देशको स्थिति लथालिंग भैरहेको छ । कोरोना महामारी नियन्त्रण हुन सकेको छैन, सर्वसाधारण उपचार नपाएर घरमै मरिरहेका छन् । कृषि क्षेत्रको अवस्था लथालिङग छ । उखु किसानहरु आफ्नो विक्री गरेको समानको मूल्य समेत नपाएर सडकमै आएका छन् । सरकारले किसानलाई राहत दिनुको साटो उद्योगमन्त्री लेखराज भट्ट स्वंयले आन्दोलित किसानलाई नै दलालहरु भन्दै किसानको पिडामा नुन चुक छर्कने काम गरिरहेका छन् ।
आर्थिक क्षेत्र तहस नहस भएको छ । सरकारले कर उठाउन जति जोड दिएको छ, त्यसको सदुपयोगमा कुनै ध्यान दिएको छैन । त्यसले गर्दा भ्रष्टाचार र आर्थिक अराजकता तीब्ररुपमा बढिरहेको छ । प्रधानमन्त्री लगायत सरकारी अधिकारीहरुले सुखी नेपालीः समृद्ध नेपालको नारा जति लगाए पनि वास्तविकता भने झन झन उल्टो हुंदै गैरहेको छ । प्रधानमन्त्री नजिकका भनिएका मन्त्रीहरुले सम्हालेका मन्त्रालयहरु नै भ्रष्टाचारका नयां अखडामा परिवर्तन भएका छन् ।
प्रधानमन्त्रीकै पार्टीको कुरा गर्ने हो भने त झन बेहाल छ । नेता कार्यकर्ताहरु एक आपसमै लडिरहेका छन् । यस्तो बेलामा सरकारले आफ्नो पार्टीका मात्रै होइन, विपक्षी पार्टीका नेता कार्यकर्ताहरुलाई समेत सहमतीमा लिएर काम गर्नु पर्नेमा प्रधानमन्त्री ओली भने राष्ट्रपतिको आडभरोसामा एक्लै शासन संचालन गर्न उद्यत देखिएका छन् । राष्ट्रपति साथमा भए अरु कोही चांहिदैन भन्ने पाराले अगाडि बढ्दा ओलीसंग अहिले आफ्नै गुटका नेताहरुसमेत विच्किन थालेका छन् । त्यसले गर्दा स्वंय ओली त एक्लिदैं गएका छन् नै त्यसले गणतन्त्रको मुटू मानिने राष्ट्रपतिलाई समेत विवादमा पारेको छ । र, लोकतान्त्रिक मूल्य मान्यताको समेत हुर्मत लिएको छ । यसरी प्रधानमन्त्रीको एकलकांटे निर्णयबाट देश अगाडि बढ्न सक्दैन । क्षणिक रुपमा यस्ले प्रधानमन्त्री ओलीले पार्टी भित्र र बाहिरका लागि विपक्षीहरुको लागि चुनौति दिएको जस्तो देखिए पनि त्यो गणतन्त्र र कानुनी शासन व्यवस्थाको लागि नै चुनौति हो । देशको भविश्यको लागि नै चुनौति हो ।
काम गर्ने क्रममा कहिले कांही कमजोरीहरु हुन्छ । गलत निर्णयहरु हुन पुग्छन् । यदि नियत खराब छैन, गलत त्यस्ता निर्णयहरु सच्याएर अगाडि बढ्नु सच्चा शासकको विशेषता हो । त्यसैले अहिलेको अध्यादेश केवल संवैधानिक रिक्ततालाई पूर्ती गर्ने उद्धेश्यले ल्याइएको हो र त्यसमा बाहिर चर्चा गरिएको जस्तो ओली र उनी निकट नेताहरुको गलत मनसाय छैन भने तुरुन्त फिर्ता लिएर सहमतीमै निर्णयमा पुग्नु राम्रो हुन्छ । अन्यथा अहिले जसरी मुढे पाराले अगाडि बढ्ने हो भने त्यसको परिणाम सकारात्मक आउने अपेक्षा गर्न सकिदैन ।