सत्तारुढ नेकपा भित्रको विवाद चरमोत्कर्षमा पुगेको छ । नेताहरु बीचको आरोप प्रत्यारोप अब हुलदंगा र हातहालको स्थितिमा पुगेको छ । चितवनमा माधव नेपाल पक्षका नेता सुरेन्द्र पाण्डे माथि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली निकट कार्यकर्ताले आक्रमणको प्रयास गर्दै कार्यक्रम नै विथोलेपछि स्थिति अरु गंभिर बनेको छ । नेकपा भित्रका सबैभन्दा सबैभन्दा शालिन, तर्कशिल र इमान्दार नेता हुन् पाण्डे । उनी जस्ता शालिन नेताका कुरा सुन्नसमेत नेकपाका कार्यकर्ताहरुले कस्तो नेतृत्वलाई महत्व दिन्छन् भन्ने स्पष्ट भएको छ । पाण्डे जस्ता शालिन नेतामाथि त आक्रमण हुन्छ भने कतिबेला कुन नेता वा कार्यकर्ता आफ्नै पार्टीका नेता कार्यकर्ताको आक्रमणको शिकार बन्छ ? अब कुनै टुंगो छैन । चितवन घटनाले नेकपाका नेता कार्यकर्ताहरु विपक्षिसंग होइन, आफ्नैसंग जोगिनु पर्ने अवस्था सृजना भएको भन्ने स्पष्ट भएको छ ।
राजनीतिक पार्टी भित्र वहस, विवाद हुनु र यदाकदा पार्टी विभाजन हुनु पनि सामान्य कुरा मानिन्छ । त्यसमाथि कम्युनिष्ट भनिने राजनीतिक पार्टीहरुमा त सिद्धान्तको ढोंग यति धेरै हुन्छ, अलिकति तलमाथि हुने वित्तिकै पार्टी विभाजन भैहाल्छ । कार्यकर्ता र जनतासंग सैद्धान्तिक भनिए पनि वास्तविक कुरो पद व्यवस्थापन हो र त्यही नमिल्दा कम्युनिष्ट (अरु पार्टीको पनि त्यही हाल हो) पार्टीहरु पटक पटक विभाजित हुने गरेका छन् । स्पष्टै छ, अहिले नेकपा भित्रको विवादलाई जतिसुकै सैद्धान्किरण गर्न खोजेए पनि वरिष्ठ भनिएका ३,४ जना नेताहरुको पद मिलान मुख्य कुरा हो । ती नेताहरुबीच कुर्सीको झगडा मिल्ने वित्तिकै सबैकुरा मिल्छ । र, अहिले एक अर्कालाई शत्रुको जस्तो व्यवहार गरिरहेका नेताहरु आपसमा चाटचाट गर्न थाल्छन् । विगतका अनेकौं दृष्टान्तले नेपालका नेताहरुको यस्तो ‘राजनीतिक चरित्र’लाई उजागर गरेको छ ।
यस्तो बेलामा नेकपाका अन्य तहका नेता कार्यकर्ताहरु संवेदनशिल बन्नु स्वंय उनीहरुको लागि मात्र होइन, नेकपा र देश तथा लोकतान्त्रिक पद्धतीको लागि पनि हितकर हुन्छ । अहिले आफूले समर्थन गरेको गुटको नेता कार्यकर्ता नभएकै झोंकमा अनावश्यकरुपले वाद विवाद गर्ने, हुलहुज्जत वा आक्रमण गर्दा भोली नेताहरु मिलेपछि कसरी अगाडि पर्ने भन्नेकुरा पनि हेक्का राख्नु जरुरी हुन्छ । २०५४ सालमा नेकपा एमाले फुटेपछि देशभर नै माले र एमालेका कार्यकताबीच भिडन्त भयो । बुटवल लगायतका कैयौं ठाउंमा त नेताहरु मरणासन्न हुने गरि कुटिए पनि । तर, २ वर्ष नहुंदै पार्टी फेरि एकिकरण भयो र नेताहरु एक अर्कामा चाटचाट जस्तै गर्न थाले । त्यो समयमा पार्टी विभाजनको बेला एक अर्काको विरुद्ध शारिरिकरुपमा आक्रमणमा उत्रिने धेरै नेता कार्यकर्तालाई एक अर्कासंग मुख देखाउन पनि लाज भएको थियो । अहिले अमुक नेताको पछाडि लागेर अर्काे पक्षको नेतामाथि जाइलाग्ने अहिलेका नेकपाका कार्यकर्तालाई पनि भोली त्यो स्थिति नआउला भन्न सकिदैन ।
त्यसैले नेकपाका तल्लो तहका नेता कार्यकर्ताहरुमा अलिकति विवेक छ भने उनीहरुले कुनै पनि पक्षका नेता वा कार्यकर्तामाथि भौतिकरुपमा मात्र होइन, भाषिकरुपमा आक्रमण गर्नु जरुरी छैन । बरु नेताहरुलाई गुटगत व्यवहार नगर्न खबरदारी गर्न सक्नुपर्छ । कुनै पनि गुटको कार्यक्रममा सहभागि हुंदैनौं भन्न सक्नुपर्छ । नेताले विवेक गुमाए पनि कार्यकर्ताले गुमाउनु हुन्न । नेकपामा मात्र होइन, जुनसुकै पार्टीमा पनि कार्यकर्ता सही हुने हो भने नेताहरु सच्चिन कर लाग्छ । खराब नेताहरुलाई वहिस्कृत गर्न सकिन्छ । तर, कार्यकर्ता पङित नै गलत, छाडा र आवारा भयो भने जस्तो सुकै पार्टीको पनि अस्तित्व सकिन्छ र त्यसले देशलाई नै भडखालोमा लैजान्छ । अहिले सत्ता कब्जाको एकोहोरो सपनाले नेकपाका नेताहरुले त विवेक गुमाएका छन् नै नेकपा कार्यकर्ताहरु पनि अविवेकी हुनु अर्काे गंभिर कुरा हो । त्यसैले यदि सांच्चै नेकपाका कार्यकर्ताहरुमा देश र पार्टी तथा स्वंय आफै प्रति अलिकति मात्रै पनि जिम्मेवारी वोध छ भने उनीहरुले आफ्नो विवेक नगुमाइकन नेताहरुलाई दवाव सृजना गर्न सक्नु पर्छ । त्यसमा नै सिंगै नेपाल, नेपाली र नेकपा तथा त्यसका नेता कार्यकर्ताको भलाई हुनेछ ।