सिंगै देश जाडोको लपेटामा छ । खासगरी हिमाली क्षेत्रमा त जाडोले जनजीवन बेहाल बनाइरहेको छ । चिसोले धेरैजसो आर्थिकरुपमा विपन्न परिवारका वृद्ध वृद्धा, सुत्केरी र ५ वर्ष मुनीका बालबालिकालाई सताउने गरेको छ ।
यस्तो बेला केही नीजि स्कुलहरु तथा शैक्षिक क्षेत्रका व्यापारीलाई भने ‘दशैं’ लाग्ने गरेको छ । जाडो शुरु हुंदा नहुंदै उनीहरु ‘विण्टर’ क्याम्प शुरु गर्छन् । खासगरी प्राथमिक तहका विद्यार्थीहरुलाई लक्षित गर्ने उनीहरु ‘विण्टर क्याम्प’ चलाउंछन् । स्कुलमा केही हल्काफुल्का कार्यक्रमहरुमा सहभागि गराउने, खेलकुदका एक दुईवटा कार्यक्रम गर्ने र नजिककै कुनै एउटा स्थानमा लगेर ३,४ घण्टा विद्यार्थीहरुलाई घुमाइदिए वापत संचालकहरुले जम्मा ८ देखि १० दिनको कम्तिमा ८ हजारदेखि १६, १७ हजारसम्म असुली रहेका छन् ।
जाडो विदाको समयलाई सदुपयोग गर्ने र विद्यार्थीहरुलाई केही रचनात्मक कृयाकलापमा सहभागि गराएवापत केही शुल्क असुल गर्नु स्वभाविक मान्न सकिएला । खासगरी एकल परिवारमा रहेका, श्रीमान श्रीमती नै जागिरे वा कामकाजी रहेकाहरुको लागि ‘विण्टर क्याम्प’ एउटा वाध्यात्मक विकल्प हो । आफ्नो विदा नहुने तर बच्चाको विदा हुंदा कामकाजी खासगरि महिलाहरुले तनाव भोग्नु पर्छ । त्यो तनावलाई ‘विण्टर क्याम्प’हरुले केही हदसम्म भए पनि कम गरिदिएका छन् । त्यो एउटा पक्ष हो । तर, के ८,१० दिनको कार्यक्रम चलाएर त्यत्रो रकम असुल्नु स्वभाविक हो ? ‘विण्टर क्याम्प’ को नाममा अभिभावकहरुसंग मनपरि पैसा असल्नु लुट होइन ? के स्कुलहरुले अभिभावकलाई जे जे नाममा जतिको विल पठाए पनि त्यो जायज हुन्छ ? यसै त लुटको केन्द्र बनेका वोर्डिङ स्कुलहरुलाई ‘विण्टर क्याम्प’ले शैक्षिक माफियाको केन्द्रको रुपमा स्थापित गरिरहेको छ ।

सबैभन्दा विडम्बना के छ भने मंसिर लागेदेखि नै अवोध बालबच्चाको दिमाग ‘भूत’ सवार गराइन्छ । बालबच्चालाई ‘विण्टर क्याम्प’मा यस्तो हुन्छ, उस्तो हुन्छ भन्दै उनीहरुमा त्यसप्रतिको आकर्षण बढाउने काम मात्र गरिदैन भने ‘विण्टर क्याम्प’मा सहभागि नगराउने अभिभावकहरु छुच्चा, आर्थिक रुपमा कमजोर वा आफ्नो सन्तानको इच्छा नबुझ्ने निर्दयी हुन् भन्ने मानसिकताको विकास गराइन्छ । ‘फलनो भर्ना भैसक्यो, तिमी कहिले हुने’ वा ‘तिम्रो बाबु आमा पैसा तिर्न सक्दैनन्, त्यसैले तिमी भर्ना नभएको हो’ भन्ने आसयसहित बालबच्चाको दिमागमा आफ्नो अभिभावकप्रति घृणा उत्पन्न गराउने कार्य भैरहेको छ । यस्ले पारिरहेको नकारात्मक असरको परिणाम कति भयावह हुन्छ भन्ने कुरा शायद ‘विण्टर क्याम्प’का व्यापारीहरुले महसुस गर्दैनन् वा गरे पनि त्यसबाट आउने पैसाले उनीहरुको विश्लेषण क्षमतालाई सून्य बनाइदिएको छ ।
पक्कै ‘विण्टर क्याम्प’को अवधारणा गलत होइन, धेरै अभिभावकले त्यसबाट राहत पाएका छन् । तर ‘विण्टर क्याम्प’ संचालनको विधि के हो ? कति दिन संचालन गरेवापत कति पैसा असुल गर्न पाइने हो ? त्यसवापत विद्यार्थीलाई के के कुरा सिकाउनु पर्ने हो ? यस्तो कुराको मापदण्ड हुनु पर्ने होइन ? त्यसमा सरकारी अनुगमन र नियन्त्रण हुनु पर्ने होइन ?
‘विण्टर क्याम्प’को नाममा त्यसका संचालकहरुले गरिरहेको ‘लखनौ’ लुटले यस्ता धेरै प्रश्नहरु जन्माएका छन् । त्यसको समयमै जवाफ खोजिएन भने स्कुलहरु शिक्षाको केन्द्र होइन, तिनीहरुले समाजमा उत्पन्न गर्ने आर्थिक, समाजिक अराजकता र त्यसबाट आउने परिणाम निकै भयावह हुने निश्चित छ । त्यसप्रति अभिभावक र सरकारी निकायहरु गंभिर बन्नु पर्ने देखिएको छ ।