरंकुशता विरुद्धको आन्दोलनमा राम्रै भूमिका निर्वाह गरेका हुन् । जेलनेल भोग्नेदेखि कठोर भूमिगत जीवन पनि विताएका हुन् । अघिल्लो पुस्ताका नेताहरुले देश र जनताको लागि जुन संघर्ष गर्यो, त्यसको कुनै मूल्य छैन । के अहिलेका कुनै युवा देश र जनताको लागि केपी ओली र रामचन्द्र पौडेलहरु जस्तो १२,१४ वर्ष कठोर यातनासहित जेलनेल भोग्न तयार हुन्छ ? प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, शेरवहादुर देउवा, प्रकाशमान सिंहहरु जस्तो कठोर भूमिगत जीवन विताउन तयार हुन्छ ? आवेशमा आएर कसैले म तयार छु भन्नु बेग्लै कुरा अन्यथा अहिलेको युवा पुस्ता देशको लागि वर्षाैं होइन, निस्वार्थरुपले २,४ महिना दिन पनि तयार छैन । त्यो आधारमा हेर्ने हो भने अहिले सत्ताको लागि मरिहत्ते गरिरहेका पहिलो पुस्ताका नेताहरुले गरेको संघर्ष र योगदान अतुलनिय छ भन्नेमा शंका छैन ।
तर, त्यो योगदानको ‘व्याज’ नेताहरुले कहिलेसम्म खाने ? अमरसिंह थापा र भक्ती थापाहरुले अंग्रेजसंग लडेको भरमा आजसम्म पनि बिर गोर्खालीको सन्तान भनेर अंग्रेजहरुबाट व्याज असुल गरेझैं, विपी–गणेशमान, पुष्पलाल–मदन भण्डारी र राजा महेन्द्र र विरेन्द्रको तस्विर बेचेर कहिलेसम्म राजनीतिको व्यापार गरिरहने ? कतिपुस्तासम्म तिनका सन्तान भनेर ‘व्याज’ खाइरहने ?
नेकपा विवादमा ओली ठीक कि प्रचण्ड–नेपाल ठीक ? कांग्रेसको विवादमा देउवा ठीक कि रामचन्द्र वा कोइरालाका सन्तान ठीक ? त्यो आम जनताको लागि त कुरा छोडौं ती पार्टीकै अधिकांश नेता कार्यकर्ताको लागि पनि चासोको विषय होइन । किनकी सिद्धान्त, प्रकृया, नियम कानुन, संवैधानिक मूल्य मान्यताको कुरा जति उठाए पनि अहिले राजनीतिक पार्टीहरुमा देखिएको झगडाको मूल कारण फगत पद मात्रै हो भन्नेमा शायदै कसैलाई भ्रम होला । आफूले पद पाए जस्ता सुकै कृत्यहरु पनि ठीक हुने र आफू वाहेक अरु कोही भए वेठीक मान्ने निरंकुश मानसिकताको उपज नै अहिलेको राजनीतिक लडाई हो । ओली नेतृत्वको सरकारले थुप्रै गलत कामहरु गरेको छ, कतिपय सन्दर्भमा भ्रष्टाचार र आर्थिक अराजकताले रेकर्डहरु नै कायम गरेका छन् । तर, नेकपाको वैठकमा कहिल्यै त्यो एजेण्डा बन्यो ? तिनै तहका सरकारहरुमार्फत भए गरेका कामहरुको समिक्षा गर्ने, दोषिलाई दण्डित गर्ने र इमान्दार तथा कार्यकौशलता भएका पदाधिकारीहरुलाई प्रोत्साहित गर्ने काम कहिल्यै भयो ? माधव–प्रचण्ड पक्षले कहिल्यै पार्टीका वैठकहरुमा यी विषयमा कुरा उठायो ? घोषणा पत्र कार्यान्वयनको कुरा कहिल्यै उठाइयो ? त्यस्तो त कहिल्यै सुनिएन ।
उखु किसानहरु माइतिघरमा रोएर बसिरहेका छन्, कोरोनाको कारण देशभरका श्रमिकहरुको बेहाल भएको छ । किसान र श्रमिकको नाममा राजनीति गरिरहेको दावि गर्नेहरु तिनीहरु विचल्ली हुंदा कतिपटक सडकमा आएर सरकारलाई दवाव दिए ? आफू र आफू निकटका व्यक्तिहरु विभिन्न राजकिय पदहरुमा हुंदा प्रभावकारीरुपले सेवा प्रवाह गर्नको लागि कति काम गरियो ? त्यसको प्रतिफलको मूल्यांकन कसरी गरियो ?
प्रश्न अमूक गुट र नेता प्रति होइन तथाकथित मूलधारको राजनीति गर्छाैं भन्ने हरेक पार्टी र तिनका नेताहरु प्रति छ । निश्चय पनि अहिलेको लागि सबैभन्दा धेरै प्रश्न नेकपाका दुई गुटका नेताहरुप्रति छ । किनकी विकास र समृद्धिको सपना बेचेर बनाइएको झण्डै दुई तिहाईको सरकार आपसी मारामार गरेर नै निकम्मा बनाइयो । अहिले पार्टी विभाजन भएपछि त कम्तिमा विकासको एजेण्डालाई अगाडी सार्नु पर्ने होइन ? १५ वर्ष पार्टीमा हैकम चलाएका माधव नेपाल नै फेरि अध्यक्ष हुनु पर्ने किन ? ३५,४० वर्षदेखि पार्टी प्रमुख रहेका दाहाल नै अध्यक्ष हुनु पर्ने किन ? देश र जनताको लागि राजनीति गरेको दावि गर्ने माधव नेपाल र पुष्पकमल दाहालले बेला यही हो भनेर सहजतापूर्वक नेतृत्वको लागि घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, योगेश भट्राई, जनार्दन शर्मा, वर्षमान पुनहरुलाई अगाडि सार्नु पर्ने होइन ? देउवा र रामचन्द्र पौडेलको त के कुरा ? पटक पटक युवा नेतालाई पार्टीको नेतृत्व दिनु पर्छ भनेर गफ गर्ने प्रधानमन्त्री ओलीले सरकार म चलाउंछु, पार्टी तिमीहरु चलाउ भनेर विष्णु पौडेल, शंकर पोख्रेल, प्रदिप ज्ञवालीहरुलाई छोड्न किन नसक्ने ? त्यसको लागि तिथि मिति र भाका किन तोकिरहने ? के प्रमुख नेताहरुको तस्विरमा माल्यार्पण नगर्दासम्म अरु नेताहरुको पालो नआउने हो ? के नेताहरुको आयु घटाइदेउ भनेर भैंसी पुजा गर्दै यमराजको भाकल गर्नु पर्ने हो ? होइन भने हाम्रा नेताहरुले अवकाश कहिले लिने ?
अन्त्यमा युवा नेताहरुप्रति प्रश्न
यो पार्टी वा त्यो पार्टी, यो समुह वा त्यो समुह भन्नु नै बेकार हो । कतिपयले अलि बढी लेख्यो भन्ने लाग्न सक्छ, तर वास्तविकता के हो भने अहिलेको अवस्थामा नेपालको हरेक राजनीतिक पार्टी, संघ संस्थाको तथाकथित पहिलो पुस्ता लोभी, पापीहरुको झुण्डमा रुपान्तरण भैसकेको छ, जो यमराजले निम्तो पत्र पठाउंदा पनि पद र पैसाको आशक्तिले ग्रसित छ । र, दुर्भाग्य के छ भने त्यसको प्रभाव युवा नेता भनिएकाहरुमा पनि देखिन थालेको छ । आफ्ना अग्रजहरुले गरेका गल्ती कमजोरीलाई सच्याएर, उछिनेर फड्को मार्नु पर्नेमा युवा नेताहरु पनि तथाकथित पहिलो पुस्ताका नेताहरुको पदचापमै हिड्न थालेका छन् । यदि हिजोका दिनमा विपी, गणेशमान, गिरिजा प्रसाद, पुष्पलाल, मदन भण्डारी, स्वंय अहिलेका ओली प्रचण्ड, माधव झलनाथ, देउवा, रामचन्द्र, निधी लगायतका नेताहरुले पुरानो पुस्ताको विरासतलाई मात्रै निरन्तरता दिएको भए अहिलेको परिवर्तन संभव हुन्थ्यो ? यो प्रश्नको जवाफ अहिलेका युवा नेता भनिएकाहरुले खोज्नु पर्ने होइन ?
यदि होइन भने अब कम्तिमा ७० वर्ष उमेर पुगेका नेताहरुलाई पार्टी र कुनै पनि राजकिय पदहरुमा वस्न नपाउने गरि संविधानमै व्यवस्था गर्नको लागि एउटा अभियान शुरु गर्नु पर्छ । हरेक पार्टीमा ७० वर्ष उमेर पार गरेका नेताहरु सल्लाहकार बन्न सक्ने तर कार्यकारी पदमा रहन नपाउने व्यवस्था नगर्दा सम्म नेपालको राजनीतिमा बुढाहरुको वितण्डा रोकिने छैन र समृद्ध नेपाल, सुखी नेपालीको नारा पनि फगत नारामा मात्र सिमित हुनेछ ।