धनगढी । काम विशेषले महेन्द्रनगर यात्राको लागी घरबाट हिनेकी थिएँ , “कहाँ सम्म जाने हो ?” ‘क्याम्प’ चोक पुग्न नपाउँदै अटो वालाको हानथाप । “म बस मा जाने हो” भनेर अगाडी बढेँ । बस आइपुग्न अझै एक घण्टा बाँकी थियो बसको पर्खाइमा प्रतीक्षालयमा गएर बसेँ । धेरै थिए बसको पर्खाइमा बसेका, अटोवाला सोध्न आएको आएइ २० रुपैयाँ कम दिनु ३० कम दिनु भनेर । कतिपय अटोमा गए पनि कोही पर्खाइमै थिए ।
केहिबेरमा बस आयो हतार–हतार धकेल–पकेल गर्दै सबै जना बसमा चढ्यौँ । शुक्लाफाटा राष्ट्रिय निकुञ्ज भएर यात्रा सुरु हुने भएकाले केहिबेर रोकिएको बस इन्ट्रिपछि गन्तव्य स्थल तर्फ दौडिन सुरु भयो । “ओ होहो यो धुलो, खाल्डा पनि कति हुन्” एक जना आन्टी कराइन् । उनको कुरा सुनेर एक जना बुढी आमाले भनिन् “अहिले धुलो र खाल्डो त यहाँ निर मात्र हो,अगाडी सबै ग्राभेल छ बाटो बन्दै छ ।
पहिलेको यो बाटो सोच्दा त घरबाट माइत जान नि मन लाग्थेन गाडी पल्टेला भन्ने डर । कहिले बस पल्टिने, मोटरसाइकल ठोकिने, ट्रयाक्टर नहरमा खस्ने, ठुला गाडी भासिएर बाटो बन्द हुने यस्ता धेरै दुर्घटना भएका छन् । कति मरेको घाइते भएको समाचार सुनिन्छ । धुलो त कति हो कति वर्षामा हिलै हिलो, अगाडीको त्यो खोला भरिएर बगाउला भन्ने डर वार–पार गर्नै मुस्किल अहिले यत्तिको भाछ, तर पक्की बाटो बनेको त देख्न पाउँदिन होला । ”
लगातारको यात्रामा गाडी ग्राभेलका ढुङ्गामा तँछाडमछाड गर्दै जङ्गलको बिच सम्म पुगेको थियो,यत्तिकैमा एउटी फुच्चीले झ्याल बाहिर देखाउँदै “मम्मी उता हेर्नु त के हुन् ?” सबैले बाहिर हेरे आहा ! मृगको बथान जङ्गल छेउको चउरमा चरी रहेको देखियो । यस्तो बथान मैले पहिले पनि देखेकी थिएँ गाडीको आवाजले त्यो बथान जङ्गलतिर दगुरेको थियो आज नि त्यस्तै भयो, सबै मृग जङ्गलभित्र दगुरे । यो सबै देखेर एक जना अङ्कलले भने “यो जङ्गल छेउमा जनावरहरू देखिरहन्छन्, हात्ती, मृग, बँदेल अरू पनि एक दिन यो बाटो हुँदै बाइकमा गइरहेका थियौँ हात्तीले बाटो रोकेका थिए । यो नहरमा पानी पिउन घाम ताप्न जनावरहरु बाहिर आउने आइरहन्छन् ।”
यत्तिकैमा अगाडी बाट ट्रक आयो बसको नजिक पुग्ने बित्तिकै सारा धुलो उडेर गाडी भित्र पस्यो । भित्र बसेका मान्छे आँखा मुख र टाउको छोप्न थाले । पछाडि देखि मोटरसाइकलमा आइरहेका मान्छे नै नचिने गरि उडेको धुलो देखेर एक जना दाइले आफ्नो एक घटनाको सम्झना गर्दै भने “एक हप्ता अगाडी घरमा कसैलाई नभनेर म बाइकमा बेलडाँडी गएको थिएँ घरमा पुग्ने बित्तिकै श्रीमतीले सोधिन्,‘बेल्डाँडी जानु भाथ्यो र ? मैले मनमनै सोचेँ मैले त भनेको थिएन कसरी थाहा भएछ अनि सोधे गाथेँ कसरी थाहा पाएउ र उनले हाँस्दै भनिन् “यसरी धुलै धुलो भएर त बेलडाँडी बाट मात्र आउँछन्”।” दाइको कुरा सुनेर सबै जना हाँस्न थाले ।
जाँदा–जाँदै खोला सम्म पुगियो गाडी डगमगाउँदै हुत्तियो सबै जना डराएका देखिन्थे बल्ल–तल्त खोला पार भयो । एक जना आन्टीले अर्काे घटना स्मरण गर्दै भनिन् “वर्षामा यो खोला तर्न कति गाह्रो हुन्छ गाडी जाँदै जाँदैन बाटो चिप्ला भएर लड्ने डर धेरै हुन्छ,उनले थपिन्,‘एकचोटी हामी घर जाँदै थियौँ २ जना बाइकमा बजार देखि घर गइरहेका थिए यहि खोलामा मोटरसाइकल चिप्लिएर हिलोमा खसे दुइटैको मुख भरी हिलै हिलो भएको थियो पछाडि बसेकाको हात भाँचिएछ हात चलिरहेको थिएन उ अचेत अवस्थामा थियो, अर्काे बाइकमा आएको मान्छेलाई समात्न लगाएर अस्पताल तिर लगेका थिए । यस्ता धेरै घटना घटिरहन्छन् धेरै गाह्रो छ यो बाटो हिँड्नै डर लाग्छ ।”गफगाफ गर्दै राष्ट्रिय निकुञ्जमा पर्ने बनबेहडा चेक पोष्ट पुगियो । इन्ट्रीको लागी केहिबेर रोकियो गाडी । आर्मी आएर सामान कसको हो? भन्दै चेक गरे जस्तो गरेर गए । रोकिएको गाडी पुनः अगाडी बढ्यो आफ्नो गन्तव्य तिर ।
चेकपोस्टको अलि अगाडी पुगेपछि चौधरा नदी तर्नुपर्ने भयो बर्षयाममा पानी भरिएर आवत–जावत बन्द भएपनी अहिले पानी कमै थियो, तर नदीमा ढुङ्गा भएको कारण गाडी अनियन्त्रित भएर पल्टिने सम्भावना थियो । नदी तरी रहँदा बिचमा गएर अड्कियो गाडी सबै डराएर जोरले समाती रहेका थिए बसमा । बल्ल–तल्ल पार गरियो । यो सब देखेर एक जना अङ्कलले दुखी हुँदै भने “हे भगवान् यो पुल अहिले सम्म बन्न सकेको छैन पुल बन्छ भन्ने सुनेको १० बर्ष जति भयो होला सुरु मात्र गरेको छ,अब मलाइ लाग्दैन कि म यो मा हिँड्न पाउँछु होला, तर पनि आस न हो नाति–नातिनी त हिँड्न पाउँथे, पुल बनेको भए कति सुविधा हुन्थ्यो होला यहाँका नागरिकलाई ।
काम विशेषले महेन्द्रनगर नगई नहुने हुन्छ। वर्षामा यो नदीमा पानी भरिएर नदी तर्न पैसा तिर्नुपर्ने बाध्यता, अझ धेरै नै पानी भरियो भने त ओहोरदोहोर गर्नै मिल्दैन पानीको बहाव दरो भएर बग्ने डर, जति सुकै महत्त्वपूर्ण काम भए पनि घर फर्किनु बाहेक विकल्प हुँदैन ।” अङ्कलको कुरा सुनेर बिरे दाइले भने,“हो त यो पुरा बाटो नै खराब छ, बर्षायाममा बाटो र यो नदीमा कति मान्छे चिप्लिएर लडेका छन् ।
यो दैजी बेलडाँडी सडक खण्डको १ पटक भएको ठेक्का सम्झौताको म्याद सकिएर दोस्रो पटक म्याद थप भएको थियो दोस्रो पटकको म्याद पनि सकिन लागेको सुन्छु, कसको कमजोरी हो के गर्दै छन् खै ! यो नदी यहाँको बाटोमा कति दुख खेप्नु परेको छ यहाँका नागरिकले । एक पटक डेरीकालागी गाउँ देखी दूध लिएर महेन्द्रनगर जाँदै गर्दा यो नदीमा राकेश दाइको मोटरसाइकल पल्टिएर दूध जति सबै पोखिएको थियो धन्न मान्छेलाई केहि भएन, यो सडक बनेको भए त समयमै गन्तव्यमा पुगिन्थ्यो, दुर्घटना हुने थिएन, भाडा पनि कम लाग्ने, जङ्गलको शीतलताको आनन्द लिँदै साथी सँग रमाइलो गरेर साइकलमा पनि जान सकिन्थ्यो, अनि सबै भन्दा ठूलो कुरा त गाउँमा उत्पादन हुने र सहरमा मिठाइ पसल तथा उद्योगमा आवश्यक पर्ने कृषि उपज जस्तै दूध, साग तरकारी, मासुका लागी कुखुरा,खसी बाख्रा सजिलै बजार पु¥याउन सकिन्थ्यो र गाउँमा आवश्यक पर्ने सहर बजारमा उपलब्ध हुने कृषि सामग्री, यन्त्र उपकरण, खाद्यान्न, कपडा, किरानाका सामान, घरमा दैनिक रुपमा प्रयोग हुने बिजुली तथा हार्डवेयरका सामान सहज र सुपथ मूल्यमा गाउँमा उपलब्ध गराउन सकिन्थ्यो,यसले ग्रामीण र सहर क्षेत्र बिच सम्बन्ध विस्तार गरी त्यहाँका नागरिकको दैनिकी सहज हुने थियो।’’
यस्तैमा महेन्द्रनगर बसपार्क पुगिएको पत्तै भएन, कन्डक्टरले पुगियो झर्नुस् भनेपछि सबै जना आ–आफ्नो गन्तव्यमा लागे । क्याम्प चोक देखि जङ्गलको बाटो १८ किलोमिटर छ, २२ किलोमिटरमा मेन रोडमा पुगिन्छ । साँच्चिकै सुन्दर छ यो ठाउँ प्राकृतिक दृष्टिकोणले भरिभराउ पर्यटन विकासको ठूलो सम्भावना बोकेको शुक्लाफाटा राष्ट्रिय निकुञ्ज,यसभित्र पर्ने कालिकिच लगायतका बिभिन्न तालहरू ।
अनि बेलडाँडी देखि दैजी सम्मको यात्राको क्रममा पर्ने बाटो वरिपरिको जङ्गल, बाटोको छेउमा कलकल बग्ने नहर, मौसम अनुसारका चरा, जनावरको झुन्ड देख्न पाउनुले मनै आनन्दित बनाउँछ । बाटोको सुविधा भएको भए कम खर्चमा समयमै गन्तव्य स्थल पुगिने थियो । तर दैजी बेलडाँडी सडक खण्ड निर्माण सम्झौताको ५ बर्ष नाघी सक्यो तर काम भने देखिएको छैन । जसका कारण स्थानियसास्थी खेप्न बाध्य छन् ।
(यो कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने दैजी–बेलडाँडी सडक खण्डको दुर्दसा हो, मंसिर २८ गते कञ्चनपुर यात्राका क्रममा सार्वजनिक बस भित्र भइरहेको संवाद र त्यहाँबाट देखिएको दृश्यलाई हामिले यहाँ प्रस्तुत गरेका छौँ ।)