सडकमा निस्कने वित्तिकै बस भेटियो । बस मात्रै हैन खाली सिट पनि भेटियो । तर आरक्षित मात्रै । यो समयमा बस चढ्ने अशक्त कोही नहुन भन्ने कामना गर्दै बस त्यही सिटमा । साँच्चै हप्ताको पहिलो दिन, कार्यालय समयको बसमा मभन्दा बलियाहरु नै चढे, गजब्ब भयो । तर सिटमै बस्दा पनि ओहोरदोहोर गर्नेका ब्यागले पटक पटक दनक दिन्थ्यो । सहेर बसियो ।
कलंकी चोक पुग्नु अघि नै बस जाममा प-यो । बाफलतिर केटीहरुको लाम लागेको देखियो । कन्डक्टरलाई केटी जिस्काउन कसले सिकाउनु पर्नु, तर आज अलि नयाँ तरिकाले जिस्क्यायो । ओइ काली (थोरै समय रोकियो, फुटपाटमा हिंड्ने केटीहरुले ढाडे आँखा पल्टाए, अनि बोल्यो) ..... माटी । अनि लय हाल्यो– कालीमाटी, टेकू, त्रिपुरेश्वर, बानेश्वर । फूटपाथमा हिंड्ने केटीहरुलाई के लाग्यो कुन्नी, आफूलाई जिस्क्याएको हैन भन्ने लाग्यो कि मुख छोपेर हाँस्दै दौडिए । बस पनि बिस्तारै बग्यो । अर्को लहरमा बस्ने दुई छात्र मध्ये एक करायो– ओई बस त्रिपुरेश्वर पुगेपछि त उड्छ होला है, नत्र कन्डक्टरले एकै पटक बानेश्वर किन भन्थ्यो र है ? अर्कोले सही थाप्यो– अँ त, नत्र त्रिपुश्वर पछि थापाथली, बबरमहल, बिजुलीबजार पनि भन्नु पर्ने नि है ।
(कुराकानी सुनिरहनु अनि नसुने जस्तै गरिरहनु पनि बस यात्रामा गज्जबकै कुरा छ ।) सोल्टीमोड र कालीमाटीकोबीचबाट तीन छात्र चढे । एउटै कलेजका, एउटै वर्णका । कद मात्रै फरक थियो ।
एउटी अर्को साथीको काँधमा टाउको अड्याएर भन्दैथिन् –बाउले चारबजेदेखि सुत्न दिएनन, तै पनि एक्जाम राम्रो भएन । अब घर गएर लेक्चर सुन्नु पर्छ । अनि दैनिक डोज बढ्दै जान्छ । साप्तान्तमा अलि बढी, महिनाको अन्त्यमा त्यो भन्दा बढी र वर्षको अन्त्यमा त ट्वाइलेटमा गएर दुई घण्टा रुनु पर्छ ।
आज बेड नमिलाई हिंडेको छु, त्यहाँबाट लेक्चर शुरु हुन्छ ।
अर्की बोलिन– के गर्नु त बाहुनी, टपर परिस, हामीले भन्दा बढी डोज त पाउनै प-यो नि ।
तेस्री बोलिन– हेर केटी हो, मलाई त पढाईको कुराले मलाई त गाली खानु पर्दैन । तर घरमा जस्ले गल्ती गरे पनि गाली मेरो भागमा हो । कहिले कुकुरलाई लिपिष्टिक लगाइदिने । कहिले दिदीको लुगा लगाई दिने । यस्तै यस्तै हुन मेरा ओ-याइहरु । उनी नै बोलिरहिन् –
ए सुन सुन केटी हो, केही दिन अघि भोकले चुर भएर घर पुगेको थिएँ । दिदीलाई खाना पस्किन लगाएँ, आउँदा त खानाको थालमा कुकुर बसिरहेको रहेछ । त्यस्तो बेलामा के गर्नु ? कुकुरलाई किक हानें, झन लुटपुटिन पो आयो ।
(त्यतिखेरै कन्डक्टर बोल्यो, बहिनीहरु पर सर्नुहोस न ।)
बीचको नानी बोलिन (नाकले त उनी पनि बाहुनी नै देखिन्थिन ।) ओइ कसरी थाहा पायो हँ, त्यो दाइले, मेरो पिरियड आजै हुने वाला छ भनेर, पिरियड शुरु हुने बेलामा दुखेको जस्ते पेट देखिरहेछ । हाहा, हाँसोमा अरुले पनि साथ दिए ।
नाकमा टुप्पोमा पावरवाला चस्मा लगाउने तमाङ्गी बोलिन्–ओइ हेर न एन्जीको व्याइफ्रेण्ड जस्तै केटो ।
हो त नि बाँकी दुबैले सही थापे । केही आफ्ना साथीहरुका अनि केही सेलिब्रेटीहरुमा लभ अफियरका चर्चा भए । बलिवड र कलिवडका लभका कुरा भए ।
फस्ट टर्म एक्जाम र विन्टरभ्याकेसनका कुरा भए । तमाङ्नी बोलिन नेपाली पढाउने बुढाले त ल्यांङ गर्छ भन्या, एक एक हेरेर । कसरी पास गर्ने होला पीर पो छ त ।
ए अँ अस्ति त्यो केटो भेट भयो, अनि मलाई भन्दै थियो, मैले उसलाई झुक्याएर अर्को कलेजमा भर्ना गरें रे । अनि धोका दियौ तिमीले भन्दै थियो । मैले पनि जवाफ दिएँ– हो भाइ, हो । ढोका दिइसकें, अब दुई वटा झ्याल पनि दिन्छु, अनि छानो हालेर मायाको घर बसाउनु । सुनेको सुन्यै भयो, केटो ।
एसईईको रिजल्ट आएको दिन पहिलो पटक ढोका थुनेर ट्वाइलेटमा रोइरहेको थिएँ, त्यही बेलामा बाबाले ढोकाको बेल बजाउनु भयो, अनि बीएफले मोबाइलको घण्टी बजायो । त्यही बेला मैले एउटा आविष्कार गरें, बाबाको अगाडी बीएफसँग कुरा गर्ने तरिका । ट्वाइलेट जाने, धारो खोल्ने बाल्टीमा पानी भर्ने प्यानमाथि बसेर सानो स्वरमा गफ गर्ने । आवाज सुनिन्छ त केवल बाल्टीमा पानी खसेर बजेको । तर एक घण्टाभन्दा धेरै त ट्वाइलेटमा बस्नु भएन । त्याे बेलामा फोन र बोनस दुबै आउँथ्यो । अहिले आनन्द छ । नो फोन, नो बोनस, नो बीएफ ।
(बानेश्नर झर्ने जति अघि आउनु है, फटाफट । ती तीन छात्राको कुरा सुन्न त मन थियो, तर कन्डक्टरको आदेश मान्नै प-यो, त्यत्तिमात्रै हैन । कार्यालय पनि पुग्नु प-यो । पछि भेट भयो भने ती छात्राहरुको कुरा अर्को पटक लेखौंला ।)