काठमाडौं । प्रहरीले दुई नम्बर प्रदेशको वीरगञ्जमा एक अपार्टमेन्टमा लुकाइराखेको साढे २२ केजी सुन १ कात्तिकमा बरामद गर्यो । प्रचलित भाउअनसुसार १८ करोड रुपैयाँ बराबरको सुन लुकाइएको स्थान भारतीय नागरिकले भाडामा लिएको खुलेपनि सुन कसको भन्ने सुइको प्रहरीले लगाइसकेको छैन ।
कोरोना भाइरसको संक्रमणका कारण मुलुक लकडाउनमा फसेपछि सबैभन्दा ठूलो परिमाणमा अवैध सुन भेटिएको यो सबैभन्दा ठूलो केस हो । यसअघि गत साउनको मध्यमा काठमाडौंको सुन्धाराबाट अवैध सुन बरामद भएको थियो । १४ केजी चाँदीमा सुनको जलप लगाइएर सुन भनेर भारतीय बजारमा बेच्ने योजना थियो । प्रहरीकै संलग्नतामा यो ठगी हुने योजना बनाइएपनि बीचमै सूचना चुहिँदा प्रहरीले सुन बरामद गरेको थियो ।
यी दुई प्रकरणले महामारीको बेला पनि सुन तस्करहरु सलबलाएको पुष्टि गर्छ । सीमाबन्दी भएको बेला समेत तस्कर समूह सुन भारतीय बजारमा पुर्याउन भने सक्रिय रहेको प्रहरीको अनुमान छ । वीरगञ्जमा बरामद भएको सुन भारतीय बजारमा पठाउन ठीक्क पारिएको प्रहरीले आँकलन गरेपनि ठोस आधार पहिल्याउन सकेको छैन ।
नेपालको बाटो भएर भारतीय बजारमा सुन पुर्याउने गिरोह सक्रिय भएको पुरानै प्रवृत्ति हो । तर यो क्रम रोकिएको छैन । भारतीय व्यापारीको लगानीमा चीन, दुबईबाट सुन नेपाली बाटो हुँदै भारत पुग्ने गर्छ ।
सरकारले विभिन्न समयमा समिति बनाएर सुन तस्करीको छानविन गर्दै नगरेको भने होइन । तर समितिका प्रतिवेदन सार्वजनिक नहुँदा र तस्करीमा संलग्नमाथि कारबाही नहुँदा तस्कर गिरोहले आड पाउँदै आएको छ ।
०६९ मै प्रहरीले पहिचान गरेका व्यक्तिमाथि अनुसन्धान नहुँदा ती व्यक्ति हालसम्मै सुनको अवैध कारोबारमा संलग्न रहेको पाइनुले तस्कर गिरोहको साँठगाँठ माथिसम्मै रहेको बुझ्न कठिन छैन । अवैध विदेशी मुद्रा प्रकरणमा विनोदकुमार सोनी पक्राउ परेपछि प्रहरीकै संरक्षणमा अवैध मुद्रा र सुन तस्करी हुने गरेको खुलेको थियो ।
त्यसपछि प्रहरी मुख्यालयले समिति बनाएर छानविन गर्दा विमल पोद्धार, मोहनकुमार अग्रवाल, मुरारीलाल जमालिया लगायतका व्यापारीले नेपालको बाटो हुँदै सुन भारत पुर्याउने खुलेको थियो । पोद्दार कालिकास्थानको सिल्भर सिटी अपार्टमेन्टका सञ्चालक हुन् । उक्त अपार्टमेन्टमा सुन तस्करीमा स्वर्णकाल मानिने २०५० देखि ०५५ सालसम्मको अवधिमा सक्रिय दीपक मल्होत्राको पनि लगानी रहेको छ । प्रहरी अधिकारीहरु सुन तस्करीमा अप्रत्यक्ष रुपमा मल्होत्राको संलग्न अहिले पनि रहेको दाबी गर्छन् । तर त्यसको प्रमाण भने जुटाउन सक्दैनन् । त्यसबेलै दर्जनबढी नाम किटेरै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) लाई यसबारे अनुसन्धान गर्न सुम्पनुपर्ने रायसहितको प्रतिवेदन प्रहरी मुख्यालयभित्रै बन्द भयो ।
परिणामस्वरुप ०७४ मा भएको सुन तस्करीमा पोद्दार, अग्रवाल मुछिएको खुल्यो । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानविन समितिले पोद्दार र अग्रवालको समूह अवैध धन्धामा सामेल भएको खुलेको थियो । तर त्यो प्रतिवेदन न सार्वजनिक भयो न त तस्करीमा संलग्न कारबाहीमा परे ।
बरु सुन तस्करी भने मौलाइरह्यो । भारतमा सुनको माग उच्च रहेकोले वैध ढंगले भित्रिने सुनले त्यहाँको बजारमाग धान्न सक्दैन । त्यसैले नेपाल, बंगलादेशको बाटोबाट भारतीय बजारको रिक्तता पूर्ति हुँदै आएको छ । यसको फाइदा नेपाली तस्करहरुले समेत उठाइरहेका छन् । झट्ट हेर्दा नेपाललाई नोक्सान नभएझैं लाग्छ । तर तस्करीबाट सहजै पैसा कमिने भएपछि त्यसले गम्भीर अपराध निम्ताएको उदाहरण सनम हत्या काण्डले देखाइसकेको छ । ०७१ तिर त तस्करीको सुनले नेपाली बजार समेत ढाकेको थियो । वैध बाटोबाट राष्ट्र बैंकले ल्याएको सुन बैंकमै थन्किएर सस्तोमा तस्कर गिरोहले ल्याएको सुन बजारमा पुग्ने गथ्र्यो ।
प्रहरीले अक्टोपस अप्रेसन नामक अनुसन्धान चलाएर संगठित अपराधमा मुद्दा चलाएपछि स्वदेशमा अवैध सुनको खपत घटेको थियो । तर भारतीय बजार मागका कारण यो धन्दा सजिलै नरोकिने जानकारहरु बताउँछन् । भारतमा चाडवाड र विवाहको सिजन शुरु भएकोले अब फेरि सुनको माग उच्च हुनेछ । नेपाल त्यसको ट्रान्जिट । यो क्रम चलिरहने जानकारहरु बताउँछन् । -इकोनोमिक पोस्टबाट
याे पनि:-