कोरोनाले पूरै विश्वलाई कक्रक्क पारेरे आफ्नो मुठीमा राखेको छ । कोरोनालाई प्रवेशै नदिने भनेर सरकारले हवाई उडान र सीमा नाकाहरु पहिल्यै बन्द गरिसकेको थियो । बन्दाबन्दी शुरु भएको पनि एक महिना भएको थियो । फेसबुक म्यासेञ्जरमा क–कसको हरियो बत्ती बलेको रहेको भनेर हेर्दा धेरै साथीहरुको बलेको रहेछ । १० जना साथीको इनबक्समा एउटै प्रश्न पठाएँ– ‘लकडाउनले तिम्रो दाम्पत्य जीवनमा के फरक पारेको छ ?’
निता– ‘त्यस्तो केही फरक भएको छैन, एक अर्कोलाई अलि बढी समय दिन पाइएको छ । एकले अर्कोलाई सघाउँछौ, मिलेर भातभान्छा सम्हाल्छौं, अघाउँछौं । निचोडमा एकअर्कोलाई थप बुझ्न पाएका छौं ।’
दिव्या– ‘दिनभर सँगै बस्यो, पकायो खायो, टन्नै गफ गर्यो, रमाइलो भ‘को छ ।’
रश्मिता– ‘केही फरक छैन, श्रीमान्ले अनेकौं परिकार पकाउन सिकेका छन, अलिअलि बोसो बढेको छ ।’
अरु २ जनाको पनि यस्तै यस्तै जवाफ आयो । अरु दुई जनाले प्रमोद खरेलको गीत सम्झाए–‘यो कुरा गोप्य नै राखुँला ।’ दुई जनाले हाँसेर टारे, जोडबल गरिन । अर्को एक जनाको जवाफले झस्कायो । जवाफ थियो–‘तनाव, तनाव, तनाव ।’
कोरोनाले एउटा तनाव त सबैलाई दिएको छ । तर ट्रिपल तनाव त !
अनि कुराकानी शुरु भयो, किनको प्रश्नबाट । श्रीमान् खाडिमा, उहाँ बसेकै फ्ल्याटमा संक्रमित भेटिएका छन् । जे जस्तो भए पनि सँगै भएको भए ढुक्क होइन्थ्यो नि, आँखै अगाडि भएपछि चित्त बुझ्थ्यो ।
‘मेरी श्रीमतीले पनि यही भन्छिन, अलि अस्ति त पत्रकारिता पेसा नै ठीक हैन रहेछ, किनको जवाफमा उनको पनि आफ्नै तर्क थियो, आपत विपतमा कहिल्यै सँगै नहुने, अनि २०७२ सालको भूकम्पको उदाहरण दिइन ।’
(मनसुन पहिलेदेखि नै मसँग फेसबुकमा साथी थिइन, पाँच÷सात वर्ष अघि नै फेसबुकमा कुराकानी भएको थियो, पारिवारिक प्रश्न गरेपछि अलप भएकी थिइन, अनि दोहो्याएर सोधेको थिइँन, आज चाहिँ उनको पनि म्यासेञ्जरमा हरियो बत्ती बलेकाले प्रश्न पठाएको थिएँ । जवाफ आयो, श्रीमान विदेश भएको थाहा दिइन । प्रश्नमाथि प्रश्न थपिदै गयो । घर र माइतीबारे सोधखोज गर्दा १५ मिनेटको दुरीमा रहेको थाहा दिइन ।)
घर माइती नजिकै र धेरै टाढा भन्ने बित्तिकै प्रेम विवाह हो भन्ने अनुमान लगाइन्छ । अनि निश्चय गर्ने प्रश्न जन्मिन्छ ।
‘लव म्यारिज हो ?’
‘लव एरेन्ज दुबै हैन ।’
प्रेम विवाह होइन भनेको भए मागी विवाह भन्ने हुन्थ्यो । तर प्रेम र मागी विवाह दुबै हैन भनेपछि अलिक अनौठो लाग्यो । अहिलेको बेलामा यही दुई विवाह त चलनमा छ । विवाहको इतिहास हेर्ने हो भने यो भन्दा धेरै फरक विवाहहरु हुँदै आए ।
शास्त्रमा विभिन्न प्रकारका विवाह उल्लेख छनः
ब्रह्म विवाहः यो विवाह आभूषण, वस्त्र आदिबाट अलङ्कृत गरेर कन्यादान गरिन्छ । यस विवाहमा दुवै पक्षको सहमतिबाट समान वर र कन्याको विवाह निश्चित गरिन्छ । अहिलेको मागी विवाहलाई यस खालको विवाह भन्न सकिन्छ ।
प्रजापत्य विवाहः यस्तो विवाहमा कन्यासँग अनुमति लिइँदैन । अभिभावकले योग्य वर हेरेर कन्याको विवाह गरिदिन्छन् । विवाह भने विधिवत् हुन्छ । दुवैले एकसाथ मिलेर धर्माचरणको व्रत लिन्छन् ।
आर्ष विवाहः यस विवाहमा कन्यापक्षलाई कन्याको मूल्य तिरिन्छ । वर पक्षबाट विशेषगरी गाई दिने चलन हुन्छ ।
दैव विवाहः यस विवाहमा कुनै तपस्वीलाई कन्यादान गरिन्छ । कुनै सेवा कार्यको मूल्यको रुपमा कन्यादानमा दिइन्छ । महाभारतकालमा यी चार विवाहलाई धर्मसम्मत मानिन्थ्यो ।
गन्धर्व विवाहः यस विवाहमा परिवारको सहमति हुँदैन । कुनै रीतिरिवाज अपनाइँदैन । दुष्यन्त र शकुन्तलाले गन्धर्व विवाह गरेका थिए । कथाअनुसार एक पटक शिकार गर्ने क्रममा संयोगवश दुष्यन्त महर्षि कण्वको आश्रममा पुगे । त्यसबेला महर्षि आश्रममा थिएनन् । दुष्यन्तले शकुन्तलासँग गन्धर्व विवाह गरे । उनीहरुबीच शारीरिक सम्बन्ध गाँसियो । केही समय कुर्दा पनि महर्षि कण्व नआएपछि दुष्यन्त शकुन्तलालाई त्यहीँ छाडेर दरबार गए । जाने बेलामा उनले शकुन्तलालाई एउटा औँठी दिए । पछि शकुन्तलाले छोरा जन्माइन् । छोरा बोकेर उनी दुष्यन्तकहाँ पुगिन् । दुष्यन्तले दिएको औँठी उनले बाटोमै हराइन् । औँठीको अभावमा दुष्यन्तले शकुन्तलालाई स्वीकार गरेनन् । पछि ‘शकुन्तलालाई स्वीकार गर’ भनेर आकाशवाणी भयो र उनले स्वीकार गरे । यही घटनामा अर्को एउटा मतअनुसार पछि दुष्यन्तलाई दुर्वासाको श्राप परेको थियो । श्रापअनुसार उनको स्मरण शक्ति गुम्यो । पछि विभिन्न माध्यम हुँदै शकुन्तलालाई दिएको औँठी उनी कहाँ पुग्यो । औँठी देखेपछि उनले शकुन्तलासँगको घटना सम्झिए र शकुन्तलालाई छोरासहित स्वीकार गरे ।
आसुर विवाहः यस्तो विवाहमा वरपक्षद्वारा शुल्क दिएर कन्या ग्रहण गरिन्छ । कन्याका आफन्तलाई धन या प्रलोभन देखाएर स्वेच्छाले कन्या प्राप्त गरिन्छ ।
राक्षस विवाहः यस्तो विवाहमा कन्याको सहमति हुँदैन । उसलाई अपहरण गरेर जबर्जस्ती विवाह गरिन्छ । नेपालमै कुनै–कुनै जातिमा केही समय पहिलासम्म विभिन्न जमघट हुने ठाउँबाट आफूलाई मन परेकी कन्यालाई जबर्जस्ती उठाएर लैजाने चलन थियो । यस्तो चलन अहिले धेरै कम भएको छ । त्यस्ती कन्यालाई घरमा फिर्ता लगिँदैन । अपहरण गरेकै पुरुषलाई कन्यापक्षले स्वीकार गर्छ ।
पिशाच विवाहः सुतेको अथवा नशामा उन्मत्त कन्यालाई एकान्तमा बलात्कार गरी जबर्जस्ती ग्रहण गर्नुलाई पैशाच विवाह भनिन्छ ।
माथिका अन्तिम चारवटा विवाहलाई शास्त्रले मर्यादाविपरीत मान्छ ।
आचार्य चाणक्यले विवाहका बारेमा भनेका छन्, ‘कन्याको बुबाको इच्छाअनुसार गरिने विवाह धर्मसम्मत हुन्छन् । अन्य चार विवाह धर्म मार्यादा अनुकूल छैनन् । यी विवाह कन्याको बलात्कार हो । सबैको प्रशन्नता हुने विवाह नै सर्वोत्तम हो । यसबाट सबैको सुख वृद्धि हुन्छ ।’
यी विवाह पनि आए ।
‘लव पनि एरेञ्ज पनि हैन भने के हो त ?’
‘मेरो विवाहको बडो लामो कहानी छ । बनाउने हो भने एउटा पुस्तक बन्छ । र रहर पनि छ । फुर्सत हुन्न र मात्रै । धेरै पटक प्रयास गरिसके आदि अधुरो मै अड्किन्छु ।’
(एउटा पुस्तक नै बन्ने कहानी त, म्यासेञ्जरमा लेखेर सम्भव भएन । लकडाउनले मनसुनलाई समय निकाल्न गा¥हो, थिएन । अरु बेलामा जागीरे र गृहणी हुनु पर्ने अहिले पूर्णतः गृहणी भएकी छिन । विहानको खानाको काम सकेपछि, खाजाको समयसम्म खाली हुन्थिन । तर मलाई कार्यालय जानु पथ्र्यो । विदाको दिन बुधबार कुरा गर्न राजी भइन । संयोगले बुधबार माइती गएकाले कुराकानी सम्भव भयो ।)
बुधबार दिउँसो १ बजेर ५ मिनेटमा फोन डायल गरें, सञ्चो बिसञ्चो पछि विषय प्रवेश गरें–‘लव पनि है एरेन्ज पनि हैन भन्नेको जवाफ पाउँ त पहिले ?’
‘उहाँ (मनसुनको हुनेवाला श्रीमान) डिप्रेसनमा हुनुहँुदो रहेछ । गाउँघरमा बिहे गरे यो रोग ठीक हुन्छ भन्दिएछन् । उहाँको र मेरो आमाबीच बारम्बार कुराकानी भइरह्यो । उहाँको आमाको रुनाधुना पनि चल्यो, हाम्रो घरमा आएर । म पढाइ नसकी विवाह गर्दिन भनिरहन्थें, छोरी र बुहारीमा केही फरक हुँदैन । यस्तै यस्तै कुरा हुन्थ्यो । केही सीप नचल्ने भएपछि इमोस्सनल ब्ल्याकमेल गर्न थाले । १५ वर्षको कलिलो उमेरमा विवाह के हो भन्ने थाहा नै नभइ मलाई बिहे गरे । शुरुमा बोक्सी लागेको भनेर झुक्याइएको थियो तर बिहे भ‘को दुई महिना पछि मलाई थाहा भयो उहाँलाई पुरै डिप्रेसन भ‘को रहेछ भनेर । अब म यस्तो विवाहलाई कुन नाम दिउँ ? प्रेम विवाह ? मागी विवाह ? अरु केही ?’
प्रश्न मैं तिर सोझियो, प्रश्न सोध्नेहरु जवाफ विहिन हुने, थोरै परिस्थिति मध्ये एक थियो यो । यसलाई मागी विवाह वा प्रेम विवाह के भन्ने भन्दा पनि मेरो मथिंगलमा चाहिं, विवाह गरिदिएर डिप्रेशन ठीक हुन्छ भन्ने सोच बढी घातक लाग्यो । यसको वैज्ञानिक कारण होला नहोला, त्यसको खोजी गर्दै गरौंला ।
(मनसुनको विवाह भएको १२ वर्ष भइसकेको छ । श्रीमान् फरक फरक देशमा गएर रोजगारी गरिरहेकै छन । वैदेशिक रोजगारीमा जान सक्ने भएपछि मानसिक रुपमा ठीक भए नै भन्ने लाग्यो मलाई उनको श्रीमान । तर पनि स्पष्ट हुनु त थियो ।)
‘अहिले त सब ठीकठाक छ नि ?’
‘मेडिसिन खाँदासम्म ठीकै हुन्छ ।’
‘कारणको खोजी गरिनौ ?’
‘गरेँ तर पत्तै लाउन सकिन । कारण खोजी गर्दासम्म त धेरै ढिलो भैसकेको थ्यो पहिले त मलाई पनि यो सबैको ज्ञान कहाँ थियो र ?’
(मनसुनलाई अहिले पनि लाग्छ, बुबा भएको भए, यी सब हुने थिएन कि, बुबाको अनुहारसम्म अलिअलि याद भएको मान्छेलाई पितृस्नेह के हो भन्ने थाहै भएन । मुनाल मानसिक विरामी हुनुको कारण पनि बुबाको माया नपाउनु नै हो कि ? उहाँको बुबा सधैं बाहिरको बाहिर । घर पुग्दा पनि कहिल्यै सही हालतमा नपुग्ने । चाडबाडमा घर पुग्दा पनि जाँडले फिट्टु हुने, जग्गा जमिन प्रशस्त भए पनि बलिया पाखुरा नभएपछि के गर्नु ? जसोतसो आमा (सासुले मुनाललाई हुर्काउनु भयो, विद्यालय शिक्षा गाउँमै पूरा गरे पनि उच्च शिक्षा लिन सकेनन । सानो उमेरमै बाआमाको मायाभन्दा पनि झगडाले बालमतिष्कमा गहिरो चोट परेर मुनालको अवस्था यस्तो भएको अनुमान छ, यो मेरो मात्रै हैन, उपचारमा संलग्न चिकित्सक पनि यही भन्छन । मेडिसिन तलमाथि पर्दा वा अन्य केही कारणले समस्या भयो भने लगातार दुई तीन महिनासम्म अस्पताल बसेरै उपचार गराउनु पर्छ, घर आएपछि पनि बेड रेस्ट । त्यो बाहेकको समयमा ठीकठाक भए पनि आफ्नै मौनमौजीको मालिक हुने हो, लोग्ने छन भन्ने कुरा रुपमा हो । सारमा केही फरक छैन मेरा लागि ।
मनसुनलाई मैले १० वर्ष पहिले लगें, उनी पहिलो पटक आमा भन्दै थिइन, उमेर १८ वर्षमा चल्दै थियो । आमा भएर जन्मिँदा कस्तो हुँदो रहेछ ?
‘अनुभव, अनुभूति त शव्दमा बताउन सक्दिन, घटनाक्रम सुन्ने हो भने भन्न सक्छु ।’
मनसुनको शव्द चयनले पनि मलाई बेलामौकामा हायलकायल पाथ्र्यो, उनी अझै पनि के बोल्ने, कत्ति बोल्ने र कसरी बोल्ने भन्नेमा बढो सचेत थिइन । हुन पनि आमा हुँदाको अनुभव र अनुभूति त कसरी शव्दमा कैद हुनु ? अनि उनले घटनाक्रम सुनाइन ।
‘पक्कै पनि मेरो र अरुको कुरा फरक छन । बच्चा गर्भमा आएको थाहा पाउने बित्तिकै म एकदमै दुःखी भएँ । मेरा सपनाहरु थिए । उमेर पनि भएको थिएन । एक मन त फ्याँकिदिउँ जस्तो पनि भएको थियो । यस्तै के के सोच्दासोच्दै, बच्चोले पेटमा लात मार्न थालिसकेको थियो । यसले अरु सबै कुरा बिर्साइदियो, अनि ध्यान खिच्यो । गर्भवति भएँ, भनेर आराम गर्ने सुविधा थिएन । घरमा सासु र म मात्रै, बस्तुभाउ, खेतीपाती, घरधन्दा एक्लैले भ्याउने कुरा थिएन । अहिले पनि अलि टाढाबाट गाग्रीमा पानी बोकेर ल्याउनु पर्छ । कति पटक बेहोस भएर ढलेको छु, आफैं उठेको छु । दिन पुग्यो मात्रै हैन, १२ दिन नाघिसकेको थियो । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली पुगियो । बच्चा निकै ठूलो छ । सायद अप्रेशन गर्नुपर्छ होला । यही भन्दै थिए, डाक्टरहरु । त्यही बेला श्रीमान् मानसिक अस्पताल लगनखेलमा भर्ना हुनु भएको थियो । आफू यता । अप्रेशन नै गर्नु पर्ने भयो भने आफू सकुशल फर्कन्छु कि फर्कन्न भन्ने डर थियो । वरपरका बेडमा प्रसव पीडाले छटपटाएका अरु पनि थिए, सुनेर मन भारी भइसकेको थियो ।
डाक्टर आए एकपटक औषधि चलाएर हेर्ने कुरा भयो । औषधि चलाइयो । औषधिले काम ग¥यो । छोरोको च्याँ गरेको आवाजले सारा पीडा गायव भयो । के जादू होला, सन्तान रुँदा आमाको पीडा गायव हुने । अहिले १० वर्षको हुँदा छोरो चित्त दुखाएर रुन्छ, म पनि निकै दुःखी हुन्छु । कोल्टे फर्केर चस्मा भित्रको आँसु पुस्छु । अनि मनको बेग थापाथली अस्पताल पुग्छु, पहिलो पटक छोरो रुँदा हाँसेको सम्झन्छु । त्यत्तिबेला चार किलोको छोरो अहिले ३४ किलो भइसकेको छ ।
नर्सले लिनुहोस् तपाईंको छोरा भनेर पहिलो पटक हातमा राखिदिँदा निकै डराएको थिएँ । कसरी छुने ? समाउन नजानेर खस्यो भने ?वा अरु केही भइहाल्यो भने .....
नर्सको दोस्रो वाक्यले झल्याँस्स भएँ –दिदी ओ दिदी लिनुहोस् बाबुलाई दूध चुसाउनु, कानमा गुञ्जियो । तातो पानीले दूधको मुन्टा सफा गरिदिइन नर्सले नै अनि दूधको मुन्टा वरीपरीका रौंहरु नेलकटरले काटिदिइन । पहिलो पटक नेलकटरले रौं काटियो ।
छोरोको रुवाइ ठूलो ठूलो हुँदै गयो । सायद भोकले होला, नर्सले दूध चुसाउन सिकाइन । शिशुको ओठको स्पर्श, यसको बयान गर्ने शव्दको आविष्कार भए जस्तो लागेन । कताकता काउकुती लाग्यो, अनि कता हो कता भित्र दुखे जस्तो पनि भयो । के के भयो भयो । दूध राम्रोसँग आयो । दुबै मुन्टा चुसिसकेपछि, बाबु चुप लागेर निदायो । प्रत्येक दुई दुई घण्टामा पालै पालो दूध चुसाउनु १०÷१० मिनेट । त्यसअघि आफू पनि खानेकुरा खानुहोस ताकी दूध आउन सजिलो होस । अनि आफू पनि तंग्रिनु । तागतिलो हुनु ।
‘अनि दोस्रो सन्तान ?’
‘दोस्रो सन्तान पनि छोरा नै हो, ९ लाग्यो ।’
‘जम्मा १३ महिनाको फरक । साधनको बारेमा थाहा नभएर कि ? सचेत नभएको ?’ एक साथ दुई वटा प्रश्न मेरो ।
‘सबै थाहा थियो र पनि सेकेन्ड टाइम प्रेग्नेन्ट भ‘को चाहिँ थाहै पाइन । जब शंका लागेर, अस्पताल पुगें, गर्भ रहेको चार महिना भइसकेको रहेछ । जन्माउनुको कुनै विकल्प थिएन, दुबै एकसाथ हुर्कन्छन भनेर चित्त बुझाएँ ।’
(मनसुन बिस्तारै सहज हुँदै गएकी थिइन, शुरुमा भन्दा केही खुल्दै पनि थिइन । यता फोनमा कुरा गर्दै छोराहरुको माग पनि पूरा गर्दै थिइन । बूढी हजुरआमा चुरोटको तलतलले प्याकप्याक भएको कुरा सुनाउँथिन । छोरोलाई चुरोट किन्न पठाएकी रहिछन । कहीं नपाएको भनेर फर्किएर आयो । व्याटमिन्टन दिएर, दाजुभाइलाई खेल्न पठाइन ।)
‘अनि तीन महिनामै सम्बन्ध शुरु गरिदिने त ?’ अलि ठट्टा गरे जस्तो गरेर सोधिहालें ।
‘लोग्ने मान्छे स्वार्थी हुन्छन् । अनुभव गरेको कुरा ।’ हलुको ठानेर सोधेको प्रश्नको जवाफ निकै भारी प¥यो मलाई । अनुभवका अगाडि अरु त फिक्का हुने नै भयो नि ।
‘सहमति विना हुन्छ र ? शारीरिक, मानसिक रुपमा दुवै तयार हुनु पनि त पर्ला ?’ डराइ डराई एक जोडी प्रश्न तेस्र्याएँ ।
‘डिप्रेसन भएको मानिसलाई कन्भिन्स गराउन सकिन्न रहेछ, मैले हारें ।’
(माफ गर, अत्यन्तै निजी कुरा सोधेँ)– ‘असहमति राख्ने, प्रतिकार गर्ने अवस्था रहेन ?’
‘विवाह के हो ? श्रीमान के हो ? थाहै नहुने उमेर, हरेक कुरालाई यस्तै होला भन्दै स्विकार्दै आएँ नि ।’
‘१२ वर्षे वैवाहिक सम्बन्धमा एक पटक पनि असहमति वा इन्कार गरिनौ ?’
‘गरें, त्यसको परिणाम मैले कल्पना गरेभन्दा निकै भयानक आयो, तपाईं पनि पुरुष हो, म भन्न त सक्छु तर तपाईं सुन्न सक्नु हुन्न । सुनेर किन दुःखी हुनुहुन्छ ?’ जवाफ कम प्रश्न ज्यादा आयो ।
‘विवाहको सुन्दर पक्ष के हो ?’
‘खै ।’
‘तिमीले अनुभूत गरेका ।’
‘छैन ।’
‘पीडा नै पीडा मात्रै ?’
(कुराकानी गरेको एक घण्टा भएछ । लगातार एकघण्टा कुरा भएपछि टेलिकमको सिष्टमले मोबाइल डिसकनेक्ट गरिदिन्छ । अब दोहो¥याएर, डायल गरौं कि नगरौं, दोधारमा परें । पाँच मिनेट पछि डायल गरें, तर फोन बिजी देखायो । त्यसको केही मिनेटपछि फोन गर्दा उठ्यो ।)
प्रश्न सम्झिरहेकी रहिछन । जवाफ दिइ हालिन–‘त्यस्तै बुझ्नु होस ।’ जवाफले मन हुँडलियो । यस्तो भयानक हुँदा त सम्बन्ध विष्फोट नै हुनु पर्ने किन टिकिरह्यो ? वा टिकाइयो ? नसोधी बस्नै सकिन ।
‘अनि सम्बन्ध तोडौं, जस्तो लागेन त ?’
‘झेल्दै, बेहोर्दै गएपछि बानी लाग्यो रहेछ नि ।’
‘यो त तिमीले मेरो प्रश्नको ओठले दिएको जवाफ भयो, मैले मनको जवाफ खोजेको ?’ जिद्दी गर्न छाडिन ।
अनि केहीबेर सुइया काढेर बोल्न शुरु गरिन–‘हो, म पटक पटक सम्बन्धबाट अलग हुन खोज्थें, तर परिस्थितिले बारबार रोक्थ्यो, अब त भएन भनेर कानूनी उपचार खोज्ने बाटोमा पनि हिंडिसकेको थिएँ, तर सम्झाइ बुझाइ गरेर पठाइन्थ्यो, आफूभित्रको पीडा कसले बुझ्ने ? सबै कुरा वकिलसँग भन्न पनि सक्दिन थें । समाज यही हो, बुझाइ यही हो, विरामी लोग्नेलाई छाडी । छोराहरुको बिचल्ली पारी भनेर मलाई नै छिछि दूरदूर गर्छन ।’
‘जिन्दगी यसरी नै चल्छ त ?’
‘चल्ने हैन, चलाउनु पर्छ, १५ वर्ष छोरी भएर बाँचे, त्यसपछि कसैको श्रीमती भएँ, बुहारी भएँ । त्यसको ३ वर्षपछि आमा भएँ, अरु भएरभन्दा आमा भएर बाँच्न सजिलो छ, मन बुझाउन सकिरहेछु । निकै दुःख भयो भने मध्यरात मस्त निन्द्रामा रहेका छोराहरुको अनुहार हेर्छु, उनीहरुको भावभङ्गीले सबै दुःख बिर्साउँछ । अनि निदाउँछु । आधा जीवन गइहाल्यो, बाँकी जीवन पनि आमा भएरै बाँच्छु । विवाह नामक संस्था भत्काउने सोचाइ अब त्यागिसकें ।’
‘फोन राख्दै गर्दा यत्ति लामो कुरा को सँग गरेको भनेर आमाले सोध्नु भयो भने के भन्छौ ?’
निर्धक्क भएर भनिन– ‘हुन त आमाले चिन्नुहुन्न तर तपाईंको नाम लिन्छु । विषय चाहिँ के भनौं....’ यत्ति भन्दा भन्दै अर्को एक घण्टा बितिसकेछ । टेलिकमले फेरि सम्वाद टुटाइदियो ।