एजेन्सी । च्याम्पियन्स लिगमा फुटबलमा एट्लेटिको मड्रिड र बायर्न म्युनिखले बराबरी खेल्दै अंक बाँडेका छन् ।
गएराति भएको समूह एको खेलमा स्पेनिस क्लब एट्लेटिको र जर्मन क्लब बायर्न म्युनिखले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
प्रतियोगिताको साविक विजेता बायर्नसंगको बराबरीले एट्लेटिको मड्रिडमाथि दबाब थपिएको छ ।
उसले च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाउन समूहको अन्तिम खेल जित्नुपर्ने भएको छ । उसले समूह चरणको अन्तिम खेलमा रेलबुल साल्जवर्गसग खेल्नेछ ।
खेलको २६ औं मिनेटमा जोआओ फिलिक्सको गोलमा घरेलु टोली एट्लेटिकोले खेलमा अग्रता बनाएको थियो ।
खेल सकिन ४ मिनेट अघि थोमस मुलरले गोल गर्दै बायर्नलाई हारबाट जोगाएका थिए ।
जर्मन क्लब यसअघिनै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको छ ।
शीर्ष स्थानको बायर्नको १३ अंक छ । दोस्रो स्थानको एट्लेटिकोको ६, साल्जवर्गको ४ र लोकोमोटिभ मस्कोको ३ अंक छ ।