हाँसी खुसी विवाह गरेको जोडी लामो समयसम्म पनि सन्तान नहुँदा रन्थनिएको छ । भाउन्निएको छ । लागेशक्ति हर उपाय अपनाउँदा पनि केही नलागेपछि अहिले पुर्पुरो हा राखेर मेरो त ‘भाग्य’ नै यस्तो भनेर बसिरहेको छ । तर उसलाई आफूले विगतमा के गरें भन्ने कुराको हेक्का नै छैन् । किशोरवयमा गाँजादेखि चरेश हुँदै नशालु पदार्थले भरिएको सुईको समेत अत्यधिक प्रयोग गरेको हेक्का गरेको भए, पुर्पुरोमा हात राख्नु पर्ने थिएन, भाग्यलाई दोष दिनु पर्ने पनि थिएन ।
∞∞∞
लामो समय लागूऔषधको दलदलमा फसेका एक पुरुषले निकै ढिलो गरी विवाह गरे, सन्तान पनि जन्मिए । हेर्दा सब ठीकठाक छ, छोराहरु बोल्न सक्दैनन ।
∞∞∞
स्कूल पढ्ने बेलामा यौन तथा प्रजनन शिक्षाको पाठ पनि थियो । स्कूलमा पढाइ हुने त त्यस्तै हो । स्वास्थ्य तथा जनसंख्या शिक्षाको ती पाठहरु घरमै पढियो । के हो, कसो हो भन्ने कुनै मेलोमेसो थिएन । सरर पढियो, भुलियो । एक दिन एक जना साथी बढो गम्भीर भएर आयो । कक्षाभरीका सबै केटा साथीहरुलाई एकएक गरी एकान्तमा बोलाउँदै सोध्दै गर्यो । पछि सबैले के सोधेको भनेर एक अर्कोले कानेखुसी गरे । अनि थाहा भयो, उसले सबै साथीहरुलाई ‘तेरो अण्डकोष कत्ति वटा छ’ भनेर सोधेको रहेछ । सबैको समान जवाफ थियो– ‘दुई वटा’ । जसले प्रश्न सोध्यो, उसले आफ्नो बारेमा रहस्योद्घाटन गर्यो एउटा मात्रै अण्डकोष छ भनेर । उसलाई अण्डकोष एउटै छ भन्नेमा चिन्ता हैन रहेछ । एउटा मात्रै अण्डकोष हुनेको सन्तान हुँदैन भनेर कसैले भनिदिएको रहेछ, त्यसले बढो चिन्ता रहेछ । निःशन्तान हुनु पर्ला भन्ने पीरले उसलाई उहिल्यैदेखि सताएको रहेछ । विवाहको दोस्रो वर्ष नै छोरो बोकेर ससुराली गएको देखियो ।
∞∞∞
खाडीमा लामो समय रोजगारी गएर आएका एक विवाहको लागि भनेर तीन महिनाको छुट्टी लिएर आए । आएको केहि दिनमा विवाह पनि भयो । अढाइ महिना श्रीमान श्रीमतीसँगै बसे, युवा विदेश लाग्यो । दुई वर्ष विदेश बसेर आयो । त्यसपछि श्रीमानश्रीमतीसँगै छन, तर सन्तान भएको छैन । केही समस्या पक्कै छ, परीक्षणका लागि अस्पताल पुगे, तर फरक फरक समयमा । दुवैले भन्छन– ‘डाक्टरले केही समस्या छैन’ भनेर पठायो । तर सन्तान भएका छैनन, यसमा केही न केही समस्या त होला । उनीहरुसँगै परीक्षणका लागि गएका छैनन । यसले पनि शंका गर्ने ठाउँ चाहिं, कि डाक्टरमा शंका गर्नु पर्यो, कि श्रीमान श्रीमती मध्ये एकमा समस्या छ र लुकाइरहेका छन भन्ने बुझ्नु पर्यो । एकले अर्कोलाई आरोपित गरेर त दाम्पत्य जीवन नचल्ला ।
∞∞∞
फागुन अन्तिम हप्ता ३९/४० वर्षीया महिलाको विवाह भयो । विवाह ठ्याक्कै भनेकै समयमा नहुन नि सक्छ । विवाह पछि दम्पत्तीलाई सन्तान सुख भोग गर्ने रहर त पक्कै होला । कदमकदाचित सन्तान भएनन । र परीक्षणले ढिलो विवाह गरेकै कारणले सन्तान नभएको पुष्टि भयो भने ती महिलाको मनमा के के बिझ्दो हो । सन्तान नहुनुको पीडा कुनै पनि शब्दले, वाक्यले सम्बोधन गर्नै सक्दैन ।
∞∞∞
माथिका उदाहरणहरु पंक्तिकारले देखेका यही समाजका हुन । अहिलेलाई यत्ति मात्रै उल्लेख गरियो, यस्ता अन्य कैयौं उदाहरण छन । अब डाक्टरहरुको अनुभव सुनौं, विज्ञानले के भन्छ भन्ने कुराहरु हेरौं । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजाल भन्छन– नेपालमा निःसन्तान दम्पतीको संख्या १२ देखि १५ प्रतिशत छ । त्यसमा ३३ प्रतिशत महिला, ३३ प्रतिशत पुरुष तथा ३३ प्रतिशत महिला र पुरुष दुवैमा समस्या देखिएको छ । बाँझोपन के हो ? भन्ने विषयमा अक्षर अक्षर नमिले पनि डाक्टरहरुको साझा धारणा छ, विज्ञानको साझा बुझाइ छ । तर नेपाली समाज बाँझोपनलाई नराम्रो दृष्टिकोणले हेर्छ । महिलाको बाँझोपनलाई त समाजबाटै तिरस्कार गर्न खोजिन्छ । महिलाको बाँझोपनलाई समाजको अगाडि उभ्याउने र पुरुषको बाँझोपनलाई नजरअन्दाज गरेको पनि भेटिन्छ । बाँझोपन महिलामा मात्रै हुने समस्या हो भन्ने गलत धारणासमेत विद्यमान छ । यसकै कारण महिलाहरू घरेलु हिंसाको शिकार बन्न पुग्छन्। जबकि बाँझोपनको समस्या महिला र पुरुष दुवैमा बराबर मात्रामा हुन्छ । बाँझोपनको समस्या र यसबाट मुक्त हुन श्रीमान तथा श्रीमती दुवै जनाको भूमिका उत्तिकै रहन्छ ।
महिला वा पुरुषका प्रजनन अङ्गमा आएको खराबीका कारण गर्भाधान नहुनुलाई बाँझोपन वा निस्सन्तान भनिन्छ । यो आफैंमा एउटा रोग हो भने अन्य रोगका कारण पनि बाँझोपनको समस्या निम्तिन सक्छ । महिलामा रजस्वला हुँदा ३ देखि ४ लाख अण्डा स्टोर भएका हुन्छन । महिलाको प्रजनन उमेरभर ३ सयदेखि ४ सयपटक महिनावारी हुन्छ र हरेक पटक एउटा मात्र अण्डा निष्कासन हुन्छ । विशेषगरी महिनावारी भएको १२–१३ औं दिनमा अण्डा निष्कासन हुन्छ । यही समयमा यौन सम्पर्क भै अण्डाले शुक्रकीट पायो भने गर्भ बस्छ । अण्डाको आयु १५ देखि २० घण्टा हुन्छ । महिनाको एकपटक मात्र आउने यो गोल्डेन समयमा अण्डा र शुक्रकीटको मिलन भए त्यसबाट भ्रुण बन्ने प्रक्रिया सुरु हुन्छ ।
केही महिलामा जन्मजात नै बाँझोपनको समस्या हुन्छ भने कतिपय अवस्थामा डिम्बाशयले निकालेको अण्डा तल झर्न पाउँदैन । गर्भनलीमा समस्या भए अण्डा निस्कन सक्दैन र शुक्रकीटसँग अण्डाको मिलन हुन पाउँदैन । महिलाको उमेर धेरै भएको अवस्थामा डिम्बले आवश्यकताअनुसारको अण्डा उत्पादन गर्न सक्दैन । त्यसकारण पनि गर्भ रहन सक्दैन ।
डिम्बले चाहिनेभन्दा बढी अण्डा उत्पादन गर्दा पनि बाँझोपनको समस्या उत्पन्न हुनसक्छ । अण्डा फुट्न १८ देखि २० मिलिमिटर साइजको फोका हुनुपर्छ तर धेरै भयो भने १० मिलिमिटरभन्दा माथि जाँदैन र अण्डा फुट्नै धेरै दिन (४०–४५ दिन) लाग्न सक्छ । यसमा गर्भ बस्ने सम्भावना निकै कम हुन्छ । धेरै पटक पेटको अप्रेसन गरिएको छ भने डिम्बाशय पेटमा टाँसिन्छ र अण्डा निस्कदैन । पाठेघरमा ट्युमर, विभिन्न किसिमका इन्फेक्सन हुँदा, गर्र्भिनरोधक औषधि बढी प्रयोग गर्दा तथा धेरै नै क्युरेट गरिएको छ भने बाँझोपनको समस्या हुन्छ ।
विवाहपछि महिला र पुरुषले कुनै पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा, करिब १ वर्षसम्मको समयावधिमा पनि बच्चा नभएको अवस्थालाई बाँझोपन भनिन्छ । लगभग ८५ प्रतिशत दम्पतिमा विवाहको पहिलो वर्षमै कोसिस गरेमा बच्चा हुने सफलता हुन्छ भने यसमध्ये ७ प्रतिशत दम्पतिमा विवाहको दोस्रो वर्षमा बच्चा हुने समभावाना हुन्छ । बाँकी १५ प्रतिशतलाई बाँझोपनमा राख्न सकिन्छ ।
के हुन त बाँझोपनका कारण ?
– महिलाको महिनावारी गडबड हुनुः महिलाको महिनावारी करिब २१ देखि ३५ दिनसम्म हुनुपर्छ । कति जनामा ४५ दिनसम्ममा पनि महिनावारी नहुने हुन्छ । यसमा डिम्ब निष्काशनमा गडबडी हुनु मुख्य कारक हो, जस्तैः पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम ।
– डिम्बवाहिनी नली बन्द हुनुः जसमा क्षयरोग एउटा मुख्य कारक हो । यस्तो इन्फेक्सनले शुक्रकिटको गतिविधिमा पनि पनि आउँछ र भ्रुण बस्न गाह्रो हुन्छ ।
– पाठेघरको संक्रमणः यौन सम्पर्कबाट सर्ने रोग, क्ल्यामाइदिया, गोनोरहिया जस्ता संक्रमणले गर्दा पाठेघर, डिम्बवाहिनी नलीका इन्फेकसन तथा इन्फ्लामेसन हुन्छ अनि डिम्बवाहिनी नली बन्द हुन जान्छ ।
– पाठेघरको ट्युमर्सः पोलिप र फाइब्रोइद जस्ता ट्युमरले बच्चा बस्न दिँदैन अनि बाँझोपन हुन जान्छ ।
– महिलाको बढ्दो उमेरः ३५ वर्ष माथिका महिलामा डिम्ब कम हुँदै जान्छ, जसका कारण बाँझोपनको समस्या देखापर्न जान्छ ।
– जन्मजात पाठेघरको विकास नहुनु ।
– गर्भपतनः पहिलो शिशु नजन्माई गर्भपतन गराउनु अथवा बारम्बार गर्भपतन गराउनु, जसले गर्दा पाठेघर पातलो हुन जान्छ र पाठेघरको भित्ता एक–अर्कासँग टाँसिन जान्छ ।
महिलाको कुरा पछि अब पुरुषको कुरा गरौं ।
शुक्रकीटको संख्या कम र गति निकै कम हुँदा पुरुषमा बाँझोपनको समस्या देखिन्छ । एक एमएल वीर्यमा डेढ करोड शुक्रकीट हुनुपर्छ । त्यसमध्ये ४० प्रतिशत सक्रिय हुनुपर्छ तर कसै–कसैमा १० मिलियन वा त्यसभन्दा पनि कम हुनसक्छ । यस्तो अवस्थामा ६० प्रतिशत शुक्रकीट सक्रिय हुनुपर्छ । त्यस्तो नभए बाँझोपन भएको बुझ्न सकिन्छ । शुक्रकीटको आकार पनि यसको अर्को कारण हो । सामान्यतया शुक्रकीटको टाउको र पुच्छर जोडिएको हुन्छ । तर कतिपयमा पुच्छर नहुने र कतिपयका टाउका दुईवटा हुन्छन् । यस्तो अवस्थामा पनि बाँझोपन हुनसक्छ । अण्डकोषमा बढी तापक्रम हुँदा शुक्रकीट उत्पादनमा कमी आउन सक्छ । त्यस्तै जिम गर्ने क्रममा स्टोरोइड भएका खाना बढी खाँदा बाँझोपन हुनसक्छ । जंक फुड बढी खाँदा पनि बाँझोपन उत्पन्न हुनसक्छ । केही पुरुषमा जन्मजातै बाँझोपनको समस्या हुन्छ । यस्ता पुरूषमा शुक्रकीट नै उत्पादन हुँदैन । लिङ्गबाट सेतो पदार्थ निस्किए पनि त्यसमा शुक्रकीट भने हुँदैन । लिङ्ग र अण्डकोषबीचको नलीको खराबी र अण्डकोषको आकार निकै सानो भए पुरुषमा बाँझोपन हुन्छ ।
– वीर्यमा हुने शुक्रकिटको मात्रा कम हुनु (ओलिगो स्पर्मिया), शुक्रकिट स्वस्थ नहुनु वा शुक्रकिट नै नहुनु (एजोस्परमिया) ।
–विर्यनलीमा सिस्ट, ट्युमर भएमा ।
– पुरुषको गुप्ताङ्गको विकास राम्रोसँग नभएमा ।
अन्य (जीवन शैली)
अत्यधिक मात्रामा धूमपान तथा मदिरा सेवन, जसको कारण पुरुषमा शुक्रकिटको मात्रा कम हुने हुन्छ भने महिलामा पनि यसले गर्भ नरहनुमा उत्तिकै भूमिका खेल्छ । मोटोपन, खानपानको कमी, जंक फुडको बढी प्रयोग आदि । मानसिक तनावले गर्दा पनि बाँझोपन हुन्छ किनभने मस्तिष्क तथा पाठेघर एक–अर्काप्रति निर्भर हुन्छन् ।
बाँझोपनमा गरिने जाँच
– हिस्ट्री (श्रीमान् र श्रीमती): हिस्ट्रीबाट पनि केही मात्रामा कसमा र के–कस्तो कारणले गर्दा बाँझोपन भएकोे छ भनेर पत्ता लगाउन सकिन्छ ।
– टिभिएसः यस प्रविधिबाट पाठेघरको ट्युमरहरू जस्तैः फाइब्रोइद र पोलिप, डिम्बासयका ट्युमरहरू पत्ता लगाई बाँझोपनको कारण थाहा पाउन सकिन्छ ।
– रगत परीक्षण : यसमा विशेषगरी हर्मोनको जाँच गरिन्छ, जस्तैः टिएसएच, एफएसएच, एलएच, इटु, एस आदि ।
– विर्य परीक्षणः यसमा पुरुषको विर्य जाँच गरिन्छ ।
– विर्यमा शुक्रकिटको संख्या र कन्सनट्रेसनः सामन्यता २० मिलियन ।
–शुक्रकिटको चल्ने क्षमता र मोटिलिटी स् सामन्यता ४० प्रतिशतभन्दा माथि।
–शुक्रकिटको आकार र मोर्फोलोज ।
बाँझोपनको उपचार
– उपयुक्त परामर्शः निःसन्तान दम्पतिलाई डाक्टर स्वयंले परामर्श र काउन्सेलिङ प्रदान गर्नुपर्छ । आवश्यक परेको अवस्थामा निःसन्तान दम्पतिको घर–परिवारसहितलाई पनि काउन्सेल्लिङ गर्नुपर्ने हुन्छ ।
– औषधि पद्धतिद्वारा उपचार र मेडिकल थेरापीः महिलामा अन्डाको मात्रा बढाउन र ओभुलेसन गराउन गोनाडोत्रोफिन औषधि प्रयोग गरिन्छ जसले केही मात्रामा बाँझोपन कम गर्न सहयोग र्पुयाउँछ। त्यसैगरी पुरुषको निम्ति केही प्रकारका औषधि उपलब्ध छन् जस्ले शुक्रकिटको मात्रा बढाउन मद्दत गर्दछ (ऐन्टी अक्सिडेन्ट, भिटामिन) ।
– आइयुआई÷आइभिएफ प्रविधिः आइयुआई भन्नाले पुरुषको विर्यलाई चालेर महिलाको पाठेघरमा सिधै राख्ने प्रक्रिया हो । यो करिब २० प्रतिसतमा सफल हुन्छ र ४–६ पटकसम्म गर्न सकिन्छ । आइभिएफ प्रविधिमा महिलाको डिम्बासयबाट डिम्बलाई अलग गरी शरीर बाहिर ल्याबमा पुरुषको शुक्रकिटसँग निषेचित (फर्टिलाइज) गरिन्छ । त्यसपछि तयार भएकोे भ्रुणलाई महिलाको पाठेघरमा प्रत्यारोपित गरिन्छ । यस प्रविधिको मद्दतबाट निषेचनको प्रक्रिया त्यो महिलामा पनि गर्न मिल्छ, जसको श्रीमानमा शुक्रिकटको मात्रा धेरै कम भएकोे पाइन्छ । यो साधारणतया ४०–५० प्रतिशत व्यक्तिमा सफल हुन्छ ।
– शल्यक्रिया, ल्याप्रोस्कोपिकः यदि बाँझोपनको कारक पाठेघर, डिम्बासयको ट्युमर भएमा त्यसलाई ल्याप्रोस्कोपिक प्रविधिद्वारा निकाल्न मिल्छ ।
–हिस्टेरोस्कोपिकः यस प्रविधिबाट पाठेघरभित्र रहेका साना ट्युमर हिस्टेरोस्कोपको माध्यमबाट (पाठेघरभित्र भिडियो पठाई शल्यक्रिया) बिना पेट खोली योनाङ्गको बाटोबाट निकालिन्छ ।
यौन प्रक्रियामा भाग लिने प्रजनन अङ्गहरू (योनि, पाठेघरको मुख, पाठेघर, गर्भनली र डिम्ब) ले आफ्नो भूमिकाअनुसारको कार्य गर्न नसक्दा महिलामा बाँझोपनको समस्या देखिन सक्छ । पुरुषमा भने मुख्यतः वीर्यका कारणले बाँझोपनको समस्या उत्पन्न गर्छ ।
महिलामा बाँझोपनको समस्या भए–नभएको थाहा पाउन पाँचवटै अङ्गको जाँच गर्नुपर्ने हुन्छ तर पुरुषको हकमा वीर्य मात्रै जाँचे पुग्छ । पुरुषको शुक्रकीटलाई माइक्रोस्कोपमा राखेर त्यसमा शुक्रकीट छ कि छैन भनी परीक्षण गरिन्छ । त्यस्तै कति संख्यामा छ ? त्यसको गति कति छ ? आकार कस्तो छ भन्ने कुरा १० मिनेटमै थाहा हुन्छ । महिलाको हकमा भने केही दिनको परीक्षणपछि मात्र बाँझोपनको समस्या भए–नभएको र के कारणले भएको पत्ता लगाउन सकिन्छ ।
विश्वमा प्रत्येक वर्ष पूरुषमा दुई प्रतिशतले प्रजनन क्षमतामा कमी आइरहेको पछिल्लो एक अध्ययनको निष्कर्ष छ । पुरुषमा प्रजनन क्षमता घट्दै जानुमा अत्यधिक तनाव, रेडियसनको प्रभाव, विभिन्न वस्तुमा प्रयोग गरिने रसायन, धूम्रपान, मद्यपान, अनिद्रा, अस्वस्थ खानपान, मोबाइल तथा कम्प्युटरको प्रयोग आदिलाई लिइन्छ । करिब १५ प्रतिशत बाँझोपनको कारण नै थाहा हुँदैन ।
सन्तानको कुरा वा योजना विवाह पछि मात्रै शुरु गर्ने विषय हो वा अघि नै भन्ने वहस गर्ने बेला भइसकेको छ । हरेक हिसावले सुरक्षित र योग्य छु भन्ने भएपछि मात्रै वैवाहिक सम्बन्ध शुरु गर्नु उपयुक्त हुन्छ । बाँझोपन छ छैन भन्ने विवाह अघि नै पत्ता लगाउन सकिने कुरा भएकैले विवाह भइसकेपछि तनाव लिनु पर्ने जरुरी नै देखिदैन ।