भोकले निन्द्रा लाग्दैन भन्ने पहिलो पटक प्रमाणित भयो, आफैंमाथि प्रयोग भएर आफैंले पुष्टि गरें ।
फेर्ने कपडा पनि केही थिएन, बेहुली बनेर जस्तो आएको थिएँ, त्यही लुगामा पल्टिएको थिएँ । सुत्ने कोठा पनि कसैले देखाईदिएका थिएनन । जेठाजूका छोराछोरी थिए, धन्न आन्टी भन्दै झुम्मिन आए । उनीहरुलाई भनेर उनीहरुको काका सुत्ने कोठासम्म पुगेको थिएँ ।
चलचित्रहरुमा हेरेको थिएँ, सुहागरात मनाउने कोठाको सजावट । अनि झलझली त्यही दृश्य मनना आयो, आँखा अगाडि त बिट फाटेको गुन्द्री र सतरन्जा थियो । टाटैटाटा भएका, सायद बिरालाको मुतका टाटा होलान ।
खै कता कता गएर राति १० बजे मात्रै आइपुगे, कोठामा मेरा दुलाहा राजा । १६ वर्ष केही महिना मात्रै भएको थियो उमेर,आफैंलाई देखेर काउकुती लाग्ने उमेर, आफैंले आफैंलाई छोएर रोमाञ्चित हुने उमेर ।
कुनै पुरुषलाई नजिकै बाटै सेण्डोमा मात्रै देख्दा कस्तो, भयो होला त्यो उमेरमा । कस्तो लाज नभएका नि, केटा मान्छे । हनुमान कट्टुमा नजिकै आएर बस्यो ।
चुपचाप । न चाल छ, न गति छ । न आवाज । सास फेराइबाट मात्रै हो, मान्छेमा प्राण छ भन्ने पुष्टि भएको ।
अरु कुरा गर्दै गरुला, पहिले भोक मारौं, गहिरो निन्द्रबाट झल्याँस्स ब्यूझिएँ जस्तो भएँ ।
मुखबाट पहिलो वाक्य निस्कियो– ‘भोक लाग्यो ।’
खै यो वाक्यले दुलाहा राजालाई त करेन्ट पो लागेछ । हनुमान कट्टुमै उठेर बाहिरिए । भान्छामा आफैंले छामछुम गरेर कचौरामा मासु र भात हालेर ल्याइदिए ।
परेन फसाद, – ‘शाकाहारी मान्छेलाई मासुभात ।’
‘म मासु खान्न नि ।’
मुखबाट केही जवाफ आएन, बिजुली गतिमा बाहिरिए, फेरी भान्छाबाट डाडू चलाएको आवाज आयो ।
मंसीर महिनाको रातमा तातो दूध र भात हातमा । गजब्ब भयो ।
पानी खोज्न कहाँ जानु, बेस्सरी हात चाटे, जिब्रोले नै मुख बढारें, काम चलाएँ ।
ओछ्यानमा पल्टिएँ, सतरन्जा र गुन्द्रीको हालत अघि नै थाहा थियो ।
‘हामी यसमै सुत्ने हो ?’
हनुमान कट्टुधारी यो पटक चाहिँ उठेनन्, कोठाबाटै चिच्याए– ‘आमा ! यहाँको सिरक डसना खै ?’
आमा पल्लो कोठाबाटै चिच्याइन – ‘तेरो स्वास्नीले ल्याएकी छ होला नि, दाइजो । त्यसमै सुत ।’
मुरमुर्रिदै, भुतभुताउँदै । कोठाबाट निस्किए, अनि केहीबेरमा हातमा सिरक र डसना बोकेर फर्किए । सिरानी र तन्ना बिनै बित्ने भयो ‘सुहागरात’ ।
पहिलो पटक सेण्डोधारी पुरुष नजिकै आयो । १६ वर्षे युवतीको शरीरमा एकाएक करेन्ट प्रवाह भयो । आफैं पो सक्रिय हुन पुगे छु, अनायसै, हातहरु स्वचालित भए । गोडा चढाएँ, उसलाई । छेउतिर फर्किएको उसलाई काँधनेर हात पुर्याएर बिस्तारै आफूतिर तानें, कति सजिलै फर्किएको, सानो खेलौना पुतली जस्तै ।
सायद यही बेलामा त होला पुरुषलाई काबुमा राख्न सक्ने !
मुखामुख हुनु के थियो, एकैचोटी रक्सीको गन्ध पेटमै पुग्यो ।
एक मन त फरक्क अर्कैतिर फर्किउँ जस्तो भयो । मन र शरीरको युद्धमा शरीरले जित्यो । देख्दामात्रै तात्तिएको म छोएपछि त पग्लिएँ ।
ऊ अघिदेखिनै सेण्डो र हनुमान कट्टुमा थियो । म दिउँसो जग्गेमा जस्तो थिएँ, अहिले पनि त्यस्तै नै थिएँ ।
बिस्तारै दुई जोडि हातहरु एक अर्कोको शरीरमा सल्लबलाए । केहीबेरमा हामी दुबै जन्मनेबित्तिकैको अबस्थामा पुग्यौंं ।
जति कोशिस गर्दा पनि केन्द्र फेला परेन, उ शिथिल भयो, अनि केहीबेरमा निदायो । म कल्पनामै रमाएँ, आज नभए के भयो त पूरै जिन्दगी बाँकी छँदैछ नि ?
∞∞∞
‘जुनेली तँ मरिस, हाम्रा लागि ।’ म रातको ९ बजे घरको ढोकाबाट बाहिर निस्कँदै गर्दा दाइहरुले बोलेका शब्दहरु कानमा ठोक्कियो । कान त के दुख्थ्यो र, मुटुमै तीखो छुरी रोपिए जस्तो भयो । कहाँ जाने के गर्ने भन्ने केही सोच्न सकेकी थिइन । यत्तिमात्रै थियो । आजको रात सकुशल काटौं, भोलि उज्यालो होला, अनि देखाजाएगा ...
स्कूले साथी थिइन । बाआमा एउटा घरमा अनि ऊ अर्को घरमा सुत्थिन, मेरा लागि यो भन्दा उपयुक्त र सुरक्षित बिकल्प अरु थिएनन, १० मिनेट हिंड्दैमा उसको घर पुगिन्थ्यो ।
संयोगले म पुग्नु र ऊ खाना खाएर सुत्न आउने बेला ठ्याक्कै मिलेछ । उसको पछि लागेर, हतार हतार ढोका लगाउन लगाएँ । एक सासमा उसको ओछ्याउनमा पुगेपछि लामो सास फेरेर सबै कुरा बेलिबिस्तार लगाएँ । ऊ पनि दुःखी भइ । मेरा दाइहरुप्रति निकै क्रुद्ध भइ । आफ्नै दाइहरुलाई गाली गर्दा पनि मलाई पटक्कै रीस उठेन, पहिले पहिले दाइहरुका विरुद्ध कसैले एक शब्द बोले पनि नाकका फोहोरा ठूलठूला हुन्थे ।
‘हेर जुनेली, तेरा बा भएका भए यो अवस्था आउने थिएन, दाइहरुलाई तँ बढी भइस, पन्छाउन खोजे । बहिनीका इच्छा नबुझ्ने कस्ता दाइहरु ।’
हुन पनि बा ५५ वर्षको हुँदा म जन्मिएँ । बा के हो, को हो, कस्तो हो भन्ने अनुभव नै गर्न पाइन । बा बिते । आमालाई पनि कान्छीको बेलैमा ‘बिहेदान’ गर्दिन पाए, स्वर्गको ढोका खुल्थ्यो भन्ने ‘विश्वास’ थियो ।
काठमाडौंमा घर भएका धनी परिवारको छोरा रे, त्यही दिन मलाई हेर्न आएका, दाइहरुले त मलाई दिइसकेका रहेछन । अब टीकाटालो गर्ने रे । साँझ परेपछि आएका थिए, ती केटा दाइकै सल्लाह अनुसार । तर खै त्यो मान्छे देख्ने वित्तिकै के भयो, भयो । मलाई मृत्यु स्वीकार भयो तर बिहे अस्वीकार । बिहे त गर्दिन भन्ने नै थियो । र त झगडा गरेर निस्किएँ घरबाट ।
दाइले ल्याएका केटा देख्ने बित्तिकै दिगमिग लाग्यो, घिन लाग्यो । हेर्नै नसकेको मान्छेसँग कसरी जीन्दगी बिताउने । अहिलेसम्म कुनै केटा देखेर त्यस्तो भएकै थिएन ।
८ कक्षाको जिल्ला स्तरीय परीक्षामा जिल्ला प्रथम भएकी मान्छे पो । राम्रो पढ्नेमा कहलिएकी । एसएलसीमा पनि ७० प्रतिशत अंक । मेरो प्राथमिकता बिहे हुँदै होइन, पढाइ, पढाइ र पढाइ नै हो । तर दाइहरु र आमाको पहिले प्राथमिकता बिहे ।
त्यो रात साथी म गफ गरेर बितायौं, जेठ महिना पाँच बज्दा नबज्दै उज्यालो हुन्थ्यो । त्यसअगावै गाउँ छोड्नु थियो ।
दिदी थिइ मलाई बुझ्ने तर बिहे भएर गइसकेकी । उसकै घर गएँ । भिनाजुलाई म झगडा गरेर हिंडेको पहिल्यै थाहा थियो ।
भिनाजु घर नपुग्दै, मैले नै दिदीलाई सबै कुरा भनिसकेको थिएँ । केहीबेरमा भिनाजु पनि घर पुगे । भिनाजुलाई पनि मेरो निर्णयले दुःखी चाहिं बनाएको रहेनछ । न त विरोध गरे, न त समर्थन नै । बीचमा बसे ।
दिदीको घरमा एक हप्ता बसें । आमा विरामी विरामीनै थिइन । झन गारो भएको खबर पुग्यो । आमा पनि विरामी, भर्खरै शुरु गरेको बोर्डिङ पढाउने जागिर । दोहोरो दबाबमा थिएँ । जे भनुन भनेर घर फर्किएँ । दाइहरु आआफ्नो काममा काठमाडौं फर्किसकेका थिए । विरामी आमाको स्याहार सुसार गर्नु पहिलो काम थियो । काम मात्रै हैन, कर्तव्य नै थियो । घर नजिकैको स्कूल नभ्याउने कुरै भएन ।
स्कूल पुगेपछि पो थाहा भयो, फलानाका छोरी जुनेली त, फलानो ’दमाई’ को छोरोसँग पोइल गइ भनेर हल्ला फिजाइएको रहेछ । स्कूलबाट पनि हटाउने भन्ने प्रिन्सिपलको तयारी, स्टाफ मिटिङमै प्रस्तुत भइसकेको रहेछ । आफ्ना कुरा राखिसेकपछि, प्रिन्सिपलसहितका सबैले गल्तीबाट जोगिएको भन्ने आयश ब्यक्त गरे । म जागिरमा जोडिएँ, बिना जानकारी एक हप्तासम्म बिदा बस्नुको मौखिक स्पष्टिकरणसहित ।
आमा अलिअलि तंग्रिएपछि देखि नै फेरि गनगन शुरु भइहाल्यो । तेरै लागि भनेका हौं, मानिनस, अब दुःख पाउँछेस । गाउँभरी नराम्रो हल्ला फिजियो, अब कस्ले बिहे गर्छ तँसँग आदिइत्यादि । जेठदेखि मंसीरसम्म यही कुराले टाउको खान्थ्यो । स्कूल चलिरहेकै थियो । स्कूलले दिएको तलबले मेरो कलेज फि र खाजा पुगेकै थियो । बाको पेन्सनले आमाको औषधि उपचार र घरखर्च चलेकै थियो ।
मंसीर २५ गते स्कूलबाट घर पुग्दा तीन जना अपरिचित पाहुना रहेछन । आमासँग गफ गरेर बसिरहेका । दुई जना बूढा र एक जवान तन्नेरी । मलाई आफ्नै मन पर्ने एउटा बानी छ नयाँ मानिसका सामु हात जोडेरै नमस्कार गर्र्छु । नमस्कार गरेर सरासर कोठामा गएर लुगा फेर्दै थिएँ । तल आमा र पाहुनाहरुको गफ पनि सुनिरहेको थिएँ । कुरा बुझ्दै जाँदा मलाई नै ’माग्न’ आएका रहेछन । छोरी मान्दिन हजुर के गर्नु, पढाइ नसकी बिहे गर्दिन उसले । ठीकै छ नि हजुर बुहारी भनेकी नि छोरी नै त हुन हामी पढाइहाल्छौं नि । घर नजिकै कलेज पनि छँदैछ, नभए कोठा लिएर भए पनि पढाउँछौं ।
कुराकानी लम्बिँदै गयो, आमा र म मात्रै भएकाले खाना बनाउनु पर्ने मैले नै थियो । मासको दाल, बारीमा भएको रायो साग र आँगनको डिलमा फलेको रुख टमाटर पिनेर टिमुर मिसाएको अचार बनाएँ । ४५ मिनेटमै तयार भयो दाल, भात, तरकारी र अचारसहितको भान्छा । पस्केर दिएँ । थपिथपी खाए । बोली पनि मीठो, हात पनि मीठो । मान्छे पनि ठीकठाक । के चाहियो र ?
हामीलाई त यत्तिको बुुहारी मन्जुर छ । बूढाहरु अन्तिम गाँस सकेर औंला चाट्दै बोलिरहेका थिए । मचाहिं यस्ओ । केटापट्टी चियाइचियाई हेर्थे, बजिया हेन्सम नै लाग्यो हो ।
मनमनै यत्तिको केटा भए त हुन्छ है भन्ने थियो, तै पनि म पढाइ पढाइ, भनिरहेको थिएँ । पढाउने बाचा गरिरहेका थिए उनीहरु पनि । भोलि लगन पनि छ, टीका लगाएर पठाउनु हुन्छ भने त हामी तयार छौं है, हजुर ।
आमाले पुलुक्क मेरो मुखमा हेरिन, मैलै हुन्नको भावमा टाउको हल्लाएँ । माथि कोठमा उक्लिएँ । आमा डाँको छोडेर रुन थालिन, अब चाहिं म बाँच्दिन, कि मेरो लास हेर्न तयार हो कि अन्मिन ।
केही पो गरिहाल्छिन कि भन्ने डर भो । अनि हतार हतार तल ओर्लें । म विहे गर्छु, तर भोलिनै टीका लगाएर चाहिं जान्न ।
२६ गते विहान २९ गते विवाह गर्ने तय भयो । सानो तिनो भोज आफैंले गर्ने, दाइजोको नाममा केही पनि नदिने, म घरकै एकसरो लुगामा अन्मिन्छु । हजुरहरु यसमा राजी हुनुपर्छ ।
तीनै जनाले सहमति सूचक टाउको हल्लाए ।
आमाले दाइहरुलाई फोन गरिन, कान्छो दाइ त्यही दिन हुर्रिदै, घर पुग्यो । माइलो र जेठो । जन्तीभन्दा केहीबेर अघि मात्रै । जे होस सात महिना अघि तँ मरिस भनेर हिंडेका दाइहरुले विवाहको दिन टीका लगाइदिए । मैले सानोतिनो युद्ध जितेको ठानें ।
तर त्यही दिनबाटै अर्को लडाईं शुरु भयो ।
दाइजो केही नल्याएको भनेर रीसमा सुहागरातको दिनै सिरक डसना लुकाई दिने सासू, बिहेकै दिन रक्सी धोकेर आउने ‘लोग्ने’विरुद्ध ।