काठमाडौं । नेपालका तीन शहरमा भरखरै सकिएको दक्षिण एसियाली खेलकूद (साग)को असर अझै बाँकी छ । महाकुम्भ पो सकियो त, आयोजक नेपालले पाएको सफलताको रंग रौनक बाँकी नै छ । शहरभरि राखिएका पोष्टर अझै उठाइएका छैनन् ।
सागका पदक विजेतालाई सरकारले आकर्षक पुरस्कार दिने घोषणा गरेसँगै सागबाट उत्पन्न उत्साहको ‘ज्वरो’ फेरि बढेको छ । अनुमान गरौँ, यो सरकारले खेलाडीको हातमा पुरस्कार नथमाएसम्म रहन्छ । अनि अर्कोतिर साग आयोजना गर्दा भएका कमिकजोरी र अनियमितताका कुरा त आउने नै भए । यसअर्थ सागको ‘ज्वरो’ केही दिन रहने पक्का नै छ ।
अब सोझै विषय प्रवेश गरौँ,
सागको औपचारिक उद्घाटनको मुखैमा गम्भीर विरामी परेका प्रधानमन्त्री केपी शर्मा ओलीले वुधबार सागका पदक विजेतालाई आफ्नो सरकारी निवास बोलाएर ‘सप्र्राइज’ दिए । पुरस्कारको राशि (स्वर्णको हकमा) एकै पल्ट ४ लाख बढाईदिए ।
यसअघि सागका स्वर्ण विजेताले व्यक्तिगत पाँच लाख पाउँदै आएकामा यो पल्ट ९ लाग पुग्यो । घोषणा प्रधानमन्त्री आफैँले गरे । उनी विरामी नपरेको भए यो घोषणा उहिल्यै हुनेथियो, जतिबेला महिला भलिबलको पुरस्कार विवरण भएको थियो । सागको औपचारिक उद्घाटन १५ गतेबाट भएपनि महिला भलिबलका खेल ११ मंसिरबाटै सुरु भएका थिए । जहाँ नेपाल रजत पदक जित्न पुग्यो ।
महिला भलिबलको स्वर्ण भारतले जित्यो । खेलकूद मन्त्रालयका अनुसार महिला भलिबलको पुरस्कार वितरण प्रधानमन्त्रीले गर्ने र त्यही दिन पदक विजेता खेलाडीका लागि विशेष प्याकेजको घोषणा गर्ने तयारी थियो । तर, अघिल्लो दिन नै प्रधानमन्त्री गम्भीर विरामी परे । एपेन्डिसको शल्यक्रिया नै गर्नु परेको थियो, प्रधानमन्त्री ओलीको । सागको उद्घाटन उनले अस्पतालको शय्याबाटै हेरे ।
तर, साग सकिएको भोलिपल्ट प्रधानमन्त्री ओलीले आफ्नो घोषणा सुनाई छाडे । अहिले त्यही घोषणाले बजार तताईरहेको छ । ‘यसले यति लाख, पाउने उसले उति लाखे पाउने’ सञ्चार माध्यम र सामाजिक सञ्जालमा यस्तै अड्कलवाजीले प्राथमिकता पाइरहेका छन् । अहिलेसम्मकै आकर्षक पुरस्कार राशि घोषणा पछि चर्चा हुनु स्वभाविक हो । तर, यो पुरस्कार घोषणा न्यायोचित नभएको भन्दै पदक विजेता केही खेलाडीले असन्तुष्टि जनाएका छन् ।
प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वर्ण जित्नेलाई ९ लाख, रजत जित्नेलाई ६ र कांस्य जित्नेलाई ३ लाख दिने घोषणा गरे । यो घोषणा सुनेपछि व्यक्तिगत स्वर्ण जित्नेले जिब्रो टोक्ने भइहाले । र, एक भन्दा बढी स्वर्ण जित्नेले ११ लाख पाउने भनेपछि त ब्रुक–ब्रुक नहुने कुरै भएन । पहिले स्वर्ण जित्नेले ५, रजत जित्नेले ३ र कांस्य जित्नेले १ लाख पाउँदै आएका थिए । तर, यो पल्ट आकर्षक राशिको घोषणा गरिए पनि टिम इभेन्टमा पदक जित्नेहरुको मनमा भने चिसो पस्यो । पौडीवाज गौरिका सिंहबारे प्रष्टै छ, उनले सर्वाधिक ४ स्वर्ण जितिन्, स्वर्ण र रजतको एकमुष्ठ ५६ लाख पाउने पक्का छ ।
तर, नेपालले पुरुष फुटबलमा स्वर्ण जितेको छ । यस्तै, मण्डेकाजी श्रेष्ठ, आयशा शाक्य र सुवास तामाङले युगलमा पनि स्वर्ण जितेका छन् । समूहमा स्वर्ण जित्नेले ५ लाख तर, व्यक्तिगततर्फ रजत जित्नेले ६ लाख पाउने भनिएपछि केहीले चित्त दुःखाए । अर्कोतिर समूहमा रजत र कांस्य जित्नेलाई कति दिने भनेर घोषणा गरिएन । र, ति खेलाडी निराश हुँदै निस्किए, बालुवाटारबाट । आयोजकले भने यो घोषणाको बचाउ गर्दै टिम इभेन्टलाई एक मुष्ठ धेरै रकम जाने भएकाले यसमा चित्त दुखाउनु पर्ने कारण नरहेको बताएका छन् । उनीहरुले यसलाई विभेद गरेको भन्द मिल्दैन, भने ।
खेलाडीलाई पुरस्कार दिँदा कति खर्चिने भो सरकारले ?
मूली शासक एवं प्रधानमन्त्रीले नै घोषणा गरेपछि यो पुरस्कार खेलाडीलाई नदिई सुखै छैन । खेलकूद मन्त्रालयका अधिकारीहरु पनि त्यही भन्छन्–‘विगतमा के भयो त्यतातिर नजाऔँ, यो पल्ट पहिले नै घोषणाको तयारी थियो । तर, साग सकिए पछि घोषणा भएको छ । प्रधानमन्त्रीले गरेको घोषणा पनि कार्यान्वयन नहुने भन्ने हुन्छ र ? यो सरकारले दिने हो, दिन्छ ।’ यहाँनेर सम्झिनुपर्ने कुरा के छ, भने विगतमा नेपाली फुटबल टोलीले बंगलादेशमा बंगबन्धु गोल्डकप जित्दा सरकारले घोषणा गरेको पुरस्कार दिइएन । त्यतिमात्रै होइन, बंगलादेशले त्यो बेला कप मात्रै दियो । नगद दिएको थिएन । त्यो ल्याउने पहलसमेत भएन । फेरि पनि सस्तो लोकप्रियताका लागि गरिएको पो हो कि ? भन्ने जिज्ञासामा मन्त्रालयका अधिकारीले त्यसो सोच्नै नहुने प्रतिक्रिया दिए ।
खेलकूद मन्त्रालयका एक अधिकारीले भने, ‘सागको बजेट अर्थमन्त्रालयले दिने हो । साग सम्पन्न गर्न विभिन्न १६ वटा समिति बनेका छन् । व्यवस्थापनमा भएको खर्चको विवरण तत्काल नआएपनि खेलाडीलाई दिने भनिएको पुरस्कारको हिसाब तत्कालै आउँछ ।’
उनका अनुसार अर्थमन्त्रालयले खेलकूद मन्त्रालयलाई धेरै रकम निकासा गर्न बाँकी छ । अहिले मोटामोटी हिसाब गर्दा खेलाडीको पुरस्कारमै सरकारले १२ करोड बढी खर्चिनेछ । १३औँ सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य गरी २ सय ६ पदक जितेको छ । तर, पदक जित्ने खेलाडीको संख्या भने ४ सय भन्दा बढी छ ।
प्रधानमन्त्रीको घोषणा अनुसार एक भन्दा बढी स्वर्ण जित्ने गौरिका सिंह, मण्डेकाजी श्रेष्ठ, आयशा शाक्य र सुवास तामाङ्गलाई स्वर्णका लागि मात्रै ७६ लाख खर्चिनु पर्ने छ । व्यक्तिगत स्वर्ण जित्ने ४४ जनालाई झण्डै ४ करोड लाग्ने छ । एक करोड २४ लाख त पुरुष फुटबलको स्वर्ण पदक विजेता टोलीलाई जानेछ । तर, समूहमा रजत जित्नेलाई कति दिने भन्ने घोषणा नगरिएकाले महिला भलिबल र फुटबलमा रजत जित्नेहरुको हकमा के हुने भन्ने अन्योल छ । तर, मोटामोटी हिसाब निकाल्दा पुरस्कारमै १२ करोड नाघ्ने देखिन्छ ।
प्रधानमन्त्रीका दुःख
१३औं सागमा सबैभन्दा बढी खेलाडी नेपालबाटै सहभागि भएका थिए, झन्डै ६ सय जना । त्यसमा व्यक्तिगत र समूह गरी ४ सय बढीले पदक हात पारे । प्रधानमन्त्रीले सम्मान तथा नगद घोषणा कार्यक्रममा खेलाडीसहित प्रशिक्षक, व्यवस्थापक, पदक विजेता खेल संघका पदाधिकारी सहितलाई निम्ता दिए । वुधबार उनको निम्तो स्वीकारेर आउने निम्तालु ६ सयभन्दा बढी देखिए । र, कार्यक्रम राखिएको हलको क्षमता थियो, जम्मा ३ सय जना अट्ने । ओली निकट राखेप सदस्य सचिव रमेश शिलवालले कार्यक्रम सञ्चालन गर्दै कुरा फुत्काई हाले, ‘यो हल ३ सय जना अट्ने क्षमताको मात्र छ ।’
उनले प्रतिकात्मक रुपमा ‘चौधौं सागमा हाम्रो पदक जित्नेक्रम यही रोकिने छैन भन्ने मैले विश्वास लिएको छु । त्यतिखेर यो हल अझै साँघुरो हुनसक्छ’ समेत भने । प्रधानमन्त्रीका दुःख कतिसम्म भने पदक जितेका धेरै खेलाडी उभिरहे । धेरै खेलाडी उभिएको देखिएपछि आयोजकले सञ्चारकर्मीलाई कुर्सी छाडिदिन अनुरोध गरे । पत्रकारलाई उठाएर कतिनै ठाउँ खाली हुन्थ्यो र ? स्वर्ण विजेता फुटबल टोलीत सिंगै खडा छ, फुटबल खेलाडीले उभिएरै प्रधानमन्त्रीको एक घण्टे घोषणा सुने ।
दुःख बालुवाटारमा मात्रै देखिएन, सागको मूख्य खेलस्थल दशरथ रंगशालामा त्यही हाल थियो । मंगलबार नेपालले भुटानसँग फुटबलको फाइनल खेलिरहँदा १५ हजारभन्दा बढी दर्शक रंगशालाभित्र थिए । तर, त्रिपुरेश्वर चोकमा वर्ल्ड ट्रेड सेन्टरको स्क्रिनमा फुटबल हेर्नेको भीड उस्तै थियो । त्यही कारण होला सदस्यसचिव सिलवालले अब ५०–६० हजार दर्शक क्षमताको फुटबल रंगशाला र भलिबलमा १० हजार दर्शक क्षमताको कभर्डहल बनाइदिन प्रधानमन्त्रीसमक्ष अनुरोध गरेको । अहिले चितवनमा अन्तर्राष्ट्रिय रंगशाला बन्दैछ भने, काठमाडौंको मूलपानीमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माणाधीन छ । साग आयोजनाको मिति मुखमा आइपुग्दा खेल संरचना धमाधम निर्माण भइरहेका थिए ।