विचौलिया भन्ने बित्तिकै मानिसको दिमागमा अनेक कुरा आउंछ । विचौलियाको प्रवृत्ति हो- सरोकारवाला मानिसहरुसंग साखुल्ले भएर आफ्नो स्वार्थ पुरा गर्ने । एक अर्कालाई देखि नसहने विरोधिका विचमा पनि विचौलियाले ‘हिसाब किताब’ मिलाई दिन्छन् । र, एक आपसमा सम्झौता गराउंछन्, अनि दुवै तर्फबाट आफ्नो स्वार्थ सिद्ध गराउंछन् । आम मानिसहरु लगानी नगरि वा थोरै लगानी गरेर अनगिन्ती कमाउने व्यक्तिलाई विचौलियाको रुपमा चिन्ने गर्छन् र त्यस्ता मान्छेहरुलाई घृणा गर्छन् ।
तर, सबै विचौलिया खराब हुंदैनन् । र, कतिपय बेला विचौलियाको अभावमा समस्या झन चर्काे हुन्छ भन्ने कुरा अहिले नेकपामा देखिएको विवाद हो । विगतमा नेकपा भित्र नारायणकाजी श्रेष्ठ र विष्णु पौडेलले विचौलियाको भूमिका खेल्थे र पार्टीको विवाद मिलाउंथे । यसपटक नेकपाको नेतृत्वमा विचौलियाको भूमिका घटेको मात्र छैन, लगभग निस्तेज नै भएको छ । त्यसैले विवादका दुई पक्ष आ आफ्नो अडानमा कायम छन् र स्थायी कमिटीको विवाद महिनौं हुंदा पनि जहांको तंही छ । वैठक बोलाउने र स्थगित गर्नु नियमिता जस्तो छ । अब त नेकपाको स्थायी कमिटी वैठक वस्दैछ भन्ने सुन्दा पनि कार्यकर्ता र समर्थक सुभेच्छुकहरु मात्र होइन, जो कोही पनि हांस्ने अवस्था सृजना भएको छ ।
वास्तवमा नेकपामा विचौलियाको भूमिका किन कम भयो ? नारायणकाजी र विष्णु पौडेलले विवाद मिलाउन प्रयास नै गरिरहेका छैनन् कि प्रयास गरेर पनि सफल भएका छैनन् ? नेकपाका आम कार्यकर्ताहरु अहिले यही प्रश्नको जवाफ खोजिरहेका छन् । यी दुई मध्ये सबैभन्दा पहिले लागौं, नारायणकाजी श्रेष्ठ अर्थात् प्रकाशको भूमिकाको बारेमा कुरा गर्न ।
पंचायत विरोधि आन्दोलनमा समेत महत्वपूर्ण योगदान पुर्याएका प्रकाश तत्कालिन नेकपा माओवादीले जनयुद्ध शुरु गर्दासम्म खासै प्रभावकारी भूमिकामा थिएनन् । जनयुद्धमा नलागेपनि प्रति खुलेरै समर्थन गर्ने र साथसाथै जनयुद्धको विरोधिको रुपमा रहेको तत्कालिन नेकपा एमाले लगायतका सबै वामपन्थी पार्टीका नेताहरुसंग पनि उनले भूमिगतरुपमै रहेर सम्वन्ध कायम गर्ने गरेका थिए । त्यसैले उनले अनेक खतरा मोलेर भए पनि राज्यले टाउकाको मूल्य तोकेका प्रचण्ड, बाबुराम भट्राई, रामबहादुर थापा लगायत तत्कालिन माओवादीका नेताहरु र एमाले लगायतका वामपन्थी पार्टीका नेताहरुलाई मात्र होइन, नेपाली कांग्रेसका नेताहरुलाई समेत सहमती ल्याउन निकै ठूलो भूमिका खेलेका थिए । राजा ज्ञानेन्द्रले २०५९ असोज १८ पछि शेर वहादुर देउवा नेतृत्वको सरकारलाई अपदस्त गरेपछि तत्कालिन अवस्थामा सातदलको मोर्चा बनाउनमा सबैभन्दा महत्वपूर्ण भूमिका उनैले खेलेका थिए । त्यसको लागि उनले नेपालमा रहेका राजनीतिक दलका नेताको घर घरमा मात्र होइन, माओवादी नेताहरुलाई भेट्न भारतका विभिन्न शहरहरुमा समेत धाएको कुरा कसैले विर्सेको छैन । त्यतिमात्र होइन, नेपालको संचार माध्यममा समेत पार्टीहरुसंगको सहकार्यका समाचारहरु, सूचनाहरु उपलब्ध गराएर आम नेपालीहरुमा समेत गणतन्त्रको चेत जगाउने काममा उनको योगदान रहेकोमा कुनै शंका छैन ।
२०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले सम्पूर्ण सत्ता आफ्नो हातमा लिएर निरंकुश शासन व्यवस्था शुरु गरेपछि संसदवादी तत्कालिन राजनीतिक दलहरु र नेकपा माओवादी विचको सहकार्य गराउनमा नारायणकाजीको सर्वाधिक महत्वपूर्ण भूमिका रहेको थियो । यदि उनी थिएनन् भने संभवतः संसदवादी तत्कालिन सात दल र नेकपा माओवादी विच हुने थिएन वा भए पनि निकै ढिलो हुने थियो । ज्ञानेन्द्रको निरंकुश सत्ता लम्बिने थियो र माओवादी युद्ध पनि सहजरुपमा सकिने थिएन । तर, प्रकाशले विचौलियाको रुपमा भूमिका खेल्दै सात दल र माओवादी नेताहरुको दैलो दैलोमा पुगेर उनीहरुलाई एक ठाउंमा ल्याएर आन्दोलन चर्काउन सफल मात्र भएनन्, गणतान्त्रिक व्यवस्थाको लागि समेत सहमत बनाए ।
तर, जव आन्दोलन सफल भयो, उनी विधिवतरुपमा माओवादीमा प्रवेश गरे र त्यहांभित्र आफू र आफ्नो पक्षका केही सिमित व्यक्तिहरुको पदिय व्यवस्थापनको लागि वार्गेनिङ गर्न थाले । तर, जति उनले वार्गेनिङ गर्न थाले, त्यति नै उनको वार्गेनिङ क्षमता कम हुदैं गएको देखिन्छ । हुंदा हुंदा उनी अहिले विचौलियाको भूमिकासमेत राम्रोसंग निभाउन सकिरहेका छैनन् भन्ने कुरा नेकपाको पछिल्लो विवादमा उनको हैसियतले स्पष्ट पारेको छ । त्यही कारण पंचायतकालदेखि नै उनलाई आंखा चिम्लेर सहयोग गर्दै आइरहेका घनश्याम शर्मा पौडेल, निनु चापागाई लगायतका व्यक्तित्वहरु त उनीसंग छैनन् नै उनीप्रति सहानुभूति राख्नेहरु निकै कम हुंदै गैरहेका छन् ।
सादा जीवन शैली अपनाए पनि निरन्तर रुपमा आफ्नो र गिरिराज मणी पोख्रेललाई पद दिलाउनको लागि मरिमेटेर लाग्ने स्वभावको कारण उनको कुरा सुन्ने र महत्व दिने व्यक्तिहरु अहिले नेकपाको नेतृत्व पङितमा विरलै मात्र छन् । उनी निरन्तररुपमा पार्टी अध्यक्ष प्रचण्डलाई साथ दिइरहेका छन् । तर, स्वंय प्रचण्डले पनि उनलाई महत्व दिन छोडेका छन् भन्ने कुरा पार्टी एकताको प्रकृया शुरु भएकै समयदेखि दुई पक्षिय महत्वपूर्ण वैठकहरुमा उनको सहभागितालाई वेवास्ता गरिदैं आएको घटनाबाट स्पष्ट हुन्छ । शायद अर्काे पक्षबाट अर्थात् प्रधानमन्त्री ओली पक्षबाट कुनै आकर्षक पदको आश्वासन पाएपछि नारायणकाजीले गुट फेर्न सक्छन् भन्ने आशंकाले हुनुपर्छ प्रचण्डले उनलाई भन्दा पनि जनार्दन शर्मा र वर्षामान पुन लगायतका नेताहरुलाई आफ्नो तर्फबाट छलफल, भेटघाटमा अगाडि सार्ने गरेका छन् । र, ओली पक्ष त नारायणकाजी संग पहिलेदेखि नै संशकित हुदै आइरहेको छ ।
स्वभाविक हो, विचौलियाको महत्व त्यतिबेला सम्म रहन्छ, जतिबेला सम्म दुवै पक्षलाई उसको आवश्यकता महसुस भैरहन्छ । जब घटनाका कुनै पक्षलाई ‘यो मान्छे मेरो लागि अब काम छैन’ भन्ने लाग्छ, तब विचौलियाको भूमिका स्वतः कमजोर हुन्छ । अहिले नेकपामा नारायणकाजीलाई विचौलियाको रुपमा दुवै पक्षले स्विकार नगरिरहेको अवस्था छ । त्यहीकारण अहिलेको विवादमा उनको कुनै निर्णायक भूमिका देखिएको छैन । विचौलियाको सक्रियता हुने हो भने उनीहरुले दुवै पक्षलाई थामथुम पारेर विवाद मिलाउंछन् । तर, झगडियाको विचमा विचौलिया नहुनु भनेको या त बोलचाल बन्द हुनु हो, या त सिधै हाना हान हुनु हो । अहिले नारायणकाजी जस्ता नेकपा भित्रका विचौलियाहरुको भूमिका कमजोर भएकोले नेकपा अनिर्णयको वन्दी बनिरहेको छ । नेताहरु पार्टी वैठक छोडेर गुटको वैठक गर्ने काममा रमाइरहेका छन् । र यो अवस्था कहां पुगेर कहिले सकिएला ? भन्न सकिदैँन ।