देशभरका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको संघारमा छ । व्यवसायीहरु यतिबेला चुनावको रंगमा रंगिएका छन्, जुन स्वभाविक हो । चुनावमा आफ्नो पक्षलाई जिताउनको लागि विभिन्न हतकण्डाहरु अपनाउनु, विरोधि पक्षमाथि साम दाम दण्ड भेदको नीतिले प्रहार गर्नु स्वभाविक परिघटना मानिन्छ । हाम्रो देशमा मात्र होइन, विकसित भनिएका देशहरुमा समेत चुनावको बेला हुने यस्ता घटनाहरुलाई ‘स्वभाविक’ मानिन्छ भन्ने कुरा भर्खरैको अमेरिकी राष्ट्रपतिको निर्वाचनले स्पष्ट पारेको छ ।
त्यो एउटा पक्ष भयो । चुनावको अर्काे मुख्य कुरा एजेण्डा हो । महासंघको निर्वाचनमा उत्रिका दुवै खेमाले प्रचारको लागि संस्था सुदृढिकरणको कुरा उठाए पनि दुवै पक्षको मुख्य एजेण्डा करका दरहरुमै केन्द्रित रहेको छ । चुनाव जितेपछि लविङ गरेर कर छुट दिलाउन प्रयत्न गर्ने भन्नेमै उनीहरुको जोड रहेको छ । र, भोट माग्दा सरकारबाट ‘छुट’ दिलाउने कुरालाई उनीहरुले मुख्य आकर्षणको रुपमा लिएको देखिन्छ । उद्योगि व्यवसायीको छाता संगठन भएकोले करका दरहरु महासंघको एजेण्डा बन्नु स्वभाविक हो । तर, के महासंघ वा उ जस्तै छाता संगठनको रुपमा रहेका व्यवसायिक संस्थाहरुको लागि करका दरहरु मात्रै ‘एजेण्डाका विषय’ हुन् ?
नेपालमा उद्योगि व्यवसायीले अनेक समस्या भोगिरहेका छन् । उद्यमशिलता हराउंदै गएको छ । साना र मझौला उद्यमीहरुका समस्या एकातिर छन् भने उत्पादनमुखी उद्यमी व्यवसायीको समस्या अर्काेतर्फ छ । तर, उद्योग वाणिज्य महासंघले त्यस्ता समस्याहरुको समाधानको लागि सार्थकरुपमा कुनै पहल गर्न सकेको छैन । पछिल्लो समयको कुरा गर्ने हो भने लक डाउनको कारण उद्योगि व्यवसायी क्षेत्रको अवस्था लथालिङग भएको छ । कोरोना भाइरसबाट सृजित समस्या महासंघले पहल गर्दैमा समाधान हुने थियो वा हुन्छ भन्ने कुरा होइन, तर महासंघले संस्थागत रुपमा कति पहल गर्यो भन्ने महत्वपूर्ण कुरा हो । महासंघले ‘कर छुट दिनु पर्यो’ भन्ने वाहेक उद्योगि व्यवसायीको समस्या समाधानको लागि कुनै सार्थक प्रयास गरेन, गर्न सकेको छैन् । ‘सरकार आफै समस्यामा छ, हाम्रो समस्या समाधान गर्न सक्दैन’ भनेर महासंघका पदाधिकारीहरु चुप लागे । के थाहा महासंघले अलिकति व्यवस्थितरुपमा सरकारलाई दवाव दिएको उद्योग व्यवसायी क्षेत्रका समस्या केही मात्रामै भए पनि हल हुने थिए कि ? यसबारेमा भने महासंघका पदाधिकारीहरुले सामान्यरुपमा छलफल समेत गरेका छैनन् ।
उद्योगि व्यापारीको छाता संगठन भएकोले महासंघले उनीहरुका दुख पीडामा साथ दिनु पर्छ । त्यो नै उसको दायित्व हो । तर, महासंघमा ठूला व्यापारीहरुको दवदवा रहेकोले नै हुनुपर्छ उस्ले न त उद्योगिहरुको पीर मर्कालाई बुझ्ने प्रयास गरेको छ, न त साना तथा मझौला उद्यमीहरुको नै । महासंघले कृषि उद्यम केन्द्र नामक प्रोजेक्ट चलाउंछ, कृषिको नाममा दाता र सरकारबाट अनुदान ल्याउंछ, महासंघका पदाधिकारीहरुले कर छुट लिन्छन्, कृषि उद्यमीका समस्याप्रति महासंघले सामान्यरुपमा आवाज पनि उठाउंदैन । उत्पत्तिको प्रमाण पत्र दिंदा महासंघले देशभरका व्यवसायीहरुबाट करोडौं उठाउंछ । महासंघको मुख्य आम्दानी र महासंघप्रति ठूला व्यवसायीहरुको आकर्षण रहनुका पछाडिका मुख्य कारण कृषि उद्यम केन्द्र र उत्पत्तीको प्रमाण पत्रको रकम नै हो । त्यहां रहेका करोडौं रकममा ‘खेल्न’ पाइने लोभमा महासंघको नेतृत्वमा पुग्न चाहानेहरु धेरै छन् । तर, महासंघले कहिल्यै पनि देशका दूर दराज क्षेत्रका उद्योगी व्यवसायीको समस्या समाधानको लागि पहल गरेको छैन । चासो देखाउने गरेको छैन । पूर्वदेखि पश्चिम, दूर दराज क्षेत्रका उद्योगि व्यवसायीसंग ‘उत्पत्तीको प्रमाण पत्र’ भन्दै पैसा उठाउन हुने तर उनीहरुका समस्याका बारेमा चुइंक्क बोल्न नहुने ? कृषि उद्यमको नाममा प्रोजेक्ट चलाएर मनपरि गर्न हुने, तर तर कृषि उद्यमीका समस्याका बारेमा बोल्नु त के सुन्न पनि नसक्ने ? उद्योग वाणिज्य महासंघको नेतृत्वले नेपाली उद्यमी व्यवसायीहरुमाथि गरेको यो भन्दा ठूलो घात के होला ?
पछिल्ला केही घटनाहरुलाई हेर्ने हो भने महासंघ कर छली गर्ने विवादास्पद व्यापारीहरुको संरक्षकको भूमिकामा मात्रै सिमित हुंदै गैरहेको देखिन्छ । महासंघका पदाधिकारीको आडभरोसा लिएर कर छल्ने र तस्करीलाई बढावा दिने काम व्यवसायीहरुले गरिरहेको देखिन्छ । के महासंघको दायित्व त्यति मात्रै हो ? महासंघको चुनावमा प्रतिस्पर्धा गरिरहेका व्यवसायीहरुले कर छली गर्ने व्यवसायीहरुको संरक्षण गर्दैनौ, स्वच्छ व्यवसाय गर्नेहरुलाई प्रोत्साहित गर्छाैं भनेर महासंघका प्रतिस्पर्धीहरुले किन भन्न सकिरहेका छैनन् ? यसबाटै उवामहासंघको नेतृत्वमा पुग्न लागेका प्रतिस्पर्धीहरुको नियत र महासंघको अवको गन्तब्य स्पष्ट हुन्छ ।
रविभक्त श्रेष्ठ महासंघको अध्यक्ष रहंदा महासंघले २०६१ सालमा व्यवसायिक आचार संहिता बनाएको थियो । त्यो लागू गरिने हो भने महासंघ देशका व्यवसायिकहरुको वास्तविक छाता संगठन मात्रै बन्ने छैन, गैर व्यवसायिक काम गर्ने व्यवसायीहरु हतोत्साहित हुनेछन् र त्यसले देशको समग्र अर्थतन्त्रमै ठूलो प्रभाव पार्ने निश्चित थियो । तर, विडम्बना त्यसलाई लागू गर्नु त परैको कुरा महासंघ भित्रको वेथितिको कुरा उठाउनेहरुमाथि विभिन्न निहुंमा प्रताडित गर्ने र महासंघबाटै निकाल्ने काम समेत हुंदै आएको छ । महासंघको अहिलेकै कार्यकालमा कोषाध्यक्ष निर्वाचित भएका ज्ञानेन्द्रलाल प्रधानले कृषि उद्यम केन्द्रमा भैरहेको घोटाला नियन्त्रण गर्न खोज्दा अध्यक्ष भवानी राणाकै जोडबलमा जर्वजस्त राजिनामा दिन वाध्य पारिएको घटनालाई स्मरण गर्ने हो भने महासंघ कता जांदैछ भन्ने कुरा स्पष्ट हुन्छ । आचार संहिता पालना गर्नु त परैको कुरा, अलिकति पेशागत मर्यादाको कुरा गर्नासाथ महासंघका पदाधिकारीहरुले सत्रुलाई व्यवहार गर्ने र महासंघबाटै गलत्याउने प्रवृत्तिले इमान्दार व्यवसायीहरु महासंघको नेतृत्वमा पुग्नै नसक्ने अवस्था सृजना गरिएको छ ।
यस्ले गर्दा अहिले महासंघबाट इमान्दारिपूर्ण उद्यम व्यवसाय गर्न चाहाने उद्यमी व्यवसायीहरु अहिले महासंघबाट टाढिदैं गैरहेका छन् । महासंघमा कृयाशिल उद्यमी व्यवसायीहरु सबै खराब छन् भन्ने होइन, तर इमान्दारहरुको लागि महासंघ अब घांडो भैसकेको छ । उनीहरुको लागि भरपर्दाे संस्था नभएकोले मात्र सदस्यता त्याग गर्न सकिरहेका छैनन् । महासंघलाई ‘काउण्टर’ दिन गठन गरिएको नेपाल उद्योग परिसंघ (सिएनआई) त झन सम्भ्रान्त व्यापारीको मात्रै संस्था बनेको छ । त्यसले गर्दा अहिले पेशागत मूल्य मान्यतामा आधारित रहेर उद्यम व्यवसाय गर्ने उद्यमी व्यवसायीहरुको लागि साहारा दिने, उनीहरुलाई समस्या पर्दा आवाज उठाइदिने व्यवसायिक संस्थाको अभाव भएकोले मात्रै उद्योग वाणिज्य महासंघ जस्ता संस्थाहरुको ‘राजनीतिक पसल’ चलिरहेको छ । यदि मोरङ उद्योग संगठन वा रुपन्देही उद्योग संघ जस्तो संस्था केन्द्रिय रुपमा हुने हो भने अहिले उद्योगि व्यापारीहरुको छाता संगठन दावि गर्नेहरुको हैसियत स्पष्ट हुने थियो ।
अहिले दुई खेमामा उद्योगि व्यवसायीहरुले जस्ता एजेण्डा उठाएका छन्, ती एजेण्डाहरु हेर्दा रे पछिल्लो केही वर्ष यताको गतिविधि हेर्दा उद्योग वाणिज्य महासंघ समग्र उद्योगि व्यवसायीको प्रतिनिधित्व गर्न नसक्ने स्पष्ट भएको छ । यदि अब आउने नतृत्वले यो कुरालाई स्विकार गरेर महासंघको समग्र एजेण्डाहरुकै पुर्नव्याख्या सके मात्र महासंघ उद्यमी व्यवसायीको छाता संगठनको रुपमा रहन सक्छ । अन्यथा महासंघको औचित्य लगभग समाप्त भैसकेको छ ।
याे पनि :-