‘बाबु बाटोमा खाजा के खायौ ?’
‘कुरमुरे’
‘किन ?’
‘के खाउँ, के खाउँ भयो अनि ....’
‘डाक्टरले खाँदै नखानु भनेर पठाउनु भएको हैन ?’
‘हो, त के खाउँ, के खाउँ भयो अनि एउटा मात्रै कुरमुरे खा’को ।’ (माया लाग्दो गरी जवाफ दियो ।)
‘भनेको नमाने पछि कसले उपचार गर्छ, अब छोरो तिमीलाई ।’
‘अब खान्न नि ।’ आठ वर्ष पुग्नै लागेको अवोध बालकले माया लाग्दो आवाजमा प्रतिबद्धता गरेको थियो ।
∞∞∞
निरन्तरको खोकी पछि उपचार गरेर घर फर्कदै गरेको छोरोले बसमा खाजा कुरमुरे खायो । जबकी डाक्टरले जंग फुड खुवाउँदै नखुवाउनु भनेकी थिइन, बाबुलाई नखाउनु भनेकी थिइन, हुन्छ भनेर टाउको पनि झुकाएको थियो । इलर्जीका कारणले निरन्तर खोकी लागेको निष्कर्ष थियो डाक्टरको । खानामा रुची कम गर्छ, कसरी रुची बढाउने, भोक जगाउने भन्ने प्रश्नमा डाक्टरको जवाफ थियो– पहिले जंक फूड र चकलेटहरु बन्द गराउनुहोस, अनि पनि खाना खान रुची गरेन भने उपाय सुझाउँला ।
मैले जुन डाक्टरलाई देखाएँ, ठीकै लाग्यो । ठीक लाग्नुको कारण एकभारी औषधि बोकाइनन, अनि इन्टिबायोटिक चलाउने सिफारिस गरिनन । औषधि खान थालेको भोलिपल्टै असर देखिन थाल्यो । तर जहिले पनि मनमा चाहिं एउटै कुरा खड्किरहन्छ, घरबाट अस्पताल आउजाउ गर्नुभन्दा पनि डाक्टरको फि महंगो पर्छ । कलंकी बस्ने भएकाले नजिकैको एक अस्पतालमा गएँ, अस्पतालको भन्दा पनि डाक्टरको भर लागेर गएको । कारण बच्चाका लागि कान्ति बाल अस्पताल ठीक लाग्छ, कान्तिकै डाक्टर आउने भनेपछि अलि बढी विश्वास हुने रहेछ । सोमबार साँझ डाक्टरको पुग्दा विरामीको लाम निकै रहेछ, विरामी धेरै भएका हुन कि डाक्टरको विश्वास बढी ? ‘भीड’ मा मिसिदा सही ठाउँमा पुगिएछ छन्ने लाग्ने कस्तो मनोविज्ञान हाम्रो । त्यो साँझ टिकट लिन अलि ढिलो भएकाले २४ नम्बरमा पालो आयो । त्यो दिन जँचाउन २७ जनाले नाम लेखाएका रहेछन । बुधबार फलोअपका लागि जानको लागि दिउँसो दुई बजे नै टिकट लिँदा १४ नम्बरमा पालो आयो । टिकटले लिनेको संख्यालाई पाँच सय ३५ रुपैंयाले गुणन गरें, अनि एकतिर ती डाक्टर र अर्कोतिर स्वदेशमा कमाई छैन भनेर विदेश पलायन हुनु परेको जवाफ दिने डाक्टरहरुलाई सम्झिएँ ।
∞∞∞
ती डाक्टरले भनेकी थिइन, कम्तिमा एसएलसी (अहिलेको एसईई)सम्म बच्चाहरु अभिभावकको आँखा अगाडि हुन्छ, त्यही भएर अभिभावकले नै हेरविचार गर्ने हो । त्यसपछि आफ्नो हेरविचार आफैंले गर्छन ।
पहिले जंक फुड बन्द गराउनुहोस, अनि खाना खान मन गरेन भने भन्नुहोला । सालिन तरिकाले दिएको यो गज्जबको चेतावनी थियो । यो चेतावनी वा काम अभिभावकलाई निकै कष्टकर छ । किनकी बाल, स्त्री र राजहठका सामु झुक्नुको विकल्प छै भन्ने कहावत जो छ । आफ्नो वरिपरि हुँदा त नकिनिदिउँला, नखाला । तर मौका मिल्ने बित्तिकै लाष्ट एउटा मात्रै खान्छु भनेर भन्छ । त्यो अन्तिम, बारम्बार दोहोरिरहन्छ । तपाईं अलि कडा भएर बन्द गराउनु होस बच्चाहरु निन्द्रामै कुरकुरे खाने भनेर भन्न थाल्छन । अभिभावकलाई कुरकुरे दिउँसो खान नदिएको भएर राति आफ्नो बच्चा बरबराएकोमा पछुतो लाग्छ । आ, एउटा त हो भन्ने हुन्छ, त्यसले ठूलो क्षति पुर्याउँछ । हुन कतिपय अभिभावक भेटिन्छन बाहिरको कुनै पनि खानेकुरा नखुवाएको भन्ने । तर दीर्घकालिन हुँदैन ।
∞∞∞
बेस्सरी ज्वरो आएको मान्छेले एक गिलास त हो भनेर रक्सी पिइदियो भने, जण्डिस भएकाले पनि त्यसै गर्यो भने । निमोनिया भइरहेको बेला एक गिलास त हो भनेर मोही खाइदियो भने । अनि दमको दीर्घ रोगीलाई महको लत छ भने । परिणाम के हुन्छ ? धेरैजसोलाई थाहा छ, मृत्यु निकै नजिक छ । धेरैले भन्छन, मृत्यु अन्तिम सत्य हो । हो पनि । तर बाँचुलजेल त गुणस्तरीय जीवन बाँच्नु पर्यो नि, जीवनलाई सहज बनाउनु पर्यो नि । जीवनलाई गुणस्तरीय बनाउने उपाय भनेको स्वस्थकर आहर, आचारण, सोच र व्यवहार नै हो । तर बच्चादेखि युवासम्मलाई जंक फुडले गाँजेको छ । बच्चाहरुलाई कुरकुरे, लेज, चाउचाउ यस्तै यस्तै । किशोरीहरुको सर्वप्रिय खाजा चटपटे, पानीपुरी र चाउचाउ । विद्यार्थीहरुलाई अरु दिन त फुर्सद भएन रे, छ दिन क्याण्टिनमै खाजा खान्छन, शनिवार वा विदाको दिन त डेरामै खाजा बनाएर खाने अवसर छ नि तर त्यसो गर्ने निकै कम छ, नजिकैको पसलमा गयो, चटपटे ल्यायो खायो । त्यो भन्दा अलिक बढी जाँगर भयो भने चाउचाउ साँधेर खायो । विदाको दिन निकै जाँगरिलो विद्यार्थी छ भने उसले चाउचाउ उमालेर खान्छ । अपवादलाई छाडेर धेरैजसो छात्रहरुको दिउँसोको खाजा चिया र चुरोट हुने गरेको छ । कलेज नजिकका चिया र खाजा पसलको माहोलले त्यसको संकेत गर्दछ ।
∞∞∞
जंकफूड त एउटा प्रमुख समस्या हो नै, त्यो भन्दा अघि नै बालबालिकालाई अर्को लत लागिसकेको हुन्छ मोबाइलको लत । लत लगाउने अभिभावकले नै हो । खाजा, खाना खुवाउन होस वा सुताउन नै मोबाइलकै साहरा लिएका छन । कतिपयले भन्छन, मैले त बच्चाहरुलाई मोबाइल चलाउनै दिन्न, तर उनीहरु नै घरमा भएको बेला मोबाइलमै झुत्तिरहेका हुन्छन । छोराछोरीलाई समय दिनुको साटो मोबाइल नै प्यारो हुन्छ । बच्चाको अगाडि अभिभावकले जे गर्छन, त्यही सिक्छन । मोबाइल नै नपाए पनि आफ्नो अगाडि जे कुरा छ, त्यसलाई नै मोबाइल मानेर अभिभावकको नक्कल गरेकै हुन्छन । अभिभावकमा घरबाहिर साथीभाइसँग घुलमिल गराउनुको साटो मोबाइल दिएर टार्ने प्रवृत्ति हाबी भएको छ । आफ्नो बच्चाले सानै उमेरमा मोबाइल चलाउन जान्नुलाई बच्चा ‘स्मार्ट’ भएको संज्ञा दिने अभिभावक पनि छन । एकदेखि डेढ घन्टाभन्दा बढी समय मोबाइलमा बिताउनु वयस्कका लागि पनि खतरा हो, बालबालिकाका लागि त झनै खतरा हो । मोबाइलविना बच्चा हुर्काउन सकिँदैन भन्ने बाध्यताको भ्रमलाई चिरेर अघि बढ्नु पर्दछ ।