यो पल्ट पनि नेपाल प्रहरीको मूली अर्थात् महानिरीक्षक छान्न डीआईजी मध्येबाट कार्ड झिक्नु पर्ने छ । वहालवाला प्रहरी प्रमुख सर्वेन्द्र खनालको सेवा अवधि आउने माघ २९ गते सकिँदैछ । उनी मात्रै होइन, उनीसँगै ३ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र १८ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) एकै पल्ट अवकाश पाउँदै छन् । त्यही कारण नेपाल प्रहरीको भावी नेतृत्वबारे चर्चा सुरु भइसकेको छ । अब बाँकी रहने ८ जना डीआईजी मध्ये अहिलेलाई प्रहरी महानिरीक्षकको मूख्य दावेदार मानिएका छन्, ठाकुर प्रसाद ज्ञवाली । उनी अहिले प्रदेश १ को प्रहरी प्रमुख छन् । तर, केहीले सत्तामा बस्नेहरुको भर हुँदैन भन्दै महानगरी प्रहरी आयुक्तको कार्यालय रानीपोखरी काज सरुवा भएको विश्वराज पोखरेलको सम्भावना बलियो छ भनिरहेका छन् । यद्यपि, उम्मेदवारको रुपमा रहेका ८ जना डीआईजी मध्ये ज्ञवाली रोलक्रममा अगाडि हुन् । उनी त अहिलेका महानिरीक्षक सर्वेन्द्र खनालसँगै परीक्षा दिएका मान्छे हुन् । वैकल्पिकमा परेर मात्रै ५ महिला ढिलो भएका । हामीले डीआईजी ज्ञवालीको प्रहरी सेवा प्रवेश र अनुभवबारे केही जिज्ञासा राखेका छौँ ।
सरको, भौगोलिक परिचय ?
–जन्म घर, प्यूठान । अहिले दाङ र काठमाडौंमा पनि घर छ ।
पढाई सोधूम ?
–हुन्छ ।
कति पढ्नु भा छ ?
–एसएलसी प्यूठानबाटै हो, बाल शिक्षा मावि । अहिले पनि त्यो स्कुल छँदै छ । अनि सोसियोलोजीमा स्नातकोत्तर गरेको छुँ । (बीए, बीएल) ।
प्रहरी सेवा प्रवेश ?
–२०४७ साल असार २५ ।
कुन पदमा फाइट गर्नु भो सुरुमा ?
–ईन्सपेक्टर । अहिलेको आईजी सा’व (सर्वेन्द्र खनाल)सँगै हो । हामी बैकल्पिकमा परेर ५ महिना ढिलो भयौँ ।
अनि, आईजीपी हुनु भो भने कति महिना ‘पुलिस चिफ’ बन्न पाउनु हुन्छ, डीआईजी सा’व ?
–अहिलेको सेवा अवधिको व्यवस्था लागू भइरहे, त्यही....(हल्का रोकिएर) पाँच महिना ।
द्वन्द्वकालमा कहाँ–कहाँ पुग्नु भो कति दुःख पाउनु भो ?
–तत्कालीन विद्रोही माओवादीको दबदबा रहेको रुकुम नै २ पल्ट पुगे । यो मेरो दोस्रो जुनी भने नि भयो ।
डीआईजी सा’व यो कुरा अलिक खोल्न मिल्छ ?
–मिल्छ । २०५३ सालको कुरा हो । रुकुमको तक्सेराबाट सदरमुकाम जानेबेलामा मसँगै हिँडिरहेका दुई जना सीपाही एम्बुसमा परेर मरे । म चाँहि भाग्यले बाँचेको हो । किमाचौरमा हो, त्यो घटना भएको । त्यतिबेला हिँडेरै सदरमुकाम पुग्ने हो, जहाँबाट पनि ।
प्रहरीमा जागिर खाने वातावरण कसरी बन्यो, प्रेरणा वा करकाप यस्ता–यस्तै कुरा क्या.... ?
–म पहाडको मान्छे । कोबाट प्रेरित हुनु र कसले करकाप गर्नु । हामीलाई त के हुन्थ्यो भने जागिर कसरी खाने ? र गुजारा कसरी गर्ने ? । पिरै त्यै हुन्थ्यो । अहिले मान्छेले जे सुकै भने पनि त्यो बेला म यो उद्देश्यले प्रहरीमा आएको हुँ भन्ने मान्छेहरु सायदै थिए होलान् । डिप्लोमा सकिएपछि प्रहरीमा भ्याकेन्सी खुलेको थाहा पाएर जागिर खानकै लागि भिडेको हो ।
प्रहरी संगठनमा काम गर्दा रमाइलो लाग्ने क्षण ?
–जब हामीकहाँ आएर मान्छेले न्यायको अनुभूति गर्छन्, त्यो बेला आनन्द लाग्छ । नेपालमा भएका सम्पूर्ण सेवा मध्ये जुनसुकै अवस्थामा पनि प्रहरीको सहयोग अवश्य चाहिन्छ । अदालतको कुरा गर्ने हो भने १० वर्षसम्म पनि मुद्दाको फैसला हुँदैन । हामीले तुरुन्त मेलमिलाप गराईदिएका उदाहरण पनि कयौँ छन् । त्यो बेला मान्छेले न्यायको अनुभूति गर्छन् । अहिले पनि प्रहरी कहाँ गएपछि न्याय पाइन्छ भन्ने विश्वास त जनतामा छ नै । काम गर्दै जाँदा विवाद आउँछन्, त्यो स्वभाविक हो । अनि हामी प्रहरीको जागिर कस्तो हो भने, ‘थ्याङ्कलेस जब’ । मानौ कुनै घटनाको न्यायिक निरुपण भयो अथवा पीडितलाई न्याय मिल्यो । तर, पीडकसँग पनि आश्रित थुप्रै व्यक्ति हुन्छन् नि ! उनीहरुले त हामीलाई स्यावासी दिँदैनन् । त्यसैले हामीले काम गर्दा डराउनु पनि भएन । प्रहरी नै डरायो भने सक्कि गो नि ! त्यसैले हामी बलियो भएर उभिरहयौँ भने मान्छेहरुले मनौवैज्ञानिक रुपमा समेत आफुहरु सुरक्षित रहेको अनुभूत गर्छन् । दुःख पाइन्छ, चोट पाइन्छ । भिड्ने ठाउँमा जानुपर्छ । बाटोमा उभिएको ट्राफिकलाई हेर्नु भयो भने दिनभर धूलो खान्छ, त्यही बराबरको गाली पनि । अनि यिनीहरु त पैँसा खाएर जे पनि गर्छन्, भन्ने अपजस पनि खान्छ । त्यति हुँदा पनि १० जनाले प्रहरीले राम्रो गरेको छ, भन्दा हामी सन्तुष्ट भइरहेका हुन्छौँ ।
एसपी हुँदा कहाँ–कहाँ पुग्नु भयो ?
–दाङ, बारा (२०७० को संविधान सभा निर्वाचन), झापा, प्रहरीको कर्मचारी प्रशासन खाशा ।
अनि, डीआईजी हुन चाँहि कति डुल्न परो ?
–एसएसपी भएपछि प्रहरी हेडक्वार्टर, प्रहरी तालिमकेन्द्र नेपालगञ्ज हुँदै सीआईबी पुगेपछि डीआईजी भए । डीआईजी भएपछि ८ महिना अख्तियारमा पनि बसे । असारबाट प्रदेश १ को प्रमुख छुँ । ठ्याक्कै ६ महिना भयो ।
बिर्सन नहुने घटना वा क्षण ?
–धेरै छन् । एउटा भनौँ भने अरु ओझेलमा पर्छन् । माफ गर्नु होला, नभनौँ ।
खानपानमा के मन पर्छ ?
–प्रहरीको जागिरमा के चाँहि मन पर्छ भन्नु ? म पहाडको मान्छे हुँ, अहिले पनि पहाडीया जीवनकै खानपान छ । प्रहरीमा बसेर खानपानको शौखिन हुने भन्ने कुरा मेरो मात्रै होइन, सबैको त्यस्तै होला ।
अनि, डीआईजी सा’वलाई रिस उठ्छ ?
–हाहाहा (हाँस्दै).... रिस भन्दा पनि ईरिटेशन हुन्छ ।
के हुँदा, ईरिटेशन हुन्छ सर... ?
–मान्छेहरुले प्रहरीलाई यता पठाइदिनुस्, उता पठाइदिन्स भन्दा उदेक लाग्छ । (उनले सोझै न भने पनि भीआइपीहरुको घरमा प्रहरीलाई जेपायो त्यही काम लगाएको उनलाई मन पर्दैन र’छ) । मुख्य चिन्ता चाँहि प्रहरीको सरुवा बढुवामा कसैले पनि कुरा उठाउँदैनन् । अन्य सेवाका मान्छेलाई सरुवा बढुवा गर्दा यसलाई त्यहाँ लगेर राम्रो गरेन भन्दै आलोचनाहरु गरिन्छ । तर, प्रहरीको हकमा त्यस्तोसम्म पनि आलोचना हुँदैन । संगठन चुस्त बनाउन नसकिएकोमा चिन्ता लाग्छ । अहिले तोकिए भन्दा बढी काम प्रहरीले नै गरिरहेको छ । जस्तै, बाग्मती सफा गर्नु परे प्रहरी, बाटो सफा गर्नु परे प्रहरी, विपदमा उद्दार गर्न प्रहरी र सुरक्षाको पहिलो घेरामा पनि प्रहरी । जे भए पनि जनताले विश्वास गरिरहेकाले हामीले चित्त बुझाउने ठाउँहरु छन् ।-प्रस्तुति श्यामसुन्दर
याे पनि पढाैँ